प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९–‘स्थिर समय’ मा पनि हटाइएन निर्वाचन प्रचार सामग्री

  ०७९ मङ्सिर ३ गते

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा निर्वाचन ०७९ का लागि आयोगले मङ्सिर १ गते मध्यरातिदेखि जारी गरेको  ‘स्थिर समय’मा पनि जिल्लामा राजनीतिक दलले निर्वाचन प्रचारप्रसारका लागि राखेका सामग्री हटाएका छैनन् ।
राजनीतिक दल र स्वतन्त्रका उम्मेदवारहरूले सार्वजनिक स्थानहरूमा तोरण, व्यानर र झण्डा राखेको भएपनि स्थिर समय अवधिमा समेत नहटाइएको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।
इन्सेक पर्यवेक्षकहरूले मङ्सिर ३ गते गरेको अनुगमनका क्रममा विद्युतीय पोलमा झुण्ड्याएर राखेको झण्डा, तोरण, व्यानर, दलको झण्डा हटाएको छैन् ।
निर्वाचनका बेला  गाउँशहरको स्वरूप नै बिगार्ने गरी निर्वाचन अचारसंहिता विपरित चुनावी प्रचारप्रसार गरिएको छ ।
स्थिर समयमा पनि उम्मेदवारहरूले सार्वजनिक ठाउँमा राखेका फ्लेक्स, पोस्टर, ब्यानर, झण्डा नहटाइएको अनुगमनका क्रमम पाइएको छ ।
नेकपा एमालेबाट निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार भीमप्रसाद आचार्य र प्रदेश २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार रामप्रसाद मेहताका कार्यकर्ताहरूले इनरुवा नगरपालिका–९ बबियाको यादवटोल सहित गाउँभरी नै पार्टीको झण्डा स्थिर समयमा टाँगेको पाइएको छ ।
नेपाली काग्रेंसबाट निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सिताराम मेहता र प्रदेश २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार राजीव कोइरालाका कार्यकर्ताहरूले इनरूवा नगरपालिका–९ बबियाको भगवती मन्दिरसहित गाउँभरी नै पार्टीको झण्डा र चुनाव चिन्हृ भएको झण्डा टाँगेको पाइएको छ ।
सुनसरी निर्वाचन क्षेत्र नं.४ मा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र प्रदेशसभा ४ (ख) उम्मेदवार हाजी इसराइल मसुरीका कार्यकर्ताहरूले निर्वाचन आचारसंहिता ०७९ उल्लङ्घन गरेको पाइएको छ ।
उम्मेदवार कार्की र मसुरीका समर्थक तथा कार्यकर्ताले सार्वजनिक भवन, विद्युतीय पोललगायतका सार्वजनिक स्थानमा पर्चा टाँस्ने, तोरण राख्ने काम र व्यानर झुण्ड्याउने काम जारी राखेका छन् ।
निर्वाचन क्षेत्र न. ४ मा नेकपा एमालेका प्रदेशसभाका उम्मेदवार जगदिशप्रसाद कुसियैतका कार्यकर्ताले निर्वाचन आचारसंहिता विपरित राखेको झण्डाहरू स्थिर समयका बेलासमेत नहाटाएको पाइएको छ ।
स्थिर समयमा बेला समेत चुनावी प्रचारप्रसारका लागि राखेका झण्डा, तुल, व्यानर नहटाइएको इन्सेक पर्यवेक्षक जानकी सिवाकोटीले बताउनु भयो ।
उम्मेदवार कुसियैतका कार्यकर्ताले कोशी गाउँपालिका र भोक्राहा गाउँपालिकाका ऐतिहासिकस्थल वा सार्वजनिकस्थलको भवन, पर्खाल, सडकमा प्रचारप्रसार सामग्री टाँगेको पाइएको छ ।
निर्वाचन आचारसंहिता ०७९ मा धार्मिक, साँस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचना लगायतका कुनै पनि सार्वजनिक स्थानमा पर्चा टाँस्न वा टाँग्न निषेध गरिएको छ ।
स्थिर समयमा पनि जिल्लाका अधिकांश दलले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै स्वास्थ्य संस्था, अस्पताल, मन्दिर, सरकारी कार्यालय, चोक, पार्कमा निर्वाचन सामग्री राखेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थिर समयमा चुनावी सामग्री हटाउन निर्देशन दिएको भएपनि दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारको निर्देशनको अवज्ञा गरेका छन् ।

Photo 20221119 Sunsari (1)

Photo 20221119 Sunsari (4)

Photo 20221119 Sunsari (2)

  Photo 20221119 Sunsari (5)


जयकृष्ण यादव