प्रदेश सभाका उम्मेदवार चढेको गाडी तोडफोड

  ०७९ मङ्सिर २ गते

प्रतिनिधि सभा निर्वाचन २ नम्बर  क्षेत्रको प्रदेश सभा (ख) का सत्ता गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँ चढेको गाडीमा तोडफोड भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी मकवानपुरले उम्मेदवार बानियाँ चढेको गाडीमा हेटौँडा उपमहानगरपालिका–१९ दालिमटार नजिक पूर्वपश्चिम राजमार्गमा तोडफोड गरेको हो ।

Makawanpur Photo 2

घटनापछि नेकपा मकवानपुरले विज्ञप्ति जारी गरेर बानियाँमाथि कारबाही गरेको दावी गरेको छ । घटनामा सम्लङ्नहरूको खोजी भइरहेको मकवानपुरका प्रहरी डिएसपी टेकबहादुर कार्कीले बताउनुभयो ।

नेपाली कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहेका बानियाँलाई उनी चढ्ने गाडीमा तोडफोड गरेर कारबाही गरेको नेकपा मकवानपुरले विज्ञप्तिमा जनाएको छ । नेकपा मकवानपुरको लेटरप्याडमा उदिप सीद्वारा जारी विज्ञप्तिमा बानियाँ चढेको गाडीमाथि तोडफोड गरेर कारबाही गरिको भन्दै बानियाँलाई कारबाही किन ? भनेर उल्लेख गरिएको छ ।

बानियाँमाथि नेकपा मकवानपुरले गिङु खानीमा स्थानीय जनताको मुआब्जा बिना र अदालतको निर्णय विपरीत खानी सञ्चालन गरेको, जनताको हित विपरीत शिवम् सिमेन्टको खानीको ढुङ्गा उत्खनन गरी ढुवानी गरेको, चुनावका लागि पैसा खर्च गरेर मतदाता खरिद गरेको आरोप लगाएको छ । बानियाँलाई यस अघि मनहरी गाउँपालिकामा आफ्नै पार्टीका कार्यकर्ताले कालो झण्डासमेत देखाएका थिए ।

Makawanpur Photo1


पुष्पराज अधिकारी