प्रदेश नम्बर ५ मा स्थानीय तहको उम्मेदवारी दर्ता सम्पन्न
प्रदेश नम्बर ५ अन्तर्गतका ६ जिल्लामा असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ ।
प्रदेश नम्बर ५ अन्तर्गतका बाँके, बर्दिया, दाङ, रोल्पा, प्यूठान र रूकुम जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलका प्रतिनिधिहरूले उम्मेदवारी दिएको समाचार इन्सेकका सम्बन्धित जिल्ला प्रतिनिधिले जानकारी गराएका छन् ।
इन्सेक जिल्ला प्रतिनिधिहरूले स्थानीय तहको उम्मेदवारी दर्ता कार्यक्रमको प्रत्यक्ष अनुगमन गरेका थिए । बाँकेको बैजनाथ गाउँपालिकाबाहेक अन्य जिल्लाका स्थानीय तहमा शान्तिपूर्वक उम्मेदवारी दर्ता भएको पाइएको छ । उम्मेदवारी दर्ताका क्रममा बाँके जिल्लामा राजनीतिक दलहरूले बालबालिकाको प्रयोग गरेका थिए ।
रूकुम जिल्ला प्रतिनिधि आदर्श केसीका अनुसार तीन ओटा स्थानीय तहमा मनोनयन दर्ता शान्तिपूर्ण रूपले सम्पन्न भएको छ । नौ ओटा स्थानीय तहमध्ये वैशाख ३१ गते ६ ओटा स्थानीय तहमा निर्वाचन भइसकेको छ ।
दोस्रो चरणको निर्वाचनको लागि सिस्ने, भुमे र पुथाउतरगङ्गा गाउँपालिकामा शान्तिपूर्ण तरिकाले मनोनयन दर्ता गरेको जिल्ला प्रहरी कार्यालय रूकुमका इन्स्पेक्टर थमन रम्जालीले जानकारी दिए । तर, अबेरसम्म कहाँ कति को उम्मेद्धवार भए भन्ने नामावली सञ्चार असुविधाका कारण आइनसकेको इन्स्पेक्टर रम्जालीले जानकारी दिए । पूर्वी रूकुममा केही दिनदेखि सञ्चार सुविधामा समस्या हुँदा समयमै खबर प्राप्त गर्न समस्या भइरहेको छ ।
रोल्पा जिल्ला प्रतिनिधि माधव ओलीका अनुसार रोल्पामा उत्साहका साथ उम्मेदवारी दर्ता सम्पन्न भएको छ भने थबाङमा नेपाल कम्युनिष्ट पार्टी निकटका कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएका छन् । २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनका लागि रोल्पामा पर्व मनाए झैँ उत्साहका साथ उम्मेदवारी दर्ता गराएका छन् ।
१० वर्षे सशस्त्र द्वन्द्वको उद्गम थलो रोल्पामा वर्षौँ देखिको प्रतिक्षापछि निर्वाचन हुन लागेकोमा विभिन्न दलका नेताहरूले उत्साहका साथ उम्मेदवारी दिएका हुन् ।
नौ गाउँपालिका र एक नगरपालिका रहेको रोल्पामा नगरपालिकामा मेयर पदमा ठूला तीन दलसहित स्वतन्त्र तीन जनाको उम्मेदवारी परेको छ ।
रोल्पाको थबाङमा स्वतन्त्र उम्मेदवार
संविधान सभाको दास्रो निर्वाचनमा 'शून्य' मतदान गरेको थबाङमा दुई ओटा स्वतन्त्र उम्मेदवारी परेको छ । निर्वाचन बहिष्कार गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी नेता अमित घर्तीमगरले थबाङ गाउँपालिकाको प्रमख पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै उक्त गाउँपालिकाको प्रमुखमा भक्तबहादुर घर्तीले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । साविकको थबाङ गाविस नेकपाको वर्चस्व रहेको मानिन्छ । यस्तै थबाङ गाउँपालिकाको प्रमुख पदमा काङ्ग्रेसले उम्मेदवारी दिएको छैन । उपप्रमुख र अन्य पदमा मात्रै काङ्ग्रेसले उम्मेदवारी दिएको छ । काङ्ग्रेसले प्रमुखमा भने स्वतन्त्र उम्मेदवार अमित घर्तीमगरलाई मतदान गर्ने काङ्ग्रेसबाट उपप्रमुखका उम्मेदवार श्रीकुमारी रोकाले बताइन् । यस्तै थबाङ गाउँपालिकामा नेकपा एमाले, माओवादी केन्द्रलगायत अन्य साना दलहरूले पनि विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
दाङ जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार दुई उमनपा, एक नपा र सात गाउँपालिकामा हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि असार ४ गते राजनीतिक दलहरूले शान्तिपूर्ण र उत्साह पूर्वक उम्मेदवारी दर्ता गराएका छन् ।
बाँके जिल्ला प्रतिनिधि विनोद पाण्डेका अनुसार जिल्लामा सबै गाँउपालिकामा उम्मेदवारी दर्ता सम्पन्न भएको छ । राजनीतिक दलहरूले बाजा गाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका छन् । नेपाली काङ्ग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, फोरम लोकतान्त्रिक, सङ्घीय समाजवादी फोरमलगायतले आचारसंहिता विपरीत र्यालीमा बालबालिकाहरूको प्रयोग गरेका छन् ।
माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताबीच झडप
बाँकेको बैजनाथ गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिच असार ४ गते झडप भएको इलाका प्रहरी कार्यालय चिसापानीका इन्स्पेक्टर कमल रजौरेले बताए । झडपमा दुई जना प्रहरीसमेत सात जना घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुरेश काफ्लेले बताए । झडपलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड अश्रु ग्याँस र एक राउण्ड हवाइ फायर गरेको प्रत्यक्षदर्शी दलबहादुर सुनारले बताए । पुनः झडप हुने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले थप सुरक्षाकर्मी परिचालन गरेपछि स्थिति सामान्य बनेको थियो ।
बर्दिया जिल्ला प्रतिनिधि मानबहादुर थारूका अनुसार जिल्लामा शान्तिपूर्ण तरिकाले उत्साहजनक रूपमा मनोनयन दर्ता सम्पन्न भएको छ । जिल्लाको आठ ओटा स्थानीय तहमा असार ४ गते राजनीतिक दल र स्वतन्त्र उमेदवारहरूले शान्तिपूर्ण तरिकाले उत्साहजनक रूपमा आ-आफ्नो मनोनयन दर्ता गराएका हुन् ।
बर्दिया जिल्लामा गुलरिया नपा, बाँसगढी नपा, राजापुर नपा, मधुवन नपा, ठाकुरबाबा नपा, बारबर्दिया नपा, गेरूवा गाउँपालिका, बढैयाताल गाउँपालिका गरी आठ तहमा असार १४ गते निर्वाचन हुँदै छ ।
मनोनयन दर्ता गर्न आएका जुलुसहरूमा आचारसंहिता विपरीत टिसर्ट लगाउनुको साथै झण्डा बोकाएर बालबालिकाहरूको पनि प्रयोग भएको थियो ।
यसैबीच बर्दियामा राजपाका कार्यकर्ता केशव यादव, अशेश्वर ठाकुर र सुरेश शुक्लालाई असार ३ गते प्रहरीले गुलरियाबाट गिरफ्तार गरेको छ । उनीहरूको विषयमा प्रहरीले कुनै प्रतिकृया दिएको छैन । जिल्लामा शान्ति सुरक्षाको राम्रो व्यवस्थाका लागि बाक्लो रूपमा सुरक्षाकर्मी खटाइएको थियो । कुनै पनि ठाउँमा कुनै किसिमको घटना नभएको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी भरतबहादुर बोहराले बताए ।
प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार जिल्लाका नौ ओटा स्थानीय तहमा शान्तिपूर्वक उत्साहजनक रूपमा राजनीतिक दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यालयले दलहरूलाई पालैपालो उम्मेदवारी दर्ताको प्रकृया मिलाएको हुँदा जिल्लामा कुनै अप्रिय घटना भएन । उम्मेदवारी दर्ताको अनुगमन राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जको एक टोलीले गरेको थियो ।
इन्सेक क्षेत्रीय कार्यालय, नेपालगञ्ज
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…