झडपको समाचार सङ्कलन गर्नबाट रोकिए पत्रकार, आन्दोलनकारीको आक्रमणबाट एक जना पत्रकार घाइते

  ०७८ असोज २५ गते

बुटवल उपमहानपा–१७ मोतीपुर औद्योगिक क्षेत्रमा असोज २४ गते भएको घटनामा समाचार सङ्कलनका लागि गएका पत्रकारमाथि आक्रमण भएको छ ।

सुकुम्बासीको नाममा औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने प्रदर्शनकारीहरूले तिलोत्तमा नपा–४ विष्णुपुर स्थायी घरभई लुम्बिनी टेलिभिजन बुटवलमा कार्यरत २५ वर्षीय दिनेश ज्ञवाली (विश्व) माथि आक्रमण गरेका हुन् ।

प्रदर्शनकारीको आक्रमणबाट ज्ञवालीको टाउको र हातमा गहिरो चोट लागेको छ । ज्ञवालीको टाउकोमा पाँच ओटा टाँका लगाइएको छ भने शरीरभरी निल डामहरू रहेको लुम्बिनी टेलिभिजनका महासचिव दिनेश पाण्डेले फोनमार्फत बताउनुभयो ।

पत्रकार ज्ञवालीको टाउको र हातमा गहिरो चोट लागेकाले बुटवल अस्पताल प्रालिमा पहिलो चरणको उपचार गरी सिटीस्क्यान लगायतका उपचारका लागि असोज २४ गते साँझ गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवल लगिएको थियो ।

पत्रकार ज्ञवालीलाई झडपको भिडियो किन खिचेको भन्दै प्रदर्शनकारीले कुटपिट तथा लछारपछार गरेको पीडितको भनाइ छ ।

‘प्रेस हो भनेर कार्ड देखाउँदादेखाउँदै म माथि जाइलागे । म भाग्दा लडेँ । मेरो मोवाइल पनि लगे । त्यो भिडले मलाई के गथ्र्यो तर दुई जनाले थप कुटपिट हुनबाट बचाएर म अहिले यो ठाउँमा छु ।’–घाइते ज्ञवालीलाई उद्घृत गर्दै टेलिभिजनका महासचिव पाण्डेले फोनमार्फत भन्नु भयो ।

पाण्डेका अनुसार घाइते भई उपचार गराइरहेका पत्रकार ज्ञवाली अस्पतालबाट असोज २४ गते नै डिस्चार्ज भएको बताउनुभयो ।

झडपमा नेपाल पत्रकार महासङ्घ रुपन्देहीका सदस्य सुरेश परियार, खस्यौली एफएममा कार्यरत सञ्चारकर्मी कृष्ण पाण्डेलाई पनि आक्रमण गरेको तर उनीहरू भागेकाले घाउचोट नलागेको पाण्डेले बताउनु भयो । प्रहरी र प्रदर्शनकारीले समाचार सङ्कलनमा रोक लगाएको पत्रकारहरूको आरोप छ ।

झडपका क्रममा पत्रकार तथा सञ्चारकर्मी माथि भएको आक्रमण र दुर्व्यवहारप्रति नेपाल पत्रकार महासङ्घ रुपन्देहीले गम्भीर ध्यानार्कषण भएको जनाएको छ ।

महासङ्घका सचिव विनोद परियारद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्वतन्त्रतापूर्वक जनतालाई सुसूचित गराउन फिल्डमा रिपोर्टिङ गर्न गएका पत्रकारमाथि प्रहरी र सर्वसाधरणले सञ्चारकर्मीलाई आतङ्कित पार्दै रिपोर्टिङ गर्नमा लगाइएको रोक, आक्रमण र दुव्र्यवहारको कडा शब्दमा भत्र्सना गर्दै सुरक्षाको प्रत्याभूति दिलाउन महासङ्घ जोडदार माग गरेको उल्लेख छ ।

घटनाका विषयलाई लिएर प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन, प्रगतिशील पत्रकार सङ्घ लगायतका सङ्गठनले विज्ञप्ति जारी गरेर घटनामा पत्रकारमाथि भएको दमनको घोर भत्र्सना गरेका छन् ।


रीमा बिसी