प्रदेश र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा हुन सक्छःनिर्वाचन आयोग

  ०७४ भदौ ६ गते

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी मङ्सिर १० गतेका लागि तोकिएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा हुन सक्ने बताएका छन् ।

प्रमुख आयुक्त यादवले मुलुकको भौगोलिक अवस्था र निर्वाचनको तयारीलगायतका प्राविधिक कारणले मङ्सिर १० गतेका लागि तोकिएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन अर्को चरणमा पनि हुन सक्ने बताएका हुन् ।

'मङ्सिर ४ गते भएको संविधानसभा निर्वाचनमा हिमाली जिल्लाहरूमा हिउँ परेको थियो । अहिले पनि त्यो सम्भावना छ । प्राकृतिक चुनौति आइपरे हामी दोस्रो चरणमा जानैपर्छ ।'-उनले भने ।

यादवले आफूहरूले भौगोलिक अवस्था र निर्वाचनको प्राविधिक तयारीको अवस्थालाई मध्यनजर गरेर सरकारलाई मङ्सिर ४ र २१ गते गरी दुई चरणको निर्वाचनको प्रस्ताव गरेको समेत स्पष्ट पारे ।

उनले हालसम्म पनि निर्वाचनका लागि आवश्यक पर्ने ऐन प्राप्त नभएको भन्दै सरकारसँग तत्कालै ऐन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन उपलब्ध गराउन माग गरे । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनका लागि प्रयाप्त समय आवश्यक पर्ने भन्दै सो विषयमा सरकारले ध्यान दिनु पर्ने बताए ।

यादवले आउँदो निर्वाचनमा मतपत्रको व्यवस्थापन सबैभन्दा ठूलो चुनौति भएको बताउँदै दुई ओटा मतपत्रमार्फत निर्वाचन गराउने तयारीमा रहेको बताए ।


सुभाष साह