प्रतिष्ठानका शिक्षक र कर्मचारी आन्दोलित, पठनपाठन प्रभावित
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका कर्मचारी र शिक्षकले स्तरवृद्धिको माग गर्दै आन्दोलन गरेपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । आन्दोलनकर्ता प्रतिष्ठानका शिक्षक र कर्मचारीले शैक्षिक र प्रशासनिक भवनमा ०८१ मङ्सिर ३ गतेदेखि ताला लगाएपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको हो । स्तरवृद्धिको माग सम्बोधन नभएको भन्दै शिक्षक र कर्मचारीले तालाबन्दी गरेका हुन् ।
प्रतिष्ठानमा करिब ४ सय जना शिक्षक र कर्मचारी कार्यरत छन् । जसमध्ये ७०/७५ जना मात्रै स्थायी छन् भने ठूलो सङ्ख्यामा करार र ज्यालादारी कर्मचारी कार्यरत रहेका छन् । विगत लामो समयदेखि प्रतिष्ठानमा कार्यरत कर्मचारीलाई स्थायी प्रक्रिया अघि नबढाइनु, अदालतले समेत आन्दोलनरत कर्मचारीको पक्षमा समेत फैसला गरिसक्दा र जुम्लामा बसेको सिनेट बैठकले आन्दोलनरत कर्मचारीको मागलाई सम्बोधनको प्रक्रिया अघि बढाउने निर्णय गरे पनि प्रतिष्ठानका पदाधिकारीले कार्यान्वयनमा आनाकानी गरेको आन्दोलनरत शिक्षक कर्मचारीको दावी छ । ०८० भदौ २१ गते कर्मचारीहरूले आन्दोलन गरेर दुई पक्षीय सम्झौता गरेका थिए । जसमा असोज ८ गते बढुवा पत्र प्रदान गरिएको थियो । तर, अन्य बाँकी स्थायी कर्मचारीहरूको स्तरवृद्धि प्रक्रिया ०८० असोज १ गतेबाट अगाडि बढाउने सहमति कार्यान्वयनमा ढिलाइ भएको आरोप कर्मचारीले लगाएका छन् ।
यस विषयमा अदालतले ०८१ भदौ २६ गते कर्मचारीहरूको पक्षमा निर्णय सुनाएपछि पनि कार्यान्वयन नभएको आन्दोलनरत शिक्षक तथा कर्मचारीको भनाइ छ । अदालतको फैसलादेखि सिनेट बैठकले समेत आन्दोलनरत कर्मचारीको माग सम्बोधनलाई अघि बढाउन निर्णय गरेपनि गत कात्तिक २७ गते पुनः वार्ता भएको र २८ जनाको स्तरवृद्धि गर्ने निर्णय सहमति भएकोमा कात्तिक २८ गतेको बैठकले निर्णय अनुमोदन गर्न आनाकाने गरेको शिक्षक कर्मचारीको आरोप छ । स्तरवृद्धिको सम्पूर्ण प्रक्रिया पुगीसक्दा पनि प्रतिष्ठानका पदाधिकारीले कार्यान्वयन नगर्नु दुखद पक्ष भएको प्रशासन अधिकृत द्वन्द्व शाहीले बताउनु भयो ।
समस्या समाधान गर्न माग
आन्दोलनरत शिक्षक तथा कर्मचारीहरूले उच्च अदालत सुर्खेत जुम्ला इजलासबाट आएको फैसला कार्यान्वयन नगरेको गुनासो गरेका छन् । मङ्सिर ३ गतेदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ जना शिक्षक तथा कर्मचारीहरूले आफ्नो स्तरवृद्धि लगायतका मागहरूको सम्बोधन नभएको भन्दै प्रतिष्ठानमा ताला लगाएका छन् । प्रतिष्ठानमा देखिएको शिक्षक र कर्मचारी समस्या समाधानका लागि विभिन्न कर्मचारी सङ्गठनहरूले संयुक्त रूपमा ध्यानाकर्षण गराएका छन् । प्रतिष्ठानका शैक्षिक तथा प्रशासनिक सेवाहरू ठप्प हुँदा स्वास्थ्य सेवा र शिक्षामा बाधा पुगेको छ । कर्मचारी सङ्गठनहरूले विज्ञप्ति मार्फत समस्या समाधानको आग्रह गर्दै सेवा सुचारु गर्न अपिल गरेका छन् ।
अदालतको आदेश, कार्यकारी परिषद् र सभा बैठकले उनीहरूको बढुवाका लागि निर्णय गरे पनि प्रतिष्ठानका पदाधिकारीहरूले त्यसलाई कार्यान्वयन नगरेको कारणले उनीहरूको वृत्ति विकास प्रभावित भएको उनीहरूको तर्क छ । नेपाल निजामती कर्मचारी युनियन, कर्णाली प्रदेशका अध्यक्ष चन्द्र बहादुर खड्काले अदालतको आदेश तत्काल पालना गरी योग्य शिक्षक र कर्मचारीहरूको बढुवा प्रक्रिया अघि बढाउन आग्रह गर्नु भएको छ । विज्ञप्तिमा भनिएको छ - 'कानुनी राज्यको अवधारणा अक्षरस पालना गरिनुपर्छ। शिक्षक र कर्मचारीहरूको मनोबल उच्च बनाउनुपर्ने र शैक्षिक तथा प्रशासनिक सेवा तत्काल सुचारु गर्न आवश्यक छ ।'
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका सचिव उत्तम देवकोटाले भन्नुभयो - 'कुनै पनि संस्थाको सेवा प्रवाह प्रभावकारी बनाउन कर्मचारीहरूको मनोबल उच्च हुनु आवश्यक छ । प्रतिष्ठानमा लामो समयदेखि काम गरिरहेका शिक्षक तथा कर्मचारीहरूको कानुनी अधिकारलाई सम्मान गर्दै उनीहरूको वृत्ति विकासको अवरोध हटाउनुपर्छ ।' उहाँका अनुसार शिक्षक र कर्मचारीले अदालतको आदेश अनुसारको बढुवा र तलब भत्ता नपाएको भन्दै सात दिनदेखि आन्दोलन गरिरहेका छन् । यस विषयमा विगतमा कार्यकारी परिषद् र सभा बैठकले सहमति जनाए पनि कार्यान्वयन हुन नसक्नु चिन्ताको विषय भएको बताइएको छ ।
नेपाल निजामती कर्मचारी सङ्गठन, जुम्लाका अध्यक्ष गणेश आचार्यका अनुसार, स्वास्थ्य क्षेत्रको संवेदनशीलताका कारण सेवा अवरुद्ध हुँदा आम जनताले स्वास्थ्य उपचारबाट वञ्चित हुनुपरेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्तरिक विवाद र व्यवस्थापन समस्याको समाधानका लागि सबै कर्मचारी सङ्गठनहरूले संयुक्त रूपमा अपिल गरेका छन् । उनीहरूले प्रतिष्ठानका पदाधिकारीहरूलाई कर्मचारीहरूको कानूनी अधिकार सुनिश्चित गर्न आग्रह गरेका छन् ।
श्रेणीविहीन १७ जना बढुवा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आन्दोलनरत ५८ जना शिक्षक तथा कर्मचारीमध्ये १७ जनालाई बढुवा गरेको छ । श्रेणीविहीन रहेका कर्मचारीलाई अदालतको आदेश र लोकसेवा आयोगको रायअनुसार प्रतिष्ठानको कार्यकारी परिषद्को निर्णयबाट श्रेणीमा समावेश गरिएको हो । प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतका अनुसार यो निर्णय विधिसम्मत प्रक्रियाबाट गरिएको हो । 'अदालत र लोकसेवा आयोगको सिफारिसका आधारमा कर्मचारीहरूको बढुवा गरिएको हो । यसले संस्थाभित्रको व्यवस्थापनलाई थप सुदृढ गर्नेछ' - उहाँले भन्नुभयो । बाँकी मुद्दाहरूको समाधानका लागि चाँडै लोकसेवा आयोगबाट प्रक्रिया अघि बढाउने छ ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
जिल्ला आर्युवेदिक सेवा केन्द्रमा औषधिको अभाव हुँदा सेवाग्राहीलाई समस्या
जिल्ला आर्युवेदिक सेवा केन्द्रमा औषधिको अभाव हुँदा सेवाग्राहीलाई समस्या भएको छ । औषधि उपचारका लागि प्यूठान आयुर्वेद स्वास्थ्य सेवा केन्द्र पुग्ने बिरामी औषधि अभावमा रित्तै फर्किने परेको मल्लरानी गाउँपालिका-४ का…
दलित सशक्तिकरण ऐन कार्यान्वयनको अवस्था बारे नीति संवाद
मधेस प्रदेश नीति तथा योजना आयोगले दलित सशक्तिकरण ऐन कार्यान्वयन अवस्था विषयमा सरोकारवाला निकायका व्यक्तिहरूसँग २०८१ मङ्सिर २७ गते जनकपुरधाममा नीति संवाद कार्यक्रमको अयोजना गरेको छ । कार्यक्रममा मधेस प्रदेश…
बेचबिखन तथा ओसार पसार घटनाका आरोपित गिरफ्तार
३९ वर्षीया महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारत लग्दै गरेको अवस्थामा नुवाकोट जिल्लाको दुपेश्वर नगरपालिका–७ का २३ वर्षीय शिशिर तामाङलाई प्रहरीले ०८१ मङ्सिर २६ गते गिरफ्तार गरेको छ ।…
बलात्कार गरेको कसुरमा २५ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले राप्तीसोनारी गाउँपालिका-२, हरिहरपुरका ५५ वर्षीय पराजुली विकलाई २५ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश रामाकन्त यादवको ०८१ मङ्सिर…
हिउँमै पठनपाठन गर्नुपर्ने विद्यार्थीहरूको बाध्यता
हिउँ परेपछि हुम्लाका विद्यार्थीहरू हिउँमै पठनपाठन गर्न बाध्य भएका छन् । हिउँले अत्यधिक चिसो बढेपछि घामताप्दै विद्यार्थी कोठा बाहिर खुल्ला आकाशमा पठनपाठन गर्न बाध्य भएका हुन् । सिमकोट गाउँपालिका–७ स्थित…