प्रदेश २ सरकारको नीति तथा कार्यक्रमः चुरे संरक्षण र स्वास्थ्य क्षेत्र प्राथमिकतामा

  ०७८ जेठ २७ गते

प्रदेश २ सरकारले चुरे संरक्षणको लागि विशेष कार्यक्रम ल्याउने घोषणा गरेको छ । प्रदेश सरकारले २०७८/०७९ को लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा चुरे संरक्षणको लागि विशेष सहयोगको घोषण गर्दै स्थानीय तह, सङ्घीय सरकारसँग समन्वय गर्ने नीति लिएको छ ।

सरकारको तर्फबाट प्रदेश प्रमुख डाक्टर राजेश झाले जेठ २७ गते प्रदेश सभा बैठकमा प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा प्रायजसो पुरानै कार्यक्रमहरू ‘बेटी पढाउ, बेटी बचाउ’, ‘जहाँ सडक, त्यहीँ विकास’ लगायतका अभियान र प्रदेश सांसद निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिएको छ ।

सरकारले यस वर्षको नीति तथा कार्यक्रममा कोभिड–१९ को महामारी नियन्त्रण, स्वास्थ्य, कृषि, पर्यटन, स्वरोजगार, शिक्षा र सिंचाईलाई प्राथमिकतामा राखेको छ ।

कोभिड जोखिम न्यूनीकरण गर्न जनकपुरस्थित निर्माणधीन मणिपाल अस्पताललाई कोभिड अस्पताल बनाउने, अस्पतालहरूमा स्वास्थ्यकर्मीको दरबन्दी थप्ने, कोभिड महामारी नियन्त्रण गर्न संरचना निर्माण गरी कोभिडको मात्रै अस्पताल छुट्याउने र कोभिड आपतकालिन सेन्टर स्थापना गर्ने नीति सरकारले लिएको छ ।

प्रदेश २ का सबै जिल्लाहरुमा भारतसँगको नियमित आवतजावत हुने भएकाले सीमा नाकाहरुमा हेल्थ डेस्कहरू स्थापना गरी नियमित स्वास्थ्य जाँच गर्ने र स्वास्थ्य कर्मचारीलाई स्वास्थ्य विमा गर्ने नीति लिएको छ ।

प्रदेश गौरवको योजनाको रुपमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी आर्थिक वर्षमा अध्ययन अध्यापन सुरु गरी प्रादेशिक अस्पताललाई ५ सय बेड क्षमतामा विस्तार गर्ने योजनाका साथै प्रदेशलाई कुपोषणमुक्त बनाउन अभियान सञ्चालन गरिने र प्रदेश स्वास्थ्य नीति ल्याएर प्रदेशको स्वास्थ्य अवस्थामा सुधार ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

कोभिडका कारण रोजगारी गुमाएका युवाका लागि मुख्यमन्त्री युवा स्वरोजगार उद्यम विकास कार्यक्रम र विपन्न दलितहरूका लागि दलित छात्रावृत्ति र रासन कार्ड उपलब्ध गराउने जस्ता कार्यक्रम समेटिएको छ ।

प्रदेशलाई कृषिप्रधान बनाउन साना मझौला सिंचाईलाई प्राथमिकता दिइने नीति कार्यक्रममा उल्लेख छ ।

कृषि व्यवसाय प्रवद्र्धन गर्न मूल्य निर्धारणमा कृषकको मुख्य भूमिका, कृषि विमा, कृषि सडक, कृषि विद्युतीकरण, कृषि सिंचाई, कृषिको मझौला उद्योगको कर राजस्वमा छुट, उखु कृषक र चिनी उद्योगका लागि विशेष प्याकेज, भेटेनरी सेवालाई प्रभावकारी बनाउने नीति ल्याउनुका साथै कृषि यान्त्रिकीकरणको विकास गरी कृषि उत्पादकत्व बढाउन दीगो मूल आधार तय गरी कृषिजन्य औद्योगिकरणमा विशेष सहयोग गरिने जस्ता कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

प्रत्येक जिल्ला सदरमुकाममा दलित छात्राबास, ज्येष्ठ नागरिक आवास निर्माण गर्ने नीति कार्यक्रम सरकारले ल्याएको छ ।

प्रदेश २ को नीति तथा कार्यक्रम २०७८/०७९ पढ्न यहाँ क्लिक गर्नु होला


अजयकुमार साह