प्रदेश नं. २ मा उम्मेदवारी दर्ता शान्तिपूर्णः निर्वाचन आयोग

प्रदेश नं. २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपमा उम्मेदवारी मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

तेस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नं. २ का आठ जिल्लामा असोज २ मा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि भदौ २१ गते मनोनयन दर्ता भएको हो । आयोगले मनोनयन दर्ताको लागि बिहान १० बजेबाट साँझ ५ बजेसम्मको समय तय गरेको भए पनि राति अबेरसम्म मनोनयन दर्ता भएको थियो । आयोगका अनुसार साँझ ७ बजेसम्म १८ हजार २ सय जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन आयुक्त इला शर्माले प्रदेश नं. २ का १ सय ३६ स्थानीय तहमध्ये केहीमा सामान्य छिटफुट घटना भएको सूचना आएको भएपनि समग्रमा मनोनयन दर्ता शान्तिपूर्ण भएको बताइन् । 'केही तहमा छिटफुट घटना भएको खबर आयो । समग्रमा प्रदेश नं. २ मा मनोनयन दर्ता शान्तिपूर्ण र उल्लासमय भएको छ ।'-आयुक्त शर्माले भनिन् ।

उम्मेदवारी दर्ताका लागि मुख्य ठूला दल नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल, सङ्घीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरमसहितका दलका उम्मेदवार तथा स्वतन्त्र उमेदवारहरू आफ्ना समर्थकसहित सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

दर्ता भएका उम्मेदवारको सूची भदौ २१ गते बुधबार नै प्रकाशित गर्ने आयोगको कार्यतालिका भएपनि उमेदवारहरू ढिला गरी मनोनयन दर्ताका लागि पुगेका कारण अधिकांश तहका उम्मेदवारहरूको सूची राति अबेरसम्म भएको छैन ।

आयोगले दर्ता भएका उम्मेदवारमाथि भदौ २२ गते उजुरीका लागि समय तोकेको छ । उम्मेदवारविरूद्ध परेका उजुरीको जाँच भदौ २२ गते नै गरिने आयोगले जनाएको छ । आयोगको कार्यतालिका अनुसार भदौ २३ गते मनोनयन परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरिनेछ ।

सार्वजनिक भएका उम्मेदवारले नाम फिर्ता लिन चाहेमा भदौ २३ गते नै फिर्ता लिन सक्नेछन् । यस्तै भदौ २४ गते आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्नेछ भने सोही दिन नै उम्मेदवारलाई निर्वाचन चिन्ह दिइने आयोगको कार्यतालिकामा उल्लेख छ ।

आयोगले असोज २ गतेका दिन बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानको समय तोकेको छ । प्रदेश नं. २ का आठ जिल्लामा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् ।

सबै स्थानीय तहमा १ हजार २ सय ७१ वडा कायम भएका छन् । प्रदेश नं. २ मा २६ लाख ६४ हजार ९ सय ५० मतदाता छन् भने ३ हजार ५ सय ७८ मतदान केन्द्र र २ हजार १ सय ६६ मतदान स्थल निर्धारण गरिएको छ ।

निर्वाचनका लागि स्वयम्सेवकसहित ३१ हजार भन्दा बढी कर्मचारी खटिएको आयोगले जनाएको छ । प्रदेश नं. २ मा स्थानीय तहको निर्वाचनमार्फत प्रमुख एवम् अध्यक्ष पदमा १ सय ३६, उपप्रमुख एवम् उपाध्यक्ष पदमा १ सय ३६, वडाध्यक्ष पदमा १ हजार २ सय ७१ तथा ५ हजार ८४ वडा सदस्यसहित कूल ६ हजार ६ सय २७ जनप्रतिनिधि निर्वाचित हुँदैछन् ।


सुभाष साह