प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९- इन्सेकद्वारा प्रदेश १ मा १ सय बढी पर्यवेक्षक सञ्चालन

  ०७९ मङ्सिर ४ गते

इन्सेकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ०७९ को देशभर पर्यवेक्षण गर्दैछ ।

photo 20220909 Morang

इन्सेक प्रदेश १, कार्यालय विराटनगरले प्रदेश १ का १४ ओटै जिल्लामा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ को आज निर्वाचन पर्यवेक्षण गर्दैछ ।

प्रदेश १ मा ४७ जना महिला पर्यवेक्षकसहित १ सय २१ जना पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्ने इन्सेक प्रदेश १ प्रमुख सोमराज थापाले बताउनु भयो ।

इन्सेकले नेपालमा ०४७ सालमा ग्रामीण मतदाता सचेतन कार्यक्रम सञ्चालन गरी ०४८ सालदेखि निर्वाचन पर्यवेक्षण गर्दै आएको छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा ५० ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले “निर्वाचन पर्यवेक्षण कार्यविधि, २०७९” जारी गरेको छ ।

नेपालको संविधान र निर्वाचन सम्बन्धी सङ्गघीय कानून बमोजिम निर्वाचन आयोगले सञ्चालन गर्ने निर्वाचनको समग्र व्यवस्थापन र निर्वाचनको विश्वसनीयता अभिवृद्धि गर्न निर्वाचन पर्यवेक्षण कार्यविधि जारी गरी सरकारले निर्वाचन पर्यवेक्षण गर्ने व्यवस्था मिलाई निर्वाचन पर्यवेक्षण गर्दै आएको छ ।

आयोगले जारी गरेको कार्यविधिमा पर्यवेक्षण भन्नाले निर्वाचनको समयमा स्वतन्त्र राष्ट्रिय वा अन्तर्राष्ट्रिय पर्यवेक्षकमार्फत गराइने अनुगमन र सुपरिवेक्षण गर्ने कार्यलाई सम्झनु पर्छ भनि परिभाषित गरेको छ ।

इन्सेकले ०४७ सालको निर्वाचनदेखि राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोगसँग मिलेर ०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ को निर्वाचन पर्यवेक्षण सम्पन्न गरेको छ ।

पर्यवेक्षकहरुले निर्वाचनसँग सरोकार राख्ने पक्षसँग संवाद गर्न पाउने निर्देशिकामा व्यवस्था छ । उनीहरुले मतदाताको आवत जावत, निर्वाचन सामग्रीहरूको ओसार–प्रसार, मतदान प्रक्रिया, मतगणना, निर्वाचन परिणामसमेतका विषयमा पर्यवेक्षण गर्ने जिम्मेवारी तोकिएको छ ।

नेपालले नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी सन् १९६६ लाई विस ०३२ चैत १० गते पक्ष राष्ट्रको रूपमा अनुमोदन गरी लागू गरेको छ ।

नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धीले धारा २५ मा प्रत्येक नागरिकलाई प्रत्यक्ष रूपमा वा स्वतन्त्र रूपमा प्रतिनिधि छनौट गर्न वा छानिएका प्रतिनिधिहरूमार्फत् सार्वजनिक जीवन सञ्चालनमा भाग लिने पाउने अधिकार सुनिश्चित गरेको छ ।

सोही धारामा सर्वव्यापी तथा समान मताधिकारबाट र गोप्य मतदानबाट मतदाताहरूको इच्छाको स्वतन्त्र अभिव्यक्तिको प्रत्याभूति गर्ने निर्वाचनहरूमा मतदान गर्ने र निर्वाचित हुने अधिकारलाई सुनिश्चित गरेको छ ।

नेपाल संविधानले भाग २४, धारा २४५ मा निर्वाचन आयोगलाई संवैधानिक निकायका रूपमा व्यवस्था गरेको छ । निर्वाचन आयोगले १८ वर्ष पुरा भएका प्रत्येक नागरिकलाई बालिग मताधिकारको अधिकार प्रदान गरेको छ । निर्वाचन आयोगले बालिग मताधिकारलाई नागरिक अधिकार भनि परिभाषित गरेको छ ।

प्रदेश १ मा १६ लाख ९९ हजार ८ सय जना पुरूष मतदाता, १६ हजार ४७ हजार ५ सय ६१ जना महिला मतदाता र अन्य २३ जना गरी ३३ लाख ४७ हजार ३ सय ८४ जना मतदाता प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट सहभागी हुँदैछन् ।

प्रदेश १ मा निर्वाचन क्षेत्र प्रदेशसभातर्फ ५६ र प्रतिनिधिसभातर्फ २८ छन् । आज हुने निर्वाचनबाट प्रदेश १ मा प्रत्यक्षतर्फ ५६ र समानुपातिकतर्फ ३७ जना गरी ९३ जना सांसद निर्वाचन हुने छन् ।


इन्सेक प्रदेश १, कार्यालय विराटनगर