प्रत्येक साढे चार दिनमा एकजना पत्रकारको हत्याः युनेस्को

संयुक्त राष्ट्रसङ्घ शैक्षणिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा नोभेम्बर २ मा सार्वजनिक एक तथ्याङ्कअनुसार पछिल्ला वर्षहरूमा विश्वमा हरेक साढे चार दिनमा एक जना पत्रकारको हत्या हुने गरेको छ ।

गएको दशकमा विश्वभर ८ सय २७ जना पत्रकारलाई आफ्नो जिम्मेवारी बहन गर्ने सिलसिलामा हत्या गरिएको युनेस्कोका महानिर्देशकद्वारा सार्वजनिक गरिएको प्रतिवेदनमा जनाइएको हो ।

यसरी पत्रकारमाथि आक्रमण हुने गरेका घटनाहरू सिरिया, इराक, लिबियालगायतका अरब राज्यहरूमा बढी भएको तथ्याङ्कमा छ ।

अरबपछि पत्रकार बढी असुरक्षित दक्षिण अमेरिकी क्षेत्रका मुलुकहरू रहेको 'सेफ्टी अफ जर्नालिस्ट एण्ड डेन्जर अफ इम्प्यूनिटी' नामक युनेस्कोको प्रतिवेदनमा जनाइएको हो ।

सन् २००६ देखि सन् २०१५ सम्मका प्रतिवेदनले जनाएअनुसार गत दुई वर्षमा ५९ प्रतिशत घटना द्वन्द्वग्रस्त क्षेत्रमा भएका थिए ।

सन् २०१५ मा अनलाइन पत्रकारिता गर्ने पत्रकारहरू माथिको हिंसामा व्यापक वृद्धि भएको पनि जनाइएको छ ।

महिला पत्रकारको तुलनामा मारिने पुरूष पत्रकार १० गुणा बढी भएको अर्थात सन् २०१४/१५ मा १८ जना महिला पत्रकार मारिएका छन् भने १ सय ९५ जना पुरूष पत्रकारले हिंसाका कारण ज्यान गुमाएका छन् ।


अनलाइन डेस्क