प्रदेश शहिद पार्क स्थापना गर्न ध्यानाकर्षण

  ०७८ असोज २० गते

द्वन्द्वपीडित र अधिकारकर्मीको टोलीले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदेश शहिद पार्क स्थापना गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री सीता नेपालीलाई असोज २० गते भेटेर टोलीले यस्तो ध्यानाकर्षण गराएका हुन ।

इन्सेक सुर्खेतको पहलमा गएको टोलीले शहिदहरूको नाममा प्रदेश राजधानी वीरेन्द्रनगरमा शहिद पार्क, प्रदेश संग्रहालय निमार्ण गर्नुपर्ने र शशस्त्र द्वन्द्वबाट पीडित  बालबालिकाहरूलाई निःशुल्क अध्ययन गर्न पाउने कानुन बनाउनुपर्ने माग पनि राखेका थिए ।

यस्तै टोलीले द्वन्द्वको समयमा यौन हिंसामा परेका महिलाहरूको गोपनियतालाई ध्यान दिँदै राहत तथा घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गराउनु पर्ने  मन्त्री समक्ष माग राखेका थिए ।

Photo20211006 Skt 1

टोलीको ध्यानाकर्षणपछि आन्तरिक मामिला तथा कानुन मन्त्री सीता नेपालीले मन्त्रालयले सशस्त्र द्वन्द्वका घाइते तथा अपाङ्गताहरूको निःशुल्क उपचार गर्न कार्यविधी निमार्ण गरिसकेको र यसैको आधारमा दिगो कानुन निमार्ण गर्ने तयारी गरिरहेको उल्लेख गर्नु भयो ।

भेटघाटको क्रममा सबैखाले द्वन्द्वमा परेका पीडितहरूलाई राहत तथा न्याय दिने राज्यको प्रमुख दायित्व भएको इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले बताउनु भयो ।

टोलीमा संयोजक सुवेदी, द्वन्द्व पीडित साझा चौतारी कर्णाली प्रदेशका संयोजक सितलासिंह राठौर, कानुन व्यवसायी तेज बोहोरा र इन्सेक सुर्खेतका फोकल पर्सन दुर्गा थापा रहनु भएको थियो ।

Photo20211006 Skt 2

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत