प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– सुनसरी निर्वाचन क्षेत्र न.४ को मतगणना अनिश्चित

   ०७९ मङ्सिर १२ गते

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ को मतगणका क्रममा धाँधली भएको आशङ्कामा रोकिएको सुनसरी निर्वाचन क्षेत्र न.४ को मतगणना अनिश्चित भएको छ ।

इनरूवा नगरपालिका–१ स्थित भगवती माध्यमिक विद्यालयमा मतगणनाका क्रममा धाँधली भएको आशङ्कामा नेपाली कांग्रेसले मतगणना स्थगित गरेर सर्वदलीय बैठक डाकेपनि निकास नआउँदा मतगणना अनिश्चित भएको छ ।

मङ्सिर ९ गते  निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम सूचीमा नेकपा एमालेको मत परिणाममा ६ सय ६ मत थप गरी सार्वजनिक गरेपछी नेपाली कांग्रेसले निर्वाचन आयोगबाट खटिएका कर्मचारीहरूले धाँधली गरेको आरोपमा मतगणना स्थगित गर्न माग गरेपछि मतगणना रोकिएको छ ।

बराहक्षेत्र नगरपालिका–८ को मतगणना सम्पन्न भएपछि सार्वजनिक गरेको मत परिणाममा बराहक्षेत्र नगरपालिका–८ मा ६ सय ६ मत थप गरी २० हजार २ सय ११ मत परिणाम मुख्य निर्वाचन अधिकृतको कार्यालय इनरूवाले सार्वजनिक गरेको थियो ।

मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले त्रुटि भएको स्वीकार गर्दै मतगणना समयसम्म आ–आफ्नो ठाँउबाट सहयोग गर्न अपिल गर्नु भएको छ ।

नेपाली कांग्रेसबाट सुनसरी निर्वाचन क्षेत्र न.४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहनु भएका सञ्चार तथा सूचना प्रविधि एवम् कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, नेकपा एमालेका तर्फबाट उम्मेदवार रहनु भएका जगदीशप्रसाद कुसियैतलगायतका विभिन्न पार्टीका नेताहरूको सर्वदलीय बैठकमा सहभागिता रहेपनि निकास नस्किदा मतगणना अनिश्चित भएको छ ।

मङ्सिर १० र ११ गते निर्वाचन आयोगसँग सर्वदलीय बैठक राखेपनि समस्याको समाधान नभएपछि प्रतिनिधिसभा उम्मेदवार ज्ञानेन्द्र कार्कीले मङ्सिर ११ गते पुन मतदान गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनु भएको छ ।

उम्मेदवारको निवेदनपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगलाई निर्णयको अधिकार हुने भएकाले निर्वाचन आयोगलाई निवेदन पठाएको र आयोगको निर्णयपछि मात्र मतगणना वा पुन मतदान टुङ्गो लाग्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


जयकृष्ण यादव