प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी बाग्लुङका जिल्ला सदस्य ३१ वर्षीय महेन्द्र भण्डारीलाई जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले रिहा गरे लगत्तै माघ २२ गते साँझ पुनःगिरफ्तार गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले दुई हजार रुपिँया धरौटीमा रिहा गरेका भण्डारीलाई प्रहरीले थप केही विषय सोधपुछको लागि भन्दै जिल्ला प्रहरी कार्यालय लगेको थियो । कार्यालय पुगेपछि भण्डारीलाई पुनः गिरफ्तार  गरिएको जानकारी दिइएको थियो ।

भण्डारीविरुद्ध प्रहरीलाई अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा माघ १३ गते मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको थियो ।

कावासोती२ फलफुल चोकमा होहल्ला गरिरहेको र प्रहरी पुग्दा प्रहरीलाई अभद्र व्यवहार गरेको भन्दै प्रहरीले भण्डारीविरुद्ध माघ १३ गते मुद्दा दायर गरेको थियो । इन्सेक जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेसँग भण्डारीले प्रहरीले आफुलाई झुटो मुद्दा लगाएको बताउनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय लमजुङले माघ १२ गते साधारण तारेखमा आफुलाई छाडेको भन्दै भण्डारीले सोही दिन जिल्ला प्रहरी कार्यालय लमजुङले विभिन्न जिल्ला हुदै जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पूर्व) ल्याएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङले ०७६ साउन २७ गते गिरफ्तार गरेपछि हाल सम्म गण्डकी प्रदेशको विभिन्न ९ जिल्लामा प्रहरी हिरासतमा रहेकोले आफु विरुद्ध लगाइएको आरोप झुठा प्रमाणित हुने उहाँले बताउनुभयो ।

हालसम्म उनलाई बाग्लुङ, पर्वत, म्याग्दी, कास्की, स्याङ्जा, गोरखा, तनहुँ, लमजुङ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा प्रहरीले हिरासतमा राखेको छ ।भण्डारीले माघ २२ गते पुनःगिरफ्तारी पछि इन्सेक जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेसँग प्रहरीले आफुलाई चितवन लैजान लागेको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का इन्सपेक्टर टिकाराम पोखरेलले भण्डारीलाई चितवन जिल्लामा थप विषयमा अनुसन्धान गर्नुपर्ने भएकाले गिरफ्तार  गरि जिल्ला प्रहरी कार्यालय चितवनको जिम्मा लगाइने जानकारी दिनुभयो ।

 

photo20200206Nawalpur1

 

photo20200206Nawalpur2

 

photo20200206Nawalpur3

 

 

 

 

 


तिर्थराज डुम्रे