प्रदेश १, प्रतिनिधि र प्रदेशसभा निर्वाचन ०७९– यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मतदाता २२ जना, ४९ हजार मतदाता थप

  ०७९ असोज ५ गते

०७९ मङ्सिर ४ गतेका लागि तय गरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेश १ मा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मतदाताको सङ्ख्या २२ जना रहेको निर्वाचन आयोगले जनाएको छ ।

साउन १८ गते सरकारले निर्वाचन मिति घोषणा गरेपछि साउन १९ गतेदेखि मतदाता नामावली सङ्कलन स्थगन गरी तथ्याङ्क अद्यावधिक पश्चात प्रदेश १ मा २२ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले मतदाता नामावलीमा नाम दर्ता गराएको प्रदेश १,निर्वाचन कार्यालयका प्रमुख लेवनकश्यप अधिकारीले बताउनु भयो ।

निर्वाचन आयोगका अनुसार झापामा आठ जना, मोरङमा ६ जना, इलाम, सुनसरी र उदयपुरमा दुई-दुई जना, भोजपुर र ओखलढुङ्गामा एक-एक जना गरी प्रदेशभरीमा २२ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

photo 20220909 Morang

निर्वाचन आयोगले अन्तिम मतदाता विवरण अद्यावधिकपछि प्रदेश १ मा स्थानीय तह सदस्य निर्वाचन ०७९ पछि ४९ हजार नयाँ मतदाता थप भएको जानकारी दिएको छ ।

आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रदेश १, मा ३३ लाख ९६ हजार ८ सय ६५ जना मतदाता कायम भएका छन् ।

मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्ने प्रदेशका कूल मतदाताहरूमध्ये १७ लाख २९ हजार ७ सय ७२ जना पुरूष र १६ लाख ६७ हजार ७१ जना महिला मतदाता छन् ।

स्थानीय तह सदस्य निर्वाचन ०७९ पछि प्रदेश १ मा ४९ हजार ४ सय ८१ जना नयाँ मतदाता थप भएका छन् ।

प्रदेश १ का १४ जिल्लामा प्रतिनिधिसभाका लागि २८ र प्रदेशसभाका लागि ५६ ओटा निर्वाचन क्षेत्र छन् ।

photo 20220921 Election

१४ जिल्लामा १ हजार ८ सय ९७ ओटा मतदानस्थल र ४ हजार ९९ ओटा मतदान केन्द्र रहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवनकश्यप अधिकारीले बताउनु भयो ।

मोरङमा सबै भन्दा धेरै मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । मोरङमा ७ लाख ३५ हजार ५ सय २५ जना मतदाता छन् ।

तेहृथुममा सबैभन्दा कम मतदाता ७१ हजार ९ सय ३३ जना रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

मोरङमा स्थानीय तह सदस्य निर्वाचन ०७९ पछि २० हजार ३ सय २ जना मतदाता थप भएका छन् ।


इन्सेक प्रदेश १, कार्यालय विराटनगर