प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्य प्रभावित, सामाजिक सुरक्षा भत्ता रोकियो

लिखुपिके गाउँपालिकामा दुई महिनायता प्रमुख प्रशासकीय अधिकृत नहुँदा स्थानीय सरकारको काम प्रभावित भएको छ । जसका कारण सामाजिक सुरक्षा भत्ता वितरण समेत रोकिएको छ ।

तत्कालीन प्रमुख प्रशासकीय पुष्प धमला ०७९ फागुन २० गते रामेछाप सरूवा भएपछि मन्त्रालयले कुनै पनि अधिकृत नखटाउँदा स्थानीय सरकारको सबै कामकाज प्रभावित भएको हो ।

प्रमुख प्रशासकीय अधिृकत धमला स्वेच्छिक सरूवामा गएपछि दुई महिनायता गाउँपालिका अधिकृतविहीन भएको गाउँपालिका अध्यक्ष मीना कार्की बस्नेतले बताउनु भयो ।

कार्यालय प्रमुख नहुँदा सामाजिक सुरक्षा भत्तादेखि कर्मचारीको तलबसमेत भुक्तानी हुन सकेको छैन ।

योजना सम्झौता र काम गरेको भुक्तानी दिन नसक्दा विकास निर्माणको काम पनि रोकिएको गाउँपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापनका लागि पटक–पटक मन्त्री र सचिवलाई भेट्न सिंहदरबार गएपनि कर्मचारी पठाउन मन्त्रालयले आनाकानी गरेको अध्यक्ष कार्की बस्नेतले बताउनु भयो ।

सिङ्गो स्थानीय तह ठप्प हुँदा सङघीय सरकारले उचित कदम नचालेको अध्यक्ष कार्कीले आरोप लगाउनु भएको छ ।

स्थानीय तहमा कार्यरत अन्य अधिकृतस्तरका कर्मचारीलाई निमित्त दिन पनि मन्त्रालय तयार नभएकाले स्थानीय सरकारको कार्यसम्पादनमा जटिलता उत्पन्न भएको वडाध्यक्षले बताउनु भयो ।

पाँच ओटा वडा रहेको लिखुपिकेमा अहिले विकास निर्माण र सेवा प्रवाहको दुवै काम ठप्पजस्तै भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग स्थानीय सरकारको समस्याबारे ठोस जवाफ नभएको मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले बताउनु भएको छ । उहाँले आफूले वैशाख २० गते प्रशासन महाशाखा छोडेकाले यो विषय थाहा नभएको बताउनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत नभएको भन्दै गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता वितरण नभएको लिखुपिकेका स्थानीय ७१ वर्षीय राजेन्द्र बस्नेतले गुनासो गर्नु भएको छ ।

सामाजिक सुरक्षा भत्ताले नै रासनपानी किन्ने भएपनि भत्ता नआउँदा समस्या भएको ज्येष्ठ नागरिक बस्नेतको भनाइ छ ।


अञ्जु कार्की