प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९- मतगणना अपडेट

  ०७९ मङ्सिर ५ गते

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ को प्रदेशका केही जिल्लामा मतगणना सुरु भएको छ ।

मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार मोरङ क्षेत्र नं. २ मा हाम्रो नेपाली पार्टीका उम्मेदवार विनोदमणि भट्टराईले मतगणना बहिस्कार गरेका छन् । मङ्सिर ५ गते सर्वदलीय बैठकमा स्वस्तिक छाप र ल्याप्चे दुवै लागेको मतपत्रलाई पनि सदर गर्ने भनिएपछि आफूले बैठक बहिस्कारको निर्णय गरेको उम्मेदवार भट्टराईको भनाइ छ ।

तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार निर्वाचन क्षेत्र न. १ क को छथर गाउँपालिका–१ आङदिम वडा कार्यालयमा मङ्सिर ५ गते मतगणना गर्ने क्रममा ९२ ओटा मतपत्र प्रतिनिधिसभातर्फ नगएर प्रदेशसभा तर्फ गएको फेला परेपछि मङ्सिर ५ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय र राजनीतिक दलबिच भएको सर्वदलीय बैठकले मङ्सिर ६ गते पुन मतदान गर्ने गरी निर्वाचन कार्यालयलाई लेखेको पत्रको जबाफमा निर्वाचन आयोगले तत्काल पुन मतदान गर्न आदेश दिएको छ । मङ्सिर ६ गते बिहान ७ बजे पुन सर्वदलीय बैठक राख्न आयोगले निर्देशन जारी गरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मङ्सिर ५ गते साँझ सर्वदलीय बैठक आवह्वान गर्दै सार्वजनिक सूचना जारी गरेको छ । सर्वदलीय बैठकबाट र आयोगको निर्देशन अनुसार अर्को निर्णय गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी दीपक भण्डारीले जानकारी दिनु भएको छ ।

सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका चीनसँग सीमा जोडिएको उत्तरी क्षेत्र भोटखोला गाउँपालिको मतपेटिका हेलिकप्टर मार्फत ल्याइने भएको छ । भोटखोला गाउँपालिकाको किमाथाङ्का,थुदाम र रिदाक मतदान केन्द्रको मतपेटिका हेलिकप्टर मार्फत ल्याइने भएको हो । भौगोलिक रुपमा विकट र दुर्गम मानिएको भोटखोला गाउँपालिकाको दुधपोखरी आधारभूत विद्यालय थुदाम, हिमालय आधारभूत विद्यालय किमाथांका र ज्योती आधारभूत विद्यालय रिदाक मतदान केन्द्रको मतपेटीको मङ्सिर ५ गते हेलिकप्टर मार्फत ल्याउने साहयक निर्वाचन अधिकृत डाक्टर इन्द्र सापकोटाले बताउनु भयो । सडक सञ्जाल नजोडिएको र भौगोलिक हिसावले निकै विकट सो क्षेत्रको मतपेटिका हेलिकप्टर मार्फत ल्याउन लागिएको साहयक निर्वाचन अधिकृत सापकोटाले बताउनु भयो ।

सोलुखुम्बु प्रतिनिधि अञ्जु कार्कीका अनुसार  ६ ओटा स्थानीय तहको मतपेटिका सल्लेरी ल्याइएको छ । लिखुपिके गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिका बाहेकका १ सय १९ ओटा मतदानकेन्द्रको मतपेटिका सल्लेरी आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिकाको वडा नम्बर १ को २ वटा मतदान केन्द्रको मतपेटिका गाडी मार्फत ल्याइएको छ भने ९ वटा मतदान केन्द्रको मतपेटिका हेलीकप्टर मार्फत ल्याउने तयारी भइरहेको साहायक निर्वाचन अधिकृत नगेन्द्र कुमार कालाखेतीले जानकारी दिनुभयो । लिखुपिके गाउँपालिकाको ७ वटा मतदान केन्द्रको मतपेटिका गाडी मार्फत ल्याइदै छ । मङ्सिर ४ गते सम्पन्न मतदानमा सोलुखुम्बुमा ४८ दशमलव ३८ प्रतिशत मत खसेको छ । ८१ हजार ५ सय २ जना मतदाता रहेको जिल्लामा करिब ४० हजारले मतदान गरेको बताइएको छ । राजनितिक दलहरुसँग मङ्सिर ५ गते सर्वदलीय बैठक गरी मतगणना सुरु गरिने तयारी रहेको बताइएको छ । सोलुखुम्बुको मतगणना जिल्ला समन्वय समितिको हलमा गरिनेछ ।

मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार मोरङमा सर्वदलीय बैठक सकिएको छ । मोरङको निर्वाचन क्षेत्र नं. ४, ५ र ६ को १ बजेबाट मतगणना हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


इन्सेक प्रदेश १, कार्यालय