प्रधानाध्यापकलाई मोसो दलेर दुर्व्यवहार, घटनाका आरोपितविरूद्ध उजुरी

  ०७९ असार १५ गते  

कमला नगरपालिका–३ निवासी औरही गाउँपालिका–१ स्थित श्री रामजानकी माध्यमिक विद्यालय झिटकहीयाका प्रधानाध्यापक ३४ वर्षीय मदनकुमार महरालाई असार ११ गते विद्यालयको परिसरमा मोसो दलेर दुर्व्यवहार गरेको आरोपित औरही गाउँपालिका–१ बस्ने ३१ वर्षीय सुजित यादव र ३७ वर्षीय रामनाथ यादवविरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालय धनुषामा असार १३ गते उजुरी दिनु भएको छ ।

विद्यालयमा भौतिक निर्माण तथा मर्मत सम्भारको लागि सङ्घीय सरकार र प्रदेश सरकारबाट आएको योजना अनुसारको काम गर्ने सम्बन्धमा आयोजित अभिभावक भेलामा आरोपितद्वयले प्रधानाध्यापक महरालाई मोसो दलेर अमानवीय व्यवहार गरेको पीडित प्रधानाध्यापक महराले बताउनु भयो ।

प्रधानाध्यापक महरालाई मोसो दल्ने क्रममा बचाउन खोज्दा विद्यालयका कार्यालय सहयोगी जितो यादवलाई समेत आरोपितहरुले कुटपिट गरेको पीडित प्रधानाध्यापक महराले बताउनु भयो ।

प्रदेश सरकारबाट शैक्षिक सुदृढिकरण तथा सामान्य मर्मत सम्भारका लागि प्राप्त ३० लाख र सङ्घीय सरकार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चार कोठे भवन निर्माणका लागि प्राप्त ३६ लाख रुपियाँलाई कुन हिसाबले सदुपयोग गर्ने र विद्यालयको शिक्षा तथा शैक्षिक सुधार र सरसल्लाह गर्नका लागि आयोजित अभिभावक भेलामा विद्यालय व्यवस्थापन समिति गठन नगरिएको निहुँमा प्रधानाध्यापक महरामाथि दुर्व्यवहार गरेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्र बस्नेतले घटनाबारे प्रहरीमा उजुरी आएको र घटनाको अनुसन्धान भइरहेको बताउनु भयो ।


दिपेन्द्रप्रसाद सिंह