प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको मतगणना सम्बन्धित क्षेत्रमै गरिने

  ०७९ असोज १४ गते

आगामी मङ्सिर ४ गतेका लागि तय गरिएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मत गणना सम्बन्धित क्षेत्रमै हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधिसभाका १ र १ निर्वाचन क्षेत्र भएका जिल्लाको मतगणना जिल्ला सदरमुकाममा हुने भए पनि एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको मतगणना सम्बन्धित क्षेत्रमै गर्ने गरी तयारी अघि बढाइएको आयोगले जनाएको छ ।

photo 20220909 Morang

प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा स्थापना हुने निर्वाचन अधिकृतको कार्यालयमा सम्बन्धित प्रदेश र प्रतिनिधिसभा क्षेत्रको मतगणना हुने व्यवस्था मिलाइने प्रदेश निर्वाचन कार्यालय विराटनगरका कार्यालय प्रमुख लेवनकश्यप अधिकारीले बताउनु भयो ।

विराटनगरमा निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी प्रादेशिक प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सहभागी मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतहरू र जिल्ला निर्वाचन अधिकारीहरूलाई सोही अनुसार तयारी गर्न निर्देशन दिइएको प्रदेश १, निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले बताउनु भयो । अधिकृत अधिकारीले‘अघिल्ला निर्वाचनहरूमा प्रदेश र प्रतिनिधिसभाको मतपेटिका सदरमुकाममा ल्याएर गणना गर्ने गरिए आगामी मङ्सिर ४ गतेको निर्वाचनमा त्यस्तो हुने छैन।’

विराटनगरमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा उपस्थित भएका मधेस प्रदेशका सिरहा र सप्तरीसहित प्रदेश १ का १४ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई असोज २० गते भित्रमा कार्यालय स्थापना गर्न आयोगले निर्देशन दिएको छ ।

असोज १५ देखि २० भित्रमा कार्यालय स्थापना गर्न भनिएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । प्रतिनिधिसभाका २८ ओटा निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा सबैभन्दा धेरै मोरङमा ६ ओटा निर्वाचन क्षेत्र छन् । झापामा पाँच ओटा निर्वाचन क्षेत्र र सुनसरीमा चार ओटा निर्वाचन क्षेत्र छन् । इलाम र उदयपुरमा दुई-दुई निर्वाचन क्षेत्र छन् । अन्य नौ ओटा जिल्लामा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ ।

प्रादेशिक प्रशिक्षक प्रशिक्षण कार्यक्रममा संवैधानिक तथा कानुनी व्यवस्था, जनशक्ति र सुरक्षा व्यवस्थापन, मतदाता शिक्षाका साथै निर्वाचन व्यवस्थापनमा मिथ्या सूचना, दुष्प्रचार र अभिव्यक्ति, नीतिगत व्यवस्था, नियमन र नियन्त्रण बारे प्रशिक्षण दिइएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रदेश १, मा ३३ लाख ९६ हजार ८ सय ६५ जना मतदाता कायम भएका छन् ।

मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्ने प्रदेशका कूल मतदाताहरूमध्ये १७ लाख २९ हजार ७ सय ७२ जना पुरूष र १६ लाख ६७ हजार ७१ जना महिला मतदाता छन् ।

स्थानीय तह सदस्य निर्वाचन ०७९ पछि प्रदेश १ मा ४९ हजार ४ सय ८१ जना नयाँ मतदाता थप भएका छन् ।

प्रदेश १ का १४ जिल्लामा १४ जिल्लामा १ हजार ८ सय ९७ ओटा मतदानस्थल र ४ हजार ९९ ओटा मतदान केन्द्र रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

मोरङमा सबै भन्दा धेरै मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । मोरङमा ७ लाख ३५ हजार ५ सय २५ जना मतदाता छन् ।

तेहृथुममा सबैभन्दा कम मतदाता ७१ हजार ९ सय ३३ जना रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

आगामी मङ्सिर ४ गतेका लागि तय गरिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि देशभर १० हजार ८ सय ८८ ओटा मतदानस्थल कायम गरिएको निर्वाचन आयोगले जनाएको छ ।

०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा देशभर १० हजार ७ सय ५६ ओटा मतदानस्थल कायम थिए ।

आयोगले मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम मतदान व्यवस्थापनलाई प्रभावकारी बनाउन तथा मतदातालाई मतदान प्रक्रियामा सहज पहुँचका लागि मतदाताको सङ्ख्या, सुविधा एवम् सुरक्षाको अवस्थालाई मध्यनजर गरी केही मतदानस्थल पुनरावलोकन गरेको छ ।

कार्यविधिमा भएको व्यवस्था बमोजिम ०७९ साउन १ गतेदेखि मतदानस्थल पुनरावलोकन कार्यक्रम सञ्चालन गरी मतदाताको सघनता, मतदानस्थलसम्मको पहुँच, भवन, सञ्चार, विद्युत, यातायातलगायत पूर्वाधारको अवस्था, सुरक्षा एवम् भौगोलिक अवस्था र निर्वाचनका सरोकारवालाको सहमतिका आधारमा जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट प्राप्त सुझावका आधारमा पुनरावलोकन गरिएको छ ।

सोही आधारमा जिल्लाभरका मतदानस्थल पुनरावलोकन हुँदा १ हजार १ सय २३ ओटा मतदानस्थल सच्याइएको, साविकका ३ सय ६५ ओटा मतदानस्थलबाट सबै मतदाता स्थानान्तरण गरी ३ सय ६४ ओटा मतदानस्थल निर्धारण गरिएको छ ।

१ सय ६३ ओटा मतदानस्थलबाट आंशिक मतदाता स्थानान्तरण गरी १ सय ६९ ओटा मतदानस्थल निर्धारण गरिएको साथै २८ ओटा मतदानस्थलका सबै मतदातालाई २८ ओटै मतदानस्थलमा र १५ ओटा मतदानस्थलका आंशिक मतदातालाई स्थानान्तरण गरी १३ ओटा मतदान स्थलमा गाभिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार देशभर मतदानस्थलको सङ्ख्या १० हजार ८ सय ८८ पुगेको छ ।

यसअघि देशभर १० हजार ७ सय ५६ ओटा मतदानस्थल रहेका थिए । मतदानस्थल पुनरावलोकन गर्दा देशभरका ४ सय १ ओटा मतदानस्थललाई हटाइ नयाँ मतदानस्थल निर्धारण गरिएको छ ।

मतदानस्थल पुनरावलोकन भएपश्चात स्थानीय तहको निर्वाचन, २०७९ को समयमा मतदान गर्नका लागि बास बस्नुपर्ने, निकै टाढा टाढासम्म हिँड्नुपर्ने लगायतको गुनासो सम्बोधन भई मतदातालाई मतदानस्थलसम्मको पहुँच सहज भई निर्वाचनमा मतदाताको सहभागिता अझ बढ्ने निर्वाचन आयोगले जनाएको छ ।


इन्सेक प्रदेश १, कार्यालय विराटनगर