प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– सुनसरी निर्वाचन क्षेत्र नं. ४ मा स्थगित मतगणना तीनदिनपछि सुचारू, इन्सेकद्वारा अनुगमन

  ०७९ मङ्सिर १३ गते

सुनसरी निर्वाचन क्षेत्र न.४ को मतगणना रोकिएको विषयमा इन्सेक प्रदेश १ कार्यालयले मङ्सिर १३ गते स्थलगत अनुगमन गरेको छ ।

इन्सेकका पूर्व अध्यक्ष सुबोधराज प्याकुरेल, इन्सेक प्रदेश १, प्रमख सोमराज थापासहितको टोलीले मतगणनास्थलमा पुगेर निर्वाचन कर्मचारी, उम्मेदवार र स्थानीयसँग मतगणनामा भएको विवादका विषयमा जानकारी लिएको इन्सेक प्रदेश १, प्रमुख सोमराज थापाले बताउनु भयो ।

अनुमगन टोलीले विवादलाई निर्वाचन आयोगको निर्देशन अनुसार सुचारू गर्न उम्मेदवारहरूलाई आग्रह गरेको प्रमुख  थापाले बताउनु भयो ।

मङ्सिर १० गते दिउँसोबाट स्थगित भएको सुनसरी निर्वाचन क्षेत्र नं. ४ को प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना कार्य तीनदिनपछि सुचारू गरिएको छ ।

मतगणनामा त्रृटि भएको भन्दै पुनः मतगणनाको माग गर्दै नेपाली कांग्रेसका उम्मेदवार तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्सिर ११ गते दिनु भएको निवेदन उपर सुनुवाई गर्दै निर्वाचन आयोगले दिएको निर्देशन अनुसार मङ्सिर १३ गते सर्वदलीय बैठक बसेर साढे चार बजेबाट मतगणना कार्य सुचारू गरिएको हो ।

उम्मेदवारहरूसहितको सर्वदलीय बैठकबाट सीसीटिभी फुटेज हेर्ने प्रस्ताव आएकाले त्यसै अनुसार सीसीटिभी फुटेज हेर्ने काम मध्यान्हृसम्म भएको, यसअघि जारी गरिएको गणक परिचय पत्र खारेज गरी नयाँ परिचय पत्र जारी गरेको, गणनामा खटिएका यसअघिका सबैलाई निकालेर सुनसरी जिल्ला अदालतका मात्रै कर्मचारीलाई गणनामा खटाएर दिउँसोबाट मतगणना कार्य सुचारू गरिएको सहायक निर्वाचन अधिकृत मोहनबहादुर अधिकारीले बताउनु भयो ।

मङ्सिर १२ गते निर्वाचन आयोगका उपसचिव ऋषिराम भुसालले हस्ताक्षर गर्नुभएको निर्देशन पत्रमा यसअघि मतगणना गर्दा सिसिटिभी भएको भए त्यसको फुटेज सम्बन्धित पक्षले हेर्न चाहेमा देखाउन र सुरक्षित राख्न पनि भनिएको छ ।

आयोगको पत्रमा ’प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ दुवैको दफा ५७ को उपदफा (१) बमोजिम कुनै मतदान केन्द्रको मतगणना समाप्त नहुँदै वा गणना गरिएको मतपत्र सिलबन्दी हुनु पहिले सम्बन्धित निर्वाचन क्षेत्रको कुनै उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले केही वा सबै मतपत्र पुन गणना गरिपाउँ भनी तत्काल निर्वाचन अधिकृतसमक्ष कारणसहित निवेदन दिएमा उक्त मतदान केन्द्रको मतगणना भइनसकेको वा गणना भएको मतपत्र सिलबन्दी भइ नसकेको भए ऐनको उपदफा (२) बमोजिम दोहोर्‍याइ मतगणना गर्न सक्ने कानुनी व्यवस्था भएकाले निर्वाचन अधिकृतले गणना गर्न सक्ने तर कुनै मतदान केन्द्रको मतगणना भई मतपत्रहरू सिलबन्दी भइसकेको भए उक्त सिलबन्दी मतपत्रहरू खोली पुनः मतगणना गर्न सक्ने कानुनी आधार नदेखिएकाले उपदफा (३) बमोजिमको सूचना दिई मतगणना कार्य सुचारू गर्न गराउन तथा मतगणनास्थलमा सिसिटिभी रहेको भए सोको फुटेजसमेत सुरक्षित राखि सम्बन्धित पक्षले हेर्न चाहेमा देखाउने व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिने भन्ने आयोगबाट मिति मङ्सिर १२ गते निर्णय भएकाले निर्णयानुसार हुन अनुरोध छ ।’’

Photo 20221129 sunsari


जयकृष्ण यादव