प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवा प्रभावित

पाख्रिबास नरपालिकामा प्रमुख प्रशासकीय अधिकृत विगत पाँच महिनादेखि नहुँदा नगरपालिकाबाट प्रवाह हुने सेवा प्रभावित भएको छ । नगरक्षेत्रका सेवाग्राहीहरू समस्यामा परेका छन् ।

प्रशासकीय अधिकृत नभएकै कारण नगरपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका आयोजनाहरू समेत प्रभावित भएका छन् ।

०७९ असोज १३ गते तत्कालीन सांसद तथा हालका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राईले फोनमार्फत धम्की दिएपछि प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेल काजमा सामान्य प्रशासन मन्त्रालय गएपछि पाख्रिवास नगरपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवाहरू प्रभावित भएको नगरपालिकाका मेयर ज्ञानबहादुर गुरुङले बताउनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा सामाजिक सुरक्षा भत्ता, सुत्केरी भत्ता, कर्मचारीको तलब, सम्पन्न योजनाको रकम भुक्तानी हुन सकेको छैन् । भुक्तानी नभएका कारण श्रमिकहरू पारिश्रमिक पाउनबाट वञ्चित भएका छन् । विकासका गतिविधिहरू ठप्प भएका छन् । अधिकृत पौडेलले काजमा मन्त्रालय जाँदा पाँच जनालाई निमित्तको जिम्मेवारी दिएर जानु भएको थियो ।

पौडेलले प्रशासन प्रमुख सन्तोष राई, योजना प्रमुख ओम आले, इञ्जीनियर नरेन्द्रकुमार लिम्बू र भेटेरिनरी तथा पशु शाखा प्रमुख गोर्खबहादुर तामाङ र स्वास्थ्य शाखा प्रमुख बसन्त निरौलालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिनु भएको थियो ।

तर, निमित्तको जिम्मेवारी बहन गर्दै आउनु भएका गोर्खबहादुर तामाङले ०७९ माघ २२ गते विज्ञप्ति जारी गर्दै कार्यापालिका बैठक बस्न नसकेको हुँदा आर्थिक कारोबार गर्नका लागि समस्या भएकोले आर्थिक कारोबार बन्द गर्ने निर्णय गरिएको जनाउनु भएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत पौडेलको फागुन २ गते मन्त्रालयमै सरुवा भएपछि नगरपालिका प्रमुख प्रशासकीय अधिकृतसँगै निमित्त प्रमुख प्रशासकीय अधिकृत विहीन भएको छ ।

नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत को आउने भन्ने टुङ्गो नभएको मेयर

ज्ञानबहादुर गुरुङले बताउनु भयो । गुरुङले प्रशासकीय अधिकृत नहुँदा योजनाहरूको भुक्तानी दिन नसकिएको बताउनु भयो, उहाँले भन्नुभयो– कार्यकारी आउने कुनै टुङ्गो छैन् ।

नगरपालिकामा औषधि खरिददेखि लिएर कर्मचारीले तलब खान पाएका छैनन् । तत्काल कुनै महामारी फैलिए पनि व्यवस्थापन गर्न समस्या हुने मेयर गुरुङको भनाइ छ ।

नगरपालिकाले ल्याएको सुत्केरीलाई रातो भाले कार्यक्रम बजेट निकासा नहुँदा पाँच महिनायता प्रभावित भएको छ ।

पाख्रिबास नगरपालिकामा मेयर गुरुङ र उप मेयर नम्रता देउजाबिचको विवादका कारण लामो समयदेखि समस्या आएको योजना शाखा प्रमुख ओम आलेले बताउनु भयो । आलेका अनुसार नगरपालिकामा जनप्रतिनिधिको विवादका कारण प्रमुख प्रशासकीय अधिकृत टिक्न नसकेको र योजनाहरूको भुक्तानी नहुँदा कामदारले समेत रकम पाउन सकेका छैनन् ।’

नगरपालिकामा जनप्रतिनिधिहरू आँफैमा विवादमा पर्ने र त्यसको दबाब प्रमुख प्रशासकीय अधिकृत चेपुवामा पर्ने हुँदा नगरपालिकाका विकास निर्माणमा समस्या हुँदै आएको पाख्रिबास नगरपालिका–४ का स्थानीय दीपक कार्कीको भनाइ छ ।

Photo 20230302 Dhankuta 1


ईश्वर थापा