प्रदेश नम्बर १ का जिल्लाहरूमा भ्रष्टाचारविरूद्ध हस्ताक्षर अभियान सम्पन्न
प्रदेश नम्बर १ का अधिकांश जिल्लाहरूमा भ्रष्टाचारविरूद्धको हस्ताक्षर अभियान सम्पन्न भएको छ । जिल्ला प्रतिनिधिहरूका अनुसार अधिकांश जिल्लाहरूमा निर्वाचित जनप्रतिनिधिहरू, प्रशासनिक निकायका प्रतिनिधि, नागरिक समाज र सञ्चारकर्मीहरूको उपस्थितिमा हस्ताक्षर अभियान सम्पन्न गरिएको हो । हस्ताक्षर गरिएको व्यानर निर्वाचित जनप्रतिनिधि एवम् प्रशासनिक निकायमा हस्तान्तरण गरिएको छ ।
मोरङ जिल्ला प्रतिनिधि इन्दिरा भट्टराईका अनुसार मोरङमा इन्सेक क्षेत्रीय कार्यालय विराटनगरको आह्वानमा हस्ताक्षर अभियान सम्पन्न गरिएको हो । विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले हस्ताक्षर गरेको व्यानर सामूहिक रूपमै प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई हस्तान्तरण गरेको इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापाले बताए । हस्ताक्षर बुझदै प्रमुख जिल्ला अधिकारी आचार्यले इन्सेकले उठान गरेको भ्रष्टाचारविरूद्धको अभियानमा आफू पनि गम्भीर रहेको बताउँदै आफू रहुञ्जेलको अवस्थासम्म यस विषयमा दृढतापूर्वक लागिरहने बताए ।
झापा जिल्ला प्रतिनिधि अर्जुन बस्नेतका अनुसार झापामा भ्रष्टाचार विरूद्धको हस्ताक्षर अभियान जिल्ला समन्वय समिति झापाको सभाकक्षमा सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी खेमराज ओझा, सहायक प्रजिअ भिम तिवारी, जिल्ला शिक्षा अधिकारी योगेन्द्र बराल, जनस्वास्थ्य कार्यालयका प्रमुख मधुसुदन कोइराला, जिल्ला वन कार्यालयका प्रमुख वोधराज सुवेदीलगायत स्थानीय मानव अधिकारकर्मी, सङ्घसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरूले हस्ताक्षर गरेको व्यानर सहायक प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई पठाइएको छ ।
इलाम प्रतिनिधि कोकिला ढकालका अनुसार इन्सेकले सुरू गरेको भ्रष्टाचारविरूद्ध हस्ताक्षर अभियान इलाममा सम्पन्न भएको छ । इलाम जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले भदौ २३ गते बिहान १० बजे 'म सबै खाले भ्रष्टाचारको विरोध गर्दै सदाचारप्रति प्रतिवद्ध छु' भन्ने वाक्यांश वाचन गरेर अभियानको सुरू गरे ।
भ्रष्टाचार विरूद्ध शुन्य सहनशीलता, म सबै खाले भ्रष्टाचारको विरोध गर्दै सदाचारप्रति प्रतिबद्ध छु राष्ट्रिय हस्ताक्षर अभियानको व्यानरमा हस्ताक्षर गर्दै प्रमुख बरालले इलामलाई भ्रष्टाचार मुक्त गराउन जिल्लाका १० ओटै स्थानीय तहमा शुसासन र पारदर्शितासम्बन्धी नीति कडाइका साथ अवलम्बन गराउने प्रतिवद्धता जनाए ।
उनले भने-'म आफू त कहिल्यै भ्रष्टाचार गर्दिनँ । अरूलाई पनि भ्रष्टाचार नगर्न प्रेरित गर्नेछु ।' अभियानप्रति ऐक्यवद्धता जनाउँदै जिल्लास्थित अधिकारकर्मी, सञ्चारकर्मी, गैससरकारी संस्थाका प्रतिनिधि, विद्यार्थी, सर्वसाधारण गरी १ सय भन्दा बढीले हस्ताक्षर गरेका छन् । सङ्कलन गरिएको हस्ताक्षर प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेललाई बुझाइएको थियो ।
पाँचथर जिल्ला प्रतिनिधि मङ्गल बेघाका अनुसार जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले भ्रष्टाचार निवारण गर्न आफू र मातहतका निकाय प्रतिवद्ध रहेको बताए । इन्सेक पाँचथरले भ्रष्टाचार विरूद्ध शुन्य सहनशीलताका लागि सञ्चालन गरेको राष्ट्रिय हस्ताक्षर अभियान अन्तर्गत सङ्कलन गरिएको हस्ताक्षर बुझ्दै उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
भ्रष्टाचारले मुलुक आक्रान्त बनेको भन्दै यो अभियानमा सवैले सहयोग गर्नु पर्ने उनको जोड थियो । "मुलुकमा लामो समयसम्म निर्वाचित जनप्रतिनिधि नहुँदा भ्रष्टाचार मौलायो"-उनले भने-"अब निर्वाचित प्रतिनिधि आएका हुनाले ठिक समयमा अभियान सञ्चालन भएको छ । मेरो कार्यालय र मातहतका सबै निकायमा भ्रष्टाचार हुन नदिने प्रतिवद्धता व्यक्त गर्दछु र सबैलाई सहयोग गर्न आग्रह गर्दछु ।"
सबै पालिकाहरूलाई भ्रष्टाचार मुक्त बनाउन परिपत्र गरिने समेत उनले बताए । अभियानका क्रममा "म सबैखाले भ्रष्टाचारको विरोध गर्दै सदाचारप्रति प्रतिवद्ध रहनेछु" भन्ने व्यहोराको व्यानरमा राजनीतिक दल, स्थानीय तहका प्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, पत्रकार, व्यापारी तथा सर्वसाधारणले हस्ताक्षर गरेका छन् ।
धनकुटा जिल्ला प्रतिनिधि सन्तोष रूचालका अनुसार भ्रष्टाचारविरूद्ध शुन्य सहनशीलता "म सबै खाले भ्रष्टाचारको विरोध गर्दै, सदाचारप्रति प्रतिवद्ध रहनेछु" भन्ने मूल नारासहित राष्ट्रिय हस्ताक्षर अभियान सम्पन्न गरिएको छ ।
२० वर्षपछि नयाँ संरचनामा सम्पन्न निर्वाचनपछि स्थानीय तहको सुशासन सुदृढ गर्नका लागि जनप्रतिनिधिहरू असल आचरण तथा भ्रष्टाचार विरोधी हुन सके मात्रै जन अपेक्षा अनुसारका कार्यहरू हुन सक्छ भन्ने उद्देश्यका साथ इन्सेक धनकुटाले बिहानदेखि धनकुटाको मदनचोकमा हस्ताक्षर अभियान सञ्चालन गरेको छ ।
धनकुटा नगरपालिका-७ का वडा अध्यक्ष जङ्गबहादुर राईले व्यानरमा हस्ताक्षर गरेर सुरू गरिएको हस्ताक्षर अभियानमा निर्वाचित विभिन्न वडाका वडाअध्यक्ष, वडासदस्य, सरकारी कर्मचारी, प्राध्यापक, शिक्षक, मानव अधिकारकर्मी, वकिल, पत्रकार तथा सर्वसाधारण २ सय भन्दा बढीले हस्ताक्षर गरेर सो अभियानमा ऐक्यबद्धता जनाएका थिए ।
हस्ताक्षरित व्यानर आजै धनकुटा नगरपालिकाका उपप्रमुख शकुन्तला बस्नेतलाई बुझाइएको छ । हस्ताक्षर गरिएको व्यानर ग्रहण गर्दै उनले इन्सेकले सञ्चालन गरेको अभियानमा ऐक्यवद्धता जनाइन् । उनले भनिन्-"मुलुक भ्रष्टाचारको दलदलमा फसेका कारण आज संसारको गरिब राष्ट्रमा चिनिएको उल्लेख गर्दै यसको अन्त्यको लागि जनप्रतिनिधिहरू पूर्णरूपमा प्रतिवद्ध रहेको बताईन् ।" इन्सेकको अभियानले आफूहरूलाई यो अभियानमा लाग्न अझ सहयोग पुगेको उपप्रमुख बस्नेतले बताइन् ।
प्रदेश नम्बर २ मा पर्ने सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार "म सबै खाले भ्रष्टाचारको विरोध गर्दै सदाचारप्रति प्रतिवद्ध रहनेछु" भन्ने मूल नाराका साथ भ्रष्टाचारविरूद्धको राष्ट्रिय हस्ताक्षर अभियान इन्सेक, मानव अधिकार संरक्षण केन्द्र सञ्जाल र जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको आयोजनामा सिरहाको लहानमा सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक क्षेत्रीय कार्यालयका प्रलेख अधिकृत देवराज पोखरेलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै भ्रष्टाचार न्यूनीकरण गर्न सरोकारवाला सबैको भूमिका हुनुपर्ने बताए ।
त्यसैगरी सहायक प्रमुख जिल्ला अधिकारी सोमप्रसाद भट्टराइले देश विकासको प्रमुख बाधाका रूपमा रहेको भ्रष्टाचार न्यूनीकरणको लागि सदैव तयार रहने प्रतिबद्धता गरेका थिए । कार्यक्रममा लहान नपाका कार्यकारी अधिकृत, लहानका डिएसपीलगायत सञ्चारकर्मी, अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । हस्ताक्षर गरिएको व्यानर सोही दिन इलाका प्रशासन कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालयमा बुझाइएको छ ।
प्रदेश नम्बर २ मा पर्ने सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलताको नारासहित इन्सेकले भदौ २३ गते सप्तरीमा हस्ताक्षर सङ्कलन गरेको छ ।
भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा ''म सबैखाले भ्रष्टाचारको विरोध गर्दै, सदाचारप्रति प्रतिवद्ध रहनेछु'' भन्ने नारा लेखिएको व्यानरमा इन्सेकका सदस्य एवम् प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, जिल्ला प्रहरी कार्यालयका एसपी मुकेशकुमार सिंह, गैसस सप्तरीका अध्यक्ष शम्भुनन्दन चौधरी, उच्च अदालत राजविराज बार एशोसिएसनका अध्यक्ष विजयकुमार यादव, जिल्ला बार एशोसिएसनका अध्यक्ष रामप्रसाद चौधरी, मैथिल महासंघका अध्यक्ष विष्णुकुमार मण्डल, सगरमाथा साहित्य परिषदकी सल्लाहकार एवं महिला शिक्षक मन्जु श्रेष्ठ, मैथिली साहित्य परिषदका अध्यक्ष अशोककुमार झालगायतकाले हस्ताक्षर गरेका छन् ।
सोलुखुम्वु जिल्ला प्रतिनिधि पासाङ बम्जनका अनुसार भ्रष्टाचारविरूद्ध शुन्य सहनशीलता ''म सबै खाले भ्रष्टाचारको विरोध गर्दै, सदाचारप्रति प्रतिवद्ध रहने छु" भन्ने मूल नाराका साथ राष्ट्रिय हस्ताक्षर अभियान सोलुखुम्बुमा सम्पन्न भयो । नेपाल पत्रकार महासङ्घ सोलुखुम्बुका अध्यक्ष मनोजकुमार श्रेष्ठले इन्सेकको यो कार्य स्वागतयोग्य भएको भन्दै आम नागरिक स्तरबाट यो अभियानमा प्रतिबद्धता जनाउन आवश्यक रहेको बताए । सो हस्ताक्षर अभियानमा हस्ताक्षर गर्ने अधिकांश सहभागीहरूले भ्रष्टाचारका कारण नागरिकले सुनौलो विकासको आभास गर्न नसकेको बताए ।
इन्सेक उदयपुर जिल्ला प्रतिनिधि भरत खड्काका अनुसार मौलाउँदै गएको भ्रष्टचार न्यूनीकरणका लागि यहाँका अधिकारकर्मीहरूले भदौ २३ गते हस्ताक्षर अभियान सञ्चालन गरेका छन् । 'म सबै खाले भ्रष्टाचारको विरोध गर्दै सदाचारप्रति प्रतिवद्ध रहनेछु' भन्ने मुल नाराका साथ इन्सेक उदयपुर र मानव अधिकार निगरानी समूहले हस्ताक्षर अभियान सञ्चालन गरेका हुन् ।
भ्रष्टचारविरुद्ध शुन्य सहनशीलता कायम राखौँ भन्ने मुल नारासहितको हस्ताक्षर गरिएको व्यानर आजै निगरानी समूहका अध्यक्ष हिमाल खड्काको नेतृत्वमा गएको टोलीले त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीलाई बुझाएका थिए ।
अधिकारकर्मीहरूले व्याप्त भ्रष्टचारले मुलुक अगाडि बढ्न नसकेको र विकास निर्माणका कामहरू अवरुद्ध भएको भन्दै न्यूनीकरणका लागि मेयरलाई आग्रह गरेका थिए । मेयर चौधरीले जनप्रतिनिधिको अभावमा व्याप्त भ्रष्टचार बढेको बताउँदै आगामी दिनमा नगर क्षेत्रमा भ्रष्टाचारको गन्धपनि आउन नदिने प्रतिवद्धता व्यक्त गरे । उनले विधिको शासन स्थापित नहुँदा भ्रष्टचार मौलाएको भन्दै विधि विधान तयार गरी न्यूनीकरणमा जोड दिइने बताए ।
इन्सेक सुनसरी जिल्ला प्रतिनिधि शेखर ढकालका अनुसार इन्सेकले भदौ २३ इटहरीमा भ्रष्टाचारविरुद्ध हस्ताक्षर अभियान चलाएको छ । 'सबै प्रकारका भ्रष्टाचारको विरोध गर्दै, सदाचारप्रति प्रतिवद्ध रहने छु, भन्ने नारा लेखिएको व्यानरमा हस्ताक्षर अभियान चलाइएको हो । इटहरीमा गरिएको हस्ताक्षर अभियानमा ५ सय भन्दा बढीले हस्ताक्षर गरेका थिए ।
उक्त व्यानरमा इटहरीको वडा नम्बर ४ का वडा अध्यक्ष दिपक गौतमलगायत जननिर्वाचित सदस्यहरूले हस्ताक्षर गरेका थिए । अभियानमा इटहरीका सामाजिक सङ्घसंस्था र सरकारी कर्मचारीले समेत हस्ताक्षर गरे ।
भ्रष्टाचार विरुद्धको हस्ताक्षर गरिएको व्यानर इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई बुझायो । व्यानर बुझ्दै चौधरीले भ्रष्टचार विरुद्धको अभियान आफ्नै अभियान भएको बताए । उनले आफू भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बताए ।
इन्सेक क्षेत्रीय कार्यालय, विराटनगर
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…