प्रतिबन्धित नेकपाले आह्वान गरेको बन्दको दिन वडा कार्यालयमा आगजनी

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले साउन १५ गते आह्वान गरेको नेपाल बन्दको दिन मेलम्ची नगरपालिका-१० शिखरपुरको वडा कार्यालयमा अपरिचित व्यक्तिहरूको समूहद्वारा आगजनी गरेको छ ।

साउन १५ गते बिहानको राति अपरिचित व्यक्तिहरूको समूहले वडा कार्यालयमा आगजनी गरेको स्थानीय बालकृष्ण आचार्यले बताए ।

आचार्यका अनुसार उक्त समूहले वडा कार्यालयमा लगाएको तालालाई फलाम काट्ने ह्याक्सो ब्लेडले काटेर भित्र पसी कार्यालयमा रहेको कागजपत्रमा आगो लगाएको हो ।

आगजनीबाट कार्यालय पूर्ण रूपमा नष्ट भएको र आजगनी कसले गरेको हो भन्ने हालसम्म नखुलेको सोही वडाका वडाध्यक्ष भक्तबहादुर दड्काले बताए । कार्यालय तोडफोड गर्ने हतियार ह्याक्सो ब्लेड घटनास्थलभन्दा केही पर भेटिएको पनि उनले बताए ।

वडा कार्यालयमा कसले आगजनी गर्‍यो भन्ने बारे केही पत्ता नलागेको र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर महेन्द्र दर्नालले बताए ।


नातिबावु धिताल