प्रदेश नं ३, ४ र ६ मा स्थानीय तहको मनोनयन दर्ता सुरु

देशभरका ७ सय ४४ वटा स्थानीय तहमध्ये वैशाख ३१ गते हुने तीन प्रदेशका ३४ जिल्लाका २ सय ८३ वटा स्थानीय तहमा जनप्रतिनिधि छान्न वैशाख १९ गते मनोनयन दर्ता सुरु भएको राससले जनाएको छ ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि आज विहान १० बजे देखि ५ बजेसम्मको समय तय गरेको छ । मुलुकका प्रदेश नं ३, ४ र ६ का सबै महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा विभिन्न राजनीतिक दलले मनोनयन दर्ता गर्न सुरु गरेका छन् ।

संविधानसभाबाट बनेको संविधान कार्यान्वयन गर्ने क्रममा हुन लागेको स्थानीय तहको ऐतिहासिक निर्वाचनले डेढ दशकदेखिको जनप्रतिनिधिको रिक्तताको अन्त्य गर्दै स्थानीय सरकार निर्माण हुनेछ ।

गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाबाट निर्वाचित हुने जनप्रतिनिधिबाट लोकतन्त्रको स्थानीय तहमै वास्तविक अभ्यास भई जनताले लोकतन्त्रको लाभको उपभोग गर्ने विश्वास निर्वाचन आयोगले लिएको छ ।

प्रदेश नम्बर ३ का सिन्धुली, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन, काठमाडौं, ललितपुर र भक्तपुर समेत गरी १३ वटै जिल्लामा पहिलो चरणमा निर्वाचन हुने भएको छ ।

त्यसैगरी प्रदेश नम्बर ४ मा गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, स्याङजा, तनहुँ, कास्की र नवलपरासीको केही भागसमेत गरी ११ वटा जिल्ला पर्छन् ।

पहिलो चरणको निर्वाचन हुने प्रदेश नम्बर ६ का जिल्लाहरुमा हुम्ला, कालीकोट, डोल्पा, जुम्ला, दैलेख,  मुगु,  जाजरकोट,  सुर्खेत,  सल्यान  र  रुकुमको केही भाग गरी ११ जिल्लाहरु समेटिएका छन् ।


अनलाइन डेस्क