प्रदेश–१, प्रतिनिधि र प्रदेशसभा निर्वाचन ०७९– ताप्लेजुङमा मतदाता घटे, ९० हजार बढी नयाँ मतदाता थप

  ०७९ भदौ २४ गते

प्रदेश १, मा स्थानीय तह सदस्य निर्वाचन ०७९ पछि ताप्लेजुङमा मतदाता सङ्ख्या घटेको र अन्य जिल्लामा गरी ९० हजार बढी मतदाता थप भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

स्थानीय तह सदस्य निर्वाचनमा भन्दा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा ताप्लेजुङमा ५ सय ३९ जना मतदाता घटेको र अन्य जिल्लामा मतदाता बढेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

स्थानीय तह सदस्य निर्वाचनपछि साउन १९ गतेसम्म जिल्लामा सङ्कलन गरिएको विवरण अनुसार प्रारम्भिक चरणमा ९० हजार ३ सय ४४ जना बढी मतदाता थप भएको तथ्याङ्क भएपनि विवरण अद्यावधिक भइरहेकाले केही थपघट हुन सक्ने प्रदेश निर्वाचन कार्यालय प्रमुख लेवनकश्यप अधिकारीले बताउनु भएको छ ।

सरकारले ०७९ मङ्सिर ४ गते प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मिति तय गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को साउन १९ गतेको बैठकले प्रतिनिधिसभाका २ सय ७५ जना सदस्य र प्रदेशसभाका ५ सय ५० जना सदस्यका लागि मङ्सिर ४ गते निर्वाचनको मिति घोषणा गरेको छ ।

निर्वाचन आयोगसँगको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने संवैधानिक व्यवस्था छ ।

मङ्सिर ४ गतेको निर्वाचनमा प्रतिनिधिसभाका लागि १ सय ६५ जना प्रत्यक्ष र १ सय १० जना समानुपातिक प्रणालीबाट निर्वाचित निर्वाचन आयोगले जनाएको छ ।

सात ओटा प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ३ सय ३० जना र समानुपातिकतर्फ २ सय २० जना निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रत्यक्ष निर्वाचन प्रणालीबाट हरेक निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत ल्याउने एक जना उम्मेदवार निर्वाचित हुनेछन् ।

समानुपातिक प्रणालीमा दलहरूले पाएको मतका आधारमा निर्वाचित हुने सांसदहरूको सङ्ख्या बाँडफाँट गरिने व्यवस्था छ ।

तर समानुपातिकतर्फ सीट ल्याउन प्रतिनिधिसभामा तीन प्रतिशत र प्रदेशसभामा १ दशमलव ५ प्रतिशत मत पाउनु पर्ने नियम निर्वाचन आयोगको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूका लागि चार ओटा मतपत्रको व्यवस्था गर्ने तयारी गरेको छ । आयोगले मङ्सिर ४ गते एकै चरणमा चुनाव हुने जनाएको छ । यसअघि ०७४ साल मङ्सिर १० र २१ गते दुई चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएको थियो ।

अघिल्लो निर्वाचनमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ नौ ओटा राजनीतिक दलबाट १ सय ६४ जना निर्वाचित भएका थिए ।

सरकारले आगामी मङ्सिर ४ गतेका लागि निर्वाचन मिति घोषणा गरेपछि निर्वाचन आयोगले साउन २० गतेदेखि देशभर फोटोसहितको मतदाता नामवली सङ्कलन स्थगित गरेको छ ।

नेपालले नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि सन् १९६६ लाई वि।स।०३२ चैत १० गते पक्ष राष्ट्रको रूपमा अनुमोदन गरी लागू गरेको छ ।

नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तराष्ट्रिय महासन्धीले धारा २५ मा प्रत्येक नागरिकलाई प्रत्यक्ष रूपमा वा स्वतन्त्र रूपमा प्रतिनिधि छनौट गर्न वा छानिएका प्रतिनिधिहरूमार्फत् सार्वजनिक जीवन सञ्चालनमा भाग लिने पाउने अधिकार सुनिश्चित गरेको छ ।

सोही धारामा सर्वव्यापी तथा समान मताधिकारबाट र गोप्य मतदानबाट मतदाताहरूको इच्छाको स्वतन्त्र अभिव्यक्तिको प्रत्याभूति गर्ने निर्वाचनहरूमा मतदान गर्ने र निर्वाचित हुने अधिकारलाई सुनिश्चित गरेको छ ।

नेपाल संविधानले भाग २४, धारा २४५ मा निर्वाचन आयोगलाई संवैधानिक निकायका रूपमा व्यवस्था गरेको छ । निर्वाचन आयोगले १८ वर्ष पुरा भएका प्रत्येक नागरिकलाई बालिग मताधिकारको अधिकार प्रदान गरेको छ । निर्वाचन आयोगले बालिग मताधिकारलाई नागरिक अधिकार भनि परिभाषित गरेको छ ।

मतदाता नामावलीमा नाम दर्ता गराएका र मङ्सिर ३ गतेभित्र १८ वर्ष उमेर पूरा भएका हरेक नागरिकले निर्वाचनमा मतदान गर्न पाउने कानुनी व्यवस्था छ ।

प्रदेश १ मा निर्वाचन क्षेत्र प्रदेशसभातर्फ ५६ र प्रतिनिधिसभातर्फ २८ छन् । मङ्सिर ४ गतेको निर्वाचनबाट प्रदेश १ मा प्रत्यक्षतर्फ ५६ र समानुपातिकतर्फ ३७ जना गरी ९३ जना सांसद निर्वाचन हुने छन् ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि मोरङमा आठ ओटा मतदानस्थल परिर्वतनका लागि भदौ ५ गते निर्वाचन आयोगलाई सिफारिस गरिएको प्रदेश १, निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

०७९ मङ्सिर ४ गतेका लागि तय गरिएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी जिल्लाका आठ ओटा मतदानस्थल परिवर्तन गर्न सिफारिस गरिएको प्रदेश निर्वाचन अधिकृत लेवनकश्यप अधिकारीले बताउनु भयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल संयोजक रहेको समितिले भदौ ५ गते जिल्लाका आठ ओटा मतदानस्थल परिर्वतनका लागि सिफारिस गरिएको हो । जिल्लामा ३ सय ओटा मतदानस्थल र ८ सय २० ओटा मतदान केन्द्र छन् ।

सङ्खुवासभामा सशस्त्र द्वन्द्वको समयमा हटाइएका पाँच ओटा मतदानस्थल थप्न साउन १७ गते सिफारिस गरिएको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जिल्लाभर पाँच ओटा मतदानस्थल थप्न सिफारिस गरिएको जिल्ला निर्वाचन अधिकृत जयप्रकाश बस्नेतले बताउनु भयो ।

सशस्त्र द्वन्द्वको समयमा हटाइएका तथा मतदाताको सङ्ख्या वृद्धि भएको स्थानहरूमा मतदानस्थल थप्न सिफारिस गरिएको निर्वाचन अधिकृत बस्नेतको भनाइ छ । तत्कालीन प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाको संयोजकत्वमा रहेको जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले पाँच ओटा मतदानस्थल थप गर्ने निर्णय गरिएको छ ।

स्थानीय तह सदस्य निर्वाचनमा देशभर १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाताले मतदान गरेका थिए ।

प्रदेश १ मा स्थानीय तह सदस्य निर्वाचन ०७९ मा १६ लाख ९९ हजार ८ सय जना पुरूष मतदाता, १६ हजार ४७ हजार ५ सय ६१ जना महिला मतदाता र अन्य २३ जना गरी ३३ लाख ४७ हजार ३ सय ८४ जना मतदाताले मतदान गरेका थिए ।

आगामी मङ्सिर ४ गतेका लागि तय गरिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि देशभर १० हजार ८ सय ८८ ओटा मतदानस्थल कायम गरिएको निर्वाचन आयोगले जनाएको छ । ०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा देशभर १० हजार ७ सय ५६ ओटा मतदानस्थल कायम थिए ।

आयोगले मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम मतदान व्यवस्थापनलाई प्रभावकारी बनाउन तथा मतदातालाई मतदान प्रक्रियामा सहज पहुँचका लागि मतदाताको सङ्ख्या, सुविधा एवम् सुरक्षाको अवस्थालाई मध्यनजर गरी केही मतदानस्थल पुनरावलोकन गरेको छ ।

कार्यविधिमा भएको व्यवस्था बमोजिम ०७९ साउन १ गतेदेखि मतदानस्थल पुनरावलोकन कार्यक्रम सञ्चालन गरी मतदाताको सघनता, मतदानस्थलसम्मको पहुँच, भवन, सञ्चार, विद्युत, यातायातलगायत पूर्वाधारको अवस्था, सुरक्षा एवम् भौगोलिक अवस्था र निर्वाचनका सरोकारवालाको सहमतिका आधारमा जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट प्राप्त सुझावका आधारमा पुनरावलोकन गरिएको छ ।

सोही आधारमा जिल्लाभरका मतदानस्थल पुनरावलोकन हुँदा १ हजार १ सय २३ ओटा मतदानस्थल सच्याइएको, साविकका ३ सय ६५ ओटा मतदानस्थलबाट सबै मतदाता स्थानान्तरण गरी ३ सय ६४ ओटा मतदानस्थल निर्धारण गरिएको छ ।

१ सय ६३ ओटा मतदानस्थलबाट आंशिक मतदाता स्थानान्तरण गरी १ सय ६९ ओटा मतदानस्थल निर्धारण गरिएको साथै २८ ओटा मतदानस्थलका सबै मतदातालाई २८ ओटै मतदानस्थलमा र १५ ओटा मतदानस्थलका आंशिक मतदातालाई स्थानान्तरण गरी १३ ओटा मतदान स्थलमा गाभिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार देशभर मतदानस्थलको सङ्ख्या १० हजार ८ सय ८८ पुगेको छ । यसअघि देशभर १० हजार ७ सय ५६ ओटा मतदानस्थल रहेका थिए । मतदानस्थल पुनरावलोकन गर्दा देशभरका ४ सय १ ओटा मतदानस्थललाई हटाइ नयाँ मतदानस्थल निर्धारण गरिएको छ ।

मतदानस्थल पुनरावलोकन भएपश्चात स्थानीय तहको निर्वाचन, २०७९ को समयमा मतदान गर्नका लागि बास बस्नुपर्ने, निकै टाढा टाढासम्म हिँड्नुपर्ने लगायतको गुनासो सम्बोधन भई मतदातालाई मतदानस्थलसम्मको पहुँच सहज भई निर्वाचनमा मतदाताको सहभागिता अझ बढ्ने निर्वाचन आयोगले जनाएको छ ।

photo 20220909 Morang

ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङका अनुसार जिल्लामा स्थानीय तह सदस्य निर्वाचनपछि मतदाताको सङ्ख्या घटेको छ । आगामी मङ्सिर ४ गतेका लागि तय गरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ५ सय ३९ जना मतदाता सङ्ख्या  घटेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तह सदस्य निर्वाचन ०७९ वैशाख ३० मा जिल्लामा ८९ हजार ६ सय ८० जना मतदाता रहेकामा निर्वाचनपछि कार्यालयले गरेको अद्यावधिक गरेको विवरणमा मतदाता सङ्ख्या ८९ हजार १ सय ४१ जना छन् । जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले निर्वाचनपछि असार १ गतेदेखि साउन १९ गतेसम्म मतदाता नामावली सङ्कलनको गरिएको बताउनु भयो । निर्वाचन अधिकारी खनालले नयाँ मतदाता थप्ने, मृत्यु भएका र बसाई सरी गएकाहरूको विवरण अद्यावधिक गर्दा मतदाता सङ्ख्या कम भएको हो । २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि जिल्लामा ७८ हजार ३ सय ९७ जना मतदाता थिए ।

सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार जिल्लामा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा निर्वाचनका लागि २ हजार ६ सय बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका पछिल्लो समय जिल्लामा २ हजार ६ सय ६५ जना मतदाता थप भएका हुन् । निर्वाचन आयोगले १८ वर्ष पुरा भएका प्रत्येक नागरिकलाई बालिग मताधिकारको अधिकार प्रदान गरेको छ । निर्वाचन आयोगले बालिग मताधिकारलाई नागरिक अधिकार भनि परिभाषित गरेको छ । स्थानीय तह सदस्य निर्वाचन ०७९ मा जिल्लामा १ लाख १७ हजार ७ सय ३१ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लोकेन्द्र राईले बताउनु भयो । जिल्लामा हाल १ सय ३ ओटा मतदानस्थल र १ सय ६२ मतदान केन्द्र छन् ।  जिल्ला निर्वाचन कार्यालयमा अनुसार जिल्लामा ६० हजार ६ सय ७८ जना पुरूष र ५७ हजार ५३ जना महिला गरी १ लाख १७ हजार ७ सय ३१ जना मतदाता छन् ।

सोलुखुम्बु प्रतिनिधि अञ्जु कार्कीका अनुसार जिल्लामा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि २ हजार ६ सय ४९ जना नयाँ मतदाता थपिएका छन् । स्थानीय तह सदस्य निर्वाचन ०७९ मा  जिल्लामा ८० हजार मतदाता रहेका थिए । स्थानीय तहको निर्वाचनपछि करिब २ महिनाको अवधिमा २ हजार ६ सय ४९ जना नयाँ मतदाताको विवरण सङ्कलन गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नेत्र घिमिरले बताउनु भयो । निर्वाचन कार्यालयबाट १ हजार ३ सय १३ जना , जिल्ला प्रशासन कार्यालयबाट ८ सय ८८ जना र इलाका प्रशासन  कार्यालय सोताङबाट ४ सय ४८ जना मतदाताको विवरण सङ्कलन गरिएको सूचना अधिकारी घिमिरेको भनाइ छ ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार आगामी मङ्सिर ४ गतेका लागि तय गरिएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा २ हजार ९ सय १२ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तह सदस्य निर्वाचनमा १ लाख १७ हजार ८५ जना मतदाता रहेकामा आगामी निर्वाचनका लागि मतदाताको सङ्ख्या १ लाख १९ हजार ९ सय ९७ जना पुगेको छ ।

खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार जिल्लामा स्थानीय तह सदस्य निर्वाचन ०७९ पछि १ हजार २ सय ७५ जना मतदाता थपिएका छन् । स्थानीय तह सदस्य निर्वाचनमा १ लाख ४२ हजार ४ सय ७७ जना रहेकामा थप भएका मतदातासहित जिल्लामा मतदाताको सङ्ख्या १ लाख ४३ हजार ७ सय ५२ जना पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जसमध्ये ६८ हजार ७ सय ४६ जना महिला र ७५ हजार ६ जना पुरूष रहेको निर्वाचन कार्यालयका कार्यालय प्रमुख राजेश गौतमले बताउनु भयो । प्रदेशसभा र प्रतिनिधिसभाका लागि जिल्लामा १ सय ३६ ओटा मतदानस्थल र १ सय ९४ ओटा मतदान केन्द्र तय गरिएको छ । आगामी मङ्सिर ४ गतेका लागि सरकारले निर्वाचनको मिति तय गरेपछि मतदाता नामावली सङ्कलन साउन १९ गते रोकिएको छ । निर्वाचन कार्यालयले मतदाताको तथ्याङ्क रूजु गरिरहेकाले केही थपघट हुन सक्ने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लोकेन्द राईको भनाइ छ ।

भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार आगामी मङ्सिर ४ गतेका लागि तय गरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा १ हजार ९ सय ९१ जना नयाँ मतदाता थपिएका छन् । जिल्लामा ६७ हजार २ सय २९ पुरूष, ६१ हजार ९ सय १९ जना महिला र अन्य एक जना गरी कुल मतदाताको सङ्ख्या १ लाख २९ हजार १ सय ४९ जना पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । आगामी निर्वाचनका लागि जिल्लामा ८७ ओटा मतदानस्थल र १ सय ६० ओटा मतदान केन्द्र तोकिएको छ ।

धनकुटा प्रतिनिधि ईश्वर थापाका जिल्लामा स्थानीय तह सदस्य निर्वाचन ०७९  मा भन्दा प्रदेशसभा र प्रतिनिधिसभाका लागि २ हजार ८ सय २६ जना नयाँ मतदाता थपिएका छन् । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनपछि सञ्चालन गरिएको मतदाता नामावली सङ्कलनबाट ती मतदाता थपिएका हुन् । सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेसँगै मतदाता नामावली सङ्कलन स्थगित गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख जयराम श्रेष्ठले बताउनु भयो । स्थानीय तह निर्वाचनमा जिल्लामा  १ लाख १५ हजार ९ सय ६४ जना मतदाता रहेकोमा अहिले १ लाख १८ हजार ७ सय ९० जना मतदाता पुगेका छन् । थपिएका मतदातामध्ये नामावली अद्यावधिकको काम भइरहेकाले केही मतदाता थपघट हुन सक्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । थपिएका मतदाता अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि एक ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा ५९ हजार २ सय ५५ जना पुरूष र ५९ हजार ५ सय ३५ जना महिला गरी १ लाख १८ हजार ७ सय ९० जना मतदाता छन् । यस्तै प्रदेश निर्वाचन क्षेत्र क मा ३० हजार ९ सय ८१ जना पुरूष र ३१ हजार ४ सय ९० जना महिला गरी ६२ हजार ४ सय २१ जना मतदाता रहेका छन् । प्रदेश निर्वाचन क्षेत्र ख मा २८ हजार २ सय ७४ जना पुरूष र २८ हजार ४५ जना महिला गरी ५६ हजार ३ सय १९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ‘निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली सङ्कलन कार्य स्थगित गरी मतदाता नामावली अद्यावधिकको काम वडावडासम्म पुगेर भइरहेको जिल्ला निर्वाचन कार्यालय प्रमुख जयराम श्रेष्ठले बताउनु भयो । गएको स्थानीय तह निर्वाचनमा सहिदभूमि गाउँपालिकामा १३ हजार ५ सय ३६ जना, चौविसे गाउँपालिकामा १४ हजार १ सय २७ जना, छथर जोरपाटी गाउँपालिकामा १३ हजार ५ सय ४२ जना र साँगुरीगढी गाउँपालिकामा १६ हजार २ सय ४१ जना मतदाता रहेका थिए । धनकुटा नगरपालिकामा २२ हजार ९ सय ७१ जना, पाख्रिवास नगरपालिकामा १७ हजार ८७ जना र महालक्ष्मी नगरपालिकामा  १८ हजार ४ सय ६० जना मतदाता रहेका थिए । गएको स्थानीय तह निर्वाचनमा जिल्लामा १ सय १८ मतदान स्थल र १ सय ५९ मतदान केन्द्र रहेको आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा केही मतदान केन्द्र थपिन सक्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदान स्थलमा धेरै मतदाता थपिएको आधारमा मतदान केन्द्र थप्ने तयारी भइरहेको जिल्ला निर्वाचन अधिकारी जयराम श्रेष्ठले जानकारी दिनुभयो ।

तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा १२ हजार ६७ जना नयाँ मतदाता थपिएका छन् । स्थानीय तह सदस्य निर्वाचन ०७९ मा ७२ हजार ८ सय ९५ जना मतदाता रहेकामा आगामी निर्वाचनका लागि ८४ हजार ९ सय ६२ जना पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मङ्सिर ४ गतेको निर्वाचनका लागि जिल्लाका ६ ओटा स्थानीयतहमा ५७ स्थानमा ९५ ओटा मतदान केन्द्र तय गरिएको छ ।

पाँचथर प्रतिनिधि सहमान विश्वकर्माका अनुसार स्थानीय तह सदस्य निर्वाचन ०७९ पछि जिल्लामा १ हजार ८ सय २४ जना नयाँ मतदाता थपिएका छन् । थपिएका मतदातामा १ हजार २ जना पुरूष र ८ सय २२ जना महिला छन् । स्थानीय तह सदस्य निर्वाचन ०७९ मा जिल्लामा ७३ हजार ५ सय ७६ जना पुरूष र ६६ हजार ६ सय ४८ जना महिला गरी १ लाख ४ हजार २ सय २४ जना मतदाता थिए । आगामी मङ्सिर ४ गतेका लागि तय गरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा १ लाख ६ हजार ४८ जना मतदाता रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

इलाम प्रतिनिधि बविता मैनालीका स्थानीय तह सदस्य निर्वाचन ०७९ पछि जिल्लामा ३ हजार ३ सय नयाँ मतदाता थपिएका छन् । स्थानीय तह सदस्य निर्वाचनमा २ लाख २४ हजार ७ सय ४८ जना रहेकामा आगामी निर्वाचनका लागि २ लाख २८ हजार ४८ जना मतदाता हुने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूले बताउनु भयो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा १ सय ५१ ओटा मतदानस्थल र १ सय ८५ ओटा मतदान केन्द्र तोकिएको छ ।

मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार आगामी मङ्सिर ४ गतेका लागि तय गरिएको प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा  जिल्लामा २७ हजार मतदाता थपिने भएका छन् । मतदाता नामावली अद्यावधिकको काम भइरहेकाले प्रारम्भिक तथ्याङ्क अनुसार करिब २७ हजार मतदाता थपिने आँकलन गरिएको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवनकश्यप अधिकारीले बताउनु भयो । जिल्लामा स्थानीय तहको निर्वाचनपछि फोटोसहितको मतदाता नामावलीमा २७ हजार २ सय २५ जनाले नाम दर्ता गराएको प्रमुख अधिकारीले बताउनु भयो । जसमा १३ हजार ८ सय ३९ जना र १३ हजार ३ सय ८६ जना पुरूष छन् ।  अन्य जिल्लाबाट मतदाता नामावली सारेर मोरङ आउनेको मतदाता नामावली अद्यावधिक गर्न बाँकी रहेको कार्यालयले जनाएको छ । फोटोसहितको मतदाता नामावलीमा दर्ता भएका १६ देखि १८ वर्ष उमेर समूहका  व्यक्तिहरू र  जिल्लाबाट अन्यत्र जिल्लामा  नामावली  सारेर जानेहरूको नाम अन्तिम नामावलीबाट हटाइन थालेको निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तह सदस्य निर्वाचन ०७९ वैशाख ३० मा जिल्लामा ३ लाख ६३ हजार ४ सय ४८ जना पुरूष ,  ३ लाख ५१ हजार  ७ सय ६९ जना महिला र छ  जना अन्य गरी ७ लाख १५ हजार २ सय २३ मतदाता थिए ।

सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार जिल्लामा स्थानीय तह सदस्य निर्वाचन ०७९ पछि २४ हजार नयाँ मतदाता थप भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तह सदस्य निर्वाचनमा ५ लाख ३४ हजार ७ सय ६५ जना मतदाता रहेकामा आगामी मङ्सिर ४ गतेका लागि तय गरिएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा ५ लाख ५८ हजार ६ सय ६५ जनाले मतदान गर्ने  निर्वाचन कार्यालयका सूचना अधिकारी अजय मिश्रले बताउनु भयो । जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा सबैभन्दा बढी मतदाता निर्वाचन क्षेत्र नम्बर २ मा र सबैभन्दा कम मतदाता क्षेत्र नम्बर ३ मा छन् । निर्वाचन क्षेत्र नम्बर १ (क) मा ७१ हजार ९ सय ८३ जना र  निर्वाचन क्षेत्र नम्बर १ (ख) मा ७१ हजार २ सय १४ जना गरी १ लाख ४३ हजार १ सय ९७ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन क्षेत्र नम्बर २ (क) मा ८१ हजार २ सय ७० जना र निर्वाचन क्षेत्र नम्बर २ (ख) मा ६९ हजार ८ सय ३ जना गरी १ लाख ५१ हजार ७३ जना मतदाता छन् । निर्वाचन क्षेत्र नम्बर ३ (क) मा ६२ हजार ४ सय ९२ जना र  निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा ६४ हजार २ सय ९१ जना गरी १ लाख २६ हजार ७ सय ८३ मतदाता रहेका छन् । निर्वाचन क्षेत्र नम्बर ५ (क) मा ६८ हजार ५ सय ५३ जना र निर्वाचन क्षेत्र नम्बर ४(ख) मा ६० हजार ९ सय ५८ जना गरी १ लाख २९ हजार ५ सय ११ मतदाता रहेका छन् । आगामी मङ्सिर ४ गतेका लागि तय गरिएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा जिल्लामा १ सय ६६ ओटा मतदानस्थल र ५ सय ८१ ओटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अजय मिश्रले बताउनु भयो । तोकिएका मतदान केन्द्रमध्ये चार ओटा मतदान केन्द्र स्थान्तरणको लागि सिफारिस गरेर पठाएको सूचना अधिकारी मिश्रको भनाइ छ । जिल्लामा स्थानीय तह सदस्य निर्वाचन ०७९ मा ५ लाख ३४ हजार ७ सय ६५ जना मतदाताले मतदान गरेको थिए ।

उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार स्थानीय तहको निर्वाचन पछि जिल्लामा ७ हजार ९ जना नयाँ मतदाता थपिएका छन् । स्थानीय तह सदस्य निर्वाचन ०७९ मा जिल्लामा १ लाख १२ हजार ८ सय ८५ जना पुरूष, १ लाख १० हजार २ सय ५१ जना महिला र अन्य दुई जना गरी २ लाख २३ हजार १ सय ३८ जना मतदाता थिए । आगामी मङ्सिरमा हुने निर्वाचनमा २ लाख ३० हजार १ सय ४७ जना मतदाता गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।  जिल्लामा ९८ ओटा मतदानस्थल र २ सय ५८ ओटा मतदान केन्द्र तोकिएको छ ।


इन्सेक प्रदेश १, कार्यालय विराटनगर