प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अपडेट
बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार त्रिवेणी नगरपालिका–७ स्थित नाट्यश्वरी आधारभूत विद्यालय, दम्था मदतानस्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागेर २५ वर्षीय सञ्जिव ऐडीको मृत्यु भएको छ । सो क्रममा स्थानीय पर्शुराम पाध्याया, खडक ऐडी र प्रहरी हवल्दार कृष्ण कुँवर घाइते भएका छन् । घाइते तीनै जनालाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुर्य थापाले बताउनु भयो । एक जना स्थानीयले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप हुँदा प्रहरीले हवाइ फायर गरेको भनेपनि गोली लागेर एक जनाको मृत्यु भएको हो । घटनाको थप विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी थापाले बताउनु भयो ।
इन्सेक बझाङ जिल्ला प्रतिनिधि सत्यराजबहादुर सिंहका अनुसार स्वतन्त्र उम्मेदवारका प्रतिनिधि र नेकपा माओवादी केन्द्रका उम्मेदवारका प्रतिनिधि बीच केदास्यु गाउँपालिका वडा नम्बर १ बेताल माध्यमिक विद्यालय, रातापानीमा विवाद हुँदा स्वतन्त्र उम्मेदवारका प्रतिनिधिले लात हानेर मतपेटिका फुटाएका छन् । फुटेको मतपेटिकाभित्रको मतपत्र अर्र्को मतपेटिकामा राखेर मुचुल्का तयार पारेपछि दुवै पक्षबीच सहमति जुटेको छ । विवादका कारण विहन ९ बजेदेखि स्थगित भएको मतदान कार्य सर्बपक्षीय सहमतीपछि अहिले सुचारु अवस्थामा रहेको छ । जिल्लाका अन्य मतदान केन्द्रमा शान्तिपूण रुपमा मतदान कार्य सम्पन्न हुन गइरहेको छ ।
इन्सेक कैलाली जिल्ला प्रतिनिधि मैनामोती चौधरीका अनुसार जिल्लाको निर्वाचन क्षेत्र नम्बर ५ (ख) को वडा नम्बर २ को शारदा मावि मतदानस्थल नजिक, धनगढी उपमहानगरपालिका—१३ स्थित नेपाली सेनाको ब्यारेक नजिक र गौरीगंगा नगरपालिका—६ बढैपुर नजिक अज्ञात पक्षले राखेको विस्फोटक पदार्थ फेला परेको र सबै बिस्फोटक पदार्थहरुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय बनाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रकाश जोशीले बताउनु भयो । यस बाहेक जिल्लाका पाँच ओटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेबाट सुरु भएको निर्वाचन शान्ति पुर्णरुपमा सम्पन्न हुन गइरहेको समेत डिएसपी जोशीले जानकारी दिनु भयो ।
पुर्वी नवलपरासीको देवचुली नगरपालिका ४ झाक्रेस्थित शान्ति सिर्जना आधारभुत बिधालयमा रहेको मतदान केन्द्रको मत पेटिकामा आगजनी भएको छ । घटनाको आरोपमा मतदाता नारायण भण्डारीलाई प्रहरीले गिरफ्तार गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनु भयो । हाल मतदान प्रकिया रोकिएको पनि उहाँले बताउनु भएको छ ।
धादिङको सिद्धलेक गाउँपालिका-७ स्थित महाकाली मावि मतदान केन्द्रमा मतदान केन्द्रमा अशक्त मतदाताको मत इच्छाएको व्यक्तिले हाल्ने वा परिवारको सदस्यले हाल्ने विषयमा विवाद हुँदा सत्ता गठबन्धन कार्यकर्ताका आक्रमणबाट दुई जना सामान्य घाइते भए । घाइते हुनेमा २३ वर्षीय रुपक खतिवडा र ३३ वर्षीय रोशन गरी रहेका छन् । घटनापिछ सुरक्षाकर्मी परिचालन गरी मतदान प्रकृया सुचारू भएको इन्सेक प्रतिनिधि सीताराम अधिकारीले बताउनु भयो ।
तामाकोसी गाउँपाललिका ३ स्थित मतदानकेन्द्रमा नेपाली काङ्ग्रेसले एकलौटी मतदान गरेको छ । मतदान स्थलमा सत्ता गठबन्धनका प्रतिनिधिले कब्जामा लिएर एकलौटी मतदान गरेको इन्सेक प्रतिनिधि उद्धव पोखरेलले बताउनु भयो । पोखरेलका अनुसार वडा नं २ र ३ मा भने सत्ता गठबन्धनका प्रतिनिधि र एमालेका प्रतिनिधि बीच झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले केहीराउण्ड हवाई फायर गरेको छ । झडप नियन्त्रणमा आएपछि मतदान सुरु भएको छ ।
डोल्पा जिल्ला प्रतिनिधि विष्णुप्रसाद देवकोटाका अनुसार ठुली भेरी नगरपालिका-९ गौरी आधारभुत विद्यालयमा रहेको मतदान केन्द्रमा गठबन्धन र एमालेका कार्यकर्ताबिचा झडप भएको छ । झडप भएपछि मतदान कार्य ३० मिनेट रोकिएको थियो । अहिले फेरि मतदान कार्य सुचारू भएको मतदान अधिकृत दिपेन्द्रकुमार उपाध्यायले जानकारी दिनुभयो ।
इन्सेक बाजुरा जिल्ला प्रतिनिधि पदमबहादुर सिंहका अनुसार स्वामीकार्तिक खापर गाउँपालिकाका– १ मा रहेको भगवती आधारभूत विद्यालय मतदान केन्द्रमा मतपेटीकामा आगजनी गरिएको छ । प्रदेश सभाको समानुपातिक तर्फको मतपेटीमा आगजनी भएपछि निर्वाचन स्थगित गरिएको छ । लाइनमा आइरहेका व्यक्तिहरुले अकस्मात मतपेटिकामा आगो लगाएको निर्वाचन अधिकृत रामकुमार यादवले बताउनु भयो ।
बुढीगङ्गा नगरपालिका–८ र बुढीनन्दा नगरपालिका–५ बााहेकाका मतदान केन्द्रमा निर्वाचन पुनः सुरु भएको छ । जिल्लाका आठ ओटा मतदान केन्द्र बुढीगङ्गा नगरपालिका–८, बुढीनन्दा नगरपालिका–५, स्वामिकार्तिक खापर गाउँपालिका–३ र ४, बुढीनन्दा नगरपालिका–५, त्रिवेणी नगरपालिका–३ र ७, जगन्नाथ गाउँपालिका–४ मतदान केन्द्रमा मतदान कार्य स्थगित गरिएको भएपनि राजनीतक दल, कर्मचारी र सुरक्षाकर्मीहरुको सर्वदलीय बैठकपछि पुनः मतदान कार्य सुरु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुर्य थापाले जानकारी गराउनु भयो ।
रुकुम (पश्चिम) प्रतिनिधि मनिषा केसीका अनुसार मतदानमा अवरोध गर्न खोजेको आरोपमा प्रहरीले विप्लव नेतृत्वको नेकपाका तीन जना कार्यकर्तालाई गिरफ्तार गरेको छ । आठबीसकोट नगरपालिका-५, ११ र १३ नम्बरमा मतपत्र च्यात्ने, मतपेटिकामा लात हानेर मतदानमा अवरोध गर्न प्रयास गरेको आरोपमा आरोपितहरूलाई गिरफ्तार गरेको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनु भयो । युवा सङ्गठनका जिल्ला संयोजक ३० वर्षीय महेश बस्नेत, अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य २८ वर्षीय हरि पुन र सङ्गठनका जिल्ला सम्मेलन आयोजक समिति सदस्य २८ वर्षीय राकेश बिक रहेको प्रहरीले जनाएको छ । बस्नेत वडा-५ को गोतामकोट, पुन वडा नम्बर-१३ को निमावि घेत्मा र बिक वडा नम्बर ११ को नेपाल राष्ट्रिय मावि मतदानस्थलबाट गिरफ्तार परेको प्रजिअ घिमिरेले जानकारी दिनुभयो ।
अछाम प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार मतदानका क्रममा छिटपुट घटना बाहेक शान्तिपूर्ण रुपमा मतदान कार्य भइरहेको छ । जिल्लाका २ सय ८ मतदान केन्द्रमा मतदाताहरुले मतदान गरिरहेका छन् । जिल्ला निर्वाचन कार्यालयका कम्युटर अपरेटर उद्धवकुमार सिंहका अनुसार दिउसो १२ बजेसम्म अद्यावधिक गर्दा जिल्लाभरी ६ हजार ४ सय ३४ महिला १३ हजार ७ सय ९० मत खसेको छ । जसको प्रतिशत ८ दशमलव ६९ रहेको निर्वाचन उहाँले बताउनु भयो । मतदातामा उत्साह नभएको र मतदान गर्न आउनेको संख्या पनि न्यून रहेको पर्यवेक्षणका क्रममा देखिएको छ । ढकारी गाउँपालिका–२ हिच्माको कालिका माविमा रहेको मतदान केन्द्रमा मतदान सुरु हुनुभन्दा अघि नै प्रेसरकुकर बम भेटिएपछि नेपाली सेनाले डिस्पोज गरेपछि आठ बजेबाट मात्रै मतदान कार्य सुरु भएको थियो ।
मतदानका विषयमा सत्ता गठबन्धन र स्वतन्त्र उम्मेदवार बीच झडप हुँदा साँफेबगर नगरपालिका–३ का २७ वर्षीय शैलेश कुँवर घाइते हुनु भएको छ । टाउकोमा चोट लागेका कुँवरको वयलपाटा अस्पतालमा उपचारपछि घर फिर्किनु भएको छ । मतदान प्रक्रिया भने निरन्तर चलिरहेको छ । मङ्गलसेन नगरपालिका–८ सरस्वती आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा प्रतिनिधिसभाका करिब ६९ मत प्रदेशसभाको मतपेटिकामा खसाएपछि ११ बजेबाट मतदान प्रक्रिया रोकिएको छ ।
मङ्गलसेन नगरपालिका–३ शिवनिवास प्राविमा रहेको मतदान केन्द्रमा प्रदेश सभाका ५५ मत प्रतिनिधि सभाको मतपेटिकामा खसाएपछि मतगणना हुने गरेर मुचुल्का तयार पारेर करिब एक घण्टापछि मतदान सुचारु भएको छ । जिल्लामा १ लाख ५८ हजार ६ सय ५७ जनाले मतदान गर्न पाउनेछन् । प्रतिनिधिसभातर्फ अछाम क्षेत्र नम्बर १ मा ७९ हजार ३६ जना र क्षेत्र नम्बर २ मा ७९ हजार ६ सय २१ मतदाता रहेका छन् ।
पाँचथर प्रतिनिधि सहमान विश्वकर्माका अनुसार पाँचथरको फिदिम नगरपालिका-४ सुखबोध मावि केन्द्रमा दुई पटक बम विष्फोट भएको छ । कसले विष्फोट गरायो भन्ने पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ । विष्फोटबाट कुनै क्षति नभएकाले मतदान सुचारू भएको पनि प्रहरीले जनाएको छ ।

म्याग्दी प्रतिनिधि अमृत पौडेलका अनुसार प्रतिनिधिसभा प्रदेशसभाको मतपत्र फरक मतपेटिकामा खसेको भन्दै विवाद भएपछि अन्नपूर्ण गाउँपालिका–५ शिखमा मतदान रोकिएको छ । प्रतिनिधिसभाको मतपत्र प्रदेशसभामा र प्रदेशसभाको मतपत्र प्रतिनिधिसभाको मतपेटिकामा खसेको भन्दै विवाद भएको थियो । शिख मतदान केन्द्रको बुथ क मा १ सय ५८ र मतदान केन्द्र ख मा १ सय ५५ मत खरेपछि मतदान राखिएको सिख माध्यमिक विद्यालय शिख मतदान केन्द्र ख का मतदान अघि अधिकृृत ताराबहादुर थापाले बताउनुभयो । दलहरू बिचमा मतदान प्रक्रिया सुरु गर्ने विषयमा छलफल भइरहेको भए निचोडमा पुग्न नसकेको थापाको भनाइ छ ।
रुकुम पश्चिम जिल्ला प्रतिनिधि मनिषा केसीकाअनुसार रुकुम कारागारमा रहेका ६४ जना कैदीबन्दीले मतदान गरेका छन् । कारागार कार्यालयमा तोकिएको अस्थायी मतदान केन्द्रमा ६४ जना कैदीबन्दीहरुको मत खसेको छ । मतदान अधिकृत लक्ष्मण बिकका अनुसार ६६ जना कैदीबन्दीको नामावली रहेको भएतापनि ६४ जनाको मात्र मत खसेको हो । नामावलीमा नाम समावेश भएका मध्य दुई जना कैदीबन्दी हाल रुकुम कारागारमा नरहेकोले मत नखसेको बताइएको छ । रुकुम कारागारमा रहेका १ सय २४ जना कैदीबन्दी मध्ये अन्तिम मतदाता नामावलीमा ६६ जनाको मात्र नाम समावेश रहेको थियो । अस्थायी मतदाताको लागि तोकिएको अवधिभित्र विवरण पेश गरेका कैदीबन्दीहरुले प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था रहेको छ ।
हुम्ला जिल्ला प्रतिनिधि नन्द सिंहकाअनुसार सर्केगाड गाउँपालिका–३ को देवकोटा आधारभूत विद्यालय केन्द्रमा अवरुद्द मतदान पुनः सुरु भएको छ । झडप भएपछि तनावपूर्ण बनेको उक्त केन्द्रमा मतदान सुचारु भएको हो । वारेसनामा विवादका कारण सत्ता गढबन्धनका उम्मेदवार कार्चेन लामा र स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीका कार्यकर्ताबीच झडप भएको थियो । त्यसक्रममा सहायक मतदान अधिकृत प्रेम भण्डारी र नेपाली सेनाका हुद्दा अर्जुन उपरकोटी घाइते भएका थिए । उनीहरुको टाउकोमा चोट लागेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १७ राउन्ड हवाइफायर गरेको थियो ।
इन्सेक अर्घाखाँची प्रतिनिधि कूलबहादुर नेपालीका अनुसार मालारानी गाउँपालिका–३ आदर्श मतदान केन्द्रमा प्रदेश सभाको पतपेटिकामा प्रतिनिधि सभा र प्रतिनिधि सभाको प्रदेश सभाको मतपत्र परेपछि मतदान स्थगित भएको छ । सर्वदलीय बैठक बसेर समाधानको प्रयास भइरहेको छ ।
ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाँका अनुसार जिल्ला कारागार ओखलढुङ्गामा मतदान सम्पन्न भएको छ । कारागारमा ५८ कैदी ३३ बन्दी गरी ९१ जना मतदाता थिए । कारागारका २५ जना कैदीबन्दी र ३ कर्मचारी गरी २८ जनाले मतदान गरेको मतदान अधिकृत रेजन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मतदाता मध्ये तीन जना महिला र २५ जना पुरुष छन् ।
तेह्रथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार तेह्रथुमको रत्नमावि मतदान केन्द्रमा मतदान गर्न आउनुभएका ८८ वर्षीय योङहाङ्दप लिम्बुको मृत्यु भएको मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न मतदान अधिकृतहरुलाई निर्देशन दिएको छ । कतिपय जिल्लामा राजनीतिक दल, उम्मेदवार वा निर्वाचन बहिस्कार गर्ने पक्षका कारण मतदान स्थगित भइरहेको छ । तर, आयोगले स्थगित भएको मतदान कार्य तत्काल सुरु गर्न र साँझ ५ गतेसम्म स्थगित भएको सूचना नटाँस्न निर्देशन दिएको आयोगले बताएको छ । आयोगले फेसबुकमा लेखेको छ-‘साँझ ५ बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ । स्थगित गर्नैपर्ने भए निर्वाचन आयोगको पूर्वसहमति लिनुपर्नेछ ।’
बाँके इन्सेक पर्यवेक्षक शेरबहादुर शाहीका अनुसार कोहलपुर नगरपालिका त्रिभुवन मावि मतदान केन्द्रमा स्वतन्त्रबाट प्रदेश सभा (ख) उम्मेदवार अर्जुन शाहको चुनाव चिन्ह नभएको मत निर्वाचन अधिकृतले मतदातालाई दिएको पाइएपछि निर्वाचन स्थगित भएको छ । उहाँका अनुसार ३० ओटा मतपत्र चुनाव चिन्ह नभएका परेका छन् ।
धनकुटा प्रतिनिधि इश्वर थापाका अनुसार जिल्ला कारागार धनकुटामा मतदान सम्पन्न भएको छ । कारागारमा रहेका ८८ कैदीबन्दी मध्ये ४२ जना मतदाता रहेका थिए। जसमा एक जनाको मृत्यु भएको र एक जना भर्खरै छुटेका कारण ४० जनाले मतदान गरेको मतदान अधिकृत शिव श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार मतपेटिका शीलको कार्यक्रम ५ बजे मात्रै हुनेछ।
डोटी प्रतिनिधि गणेश जोशीका अनुसार के आइ सिह गाउँपालिका वडा नम्बर ५ स्थित भुवेनेश्वरी मावि मतदान केन्द्र नजिकै अज्ञात पक्षले राखेको प्रेसर कुकर बम नेपाली सेनाको डिस्पोजल टोलीले दिउसो १२ बजे निष्कृय पारेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भोला भट्टले बताउनु भयो । जिल्लाका अन्य मतदान केन्द्रमा शान्तिपूर्ण नै मतदान कार्य सञ्चालन भइरहको र सुरक्षा व्यवस्था कडा पारिएको समते जिल्ला प्रहरी कार्यालयका डिएसपी भट्टले बताउनु भयो ।
कञ्चनपुर प्रतिनिधि लिली कुँवरका अनुसार धर्मेन्द्र बास्तोला निकट नेकपा बहुमतका आठ जना कार्यकर्तालाई प्रहरीले भिमदत्त नगरपालिकास्थित भृकुटी मदतदान स्थलबाट मङ्सिर ४ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा बहुमत पार्टीका जिल्ला सयोजक नक्साल विष्ट, क्रान्तिकारी विद्यार्थी संगठनका जिल्ला उपाध्यक्ष विरेन्द्र शाह, युवक संगठनका इन्चार्ज दिपेन्द्र ऐरी, सुरेन्द्र धानुक, विरेन्द्र नाथ, सुरज नाथ र सुरज मल्ल रहेका छन् ।
मतदान प्रभावित पार्न भीमदत्त नगरपालिका–६ र पुनर्वास नगरपालिका–१ र २ स्थित मतदान स्थल नजिकै अज्ञात पक्षद्धारा राखिएका तीन ओटा बम नेपाली सेनाको डिस्पोजल टोलीले मङ्सिर ४ गते विहान ७ बजे निष्कृय पारेका छ । बम निष्कृय पारेपछि मतदान कार्य सुचारु भइरहेको छ भने सुरक्षाकर्मीहरुले सुरक्षा व्यवस्था पनि कडा पारेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहले बताउनु भयो ।
इलाम प्रतिनिधि बबिता मैनालीका अनुसार इलाम क्षेत्रनम्बर १ माइ जोगमाई नगरपालिका–५ शिरिसे मावि मतदान केन्द्र भन्दा ५० मिटर टाढा बम विष्फोट हुँदा १० मिनेट मतदान प्रभावित भएको छ । नेपाली सेनाले घटनास्थल नियन्त्रणमा लिएको छ ।
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार क्षेत्रीय कारागार झुम्कामा विहानको ११ बजे मतदान सम्पन्न भएको छ । कारागारमा ४० जनाले मतदान गरेका छन् । सुनसरीमा हालसम्म ३५ प्रतिशत मतदान सम्पन्न भइसकेको छ । मतदान शान्तिपूर्ण रुपमा भइरहेको छ ।
संखुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार चैनपुर नगरपालिका–६ सरस्वती मावि मतदान केन्द्रमा ४५ वटा मतपत्र साटफेर भएपछि मतदान स्थगित भएको छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ तारेबराह आधारभूत विधालयमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरू सुर्य दमाइ, सुकबहादुर परियार, निशनकुमार पुन र हरिबहादुर विष्टलाई मतपेतिका तोडफोड गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ । आरोपितहरूले मतपेटिका तोडफोड गरेपछि केही समय मतदान स्थगित भएको थियो ।
संखुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार खाँदवारी नगरपालिका –१ महेन्द्र मावि मतदान केन्द्रमा मतपत्र साटफेर भएपछि डेढ घण्टा मतदान स्थगित भएको छ । प्रदेशसभा (१) को मतपत्र संघ र संघको मतपत्र प्रदेशभा (१)मा आएपछि मतदान स्थगित भएको हो । मतपत्र संख्याको आधारमा मत गणना गर्ने सहमति भएपछि मतदान पुनः सुरू भएको सहायक मतदान अधिकृत इन्द्रप्रसाद सापकोटाले बताउनुभयो ।
बाजुरा जिल्ला प्रतिनिधि पदमबहादुर सिंहका अनुसार जिल्लाका तीन ओटा मतदान केन्द्रमा बिवाद उत्पन्न भएपछि मतदान कार्य स्थगित भएको छ । बुढिगंगा नगरपालिका वडा नम्बर ८ को मतदान केन्द्र, बुढिनन्दा नगरपालिका वडा नम्बर ५ र स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर ३ र ४, बुढिनन्दा नगरपालिका वडा नम्बर ५, त्रिवेणी नगरपालिका वाड नम्बर ३ र ७, जगन्नाथ गाउँपालिका वडा नम्बर ४ मतदान केन्द्र गरी आठ स्थानमा मतदान स्थगित गरिएको छ । बिहान १० बजेको समयमा फर्जीमत खसाल्न खोज्दा विभिन्न राजनीतिक दलहरुको विवादपछि मतदान प्रक्रिय स्थगित भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुर्य थापाले बताउनु भयो । विवादका क्रममा राजनीतिक दलहरुबिच झडप हुँदा नियन्त्रणमा लिनका लागि प्रहरीले हवाई फाइर समेत गरेको जनाएको छ ।
बुढीगङ्गा नगरपालिका वडा नम्बर ७ स्थित सारदा मावि मतदान केन्द्रमा पर्यवेक्षणका लागि खटिनु भएका नियोकका पर्यवेक्षक शेरबहादुर रावतलाई नेपाली कांग्रेसका जिल्ला सचिव तिलक पुरीको निर्देशनमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले कुटपिट गरेका छन् । पर्यवेक्षक रावलले प्रयोग गर्नु भएको सु प्र प्र ०११ प ३१०८ नम्बरको मोटरसाइकल र पर्यवेक्षक परिचयपत्र समेत जफत गरिएको पर्यवेक्षणमा खटिनु भएका इन्सेकका जिल्ला प्रतिनिधि पदमबहादुर सिंहले बताउनु भयो ।
बुढीगङ्गा नगरपालिका–७ स्थित शारदा मावि मतदान केन्द्रमा पर्यवेक्षणमा खटिनु भएका इन्सेकका जिल्ला प्रतिनिधि पदमबहादुर सिंहलाई समेत नेपाली कांग्रेसका कार्यकर्ताहरुले दुव्र्यवहार गरी उहाँले प्रयोग गर्नु भएको से ७ प ७१५३ नम्बरको मोटरसाईल समेत ३० मिनेट नियन्त्रणमा लिएर मात्रै फिर्ता गरेका थिए । सुरक्षाको सन्दर्भमा निर्वाचन केन्द्रमा खटिएका प्रहरीहरुलाई जानकारी गराउँदा समेत प्रहरी मुखदर्शक मात्रै बनेको र आफूहरुको सुरक्षा व्यवस्था नभएपछि मार्तडी फर्किएको पीडित शेरबहादुर रावतले बताउनु भयो ।
दाङ प्रतिनिधि जयनारायण पुनका अनुसार मतदान स्थगित चार ओटै मतपत्र प्रदेश शभाको मात्रै विसर्जन भयपछी दाङ तुलसीपुर उमनपा-१० जनजागृती मावि मतदानस्थलको ग मतदान केन्द्रको मतदान स्थगित भएको छ । चार ओटै मतपत्र प्रदेश सभाको मात्रै ववितरण भएको पाइएपछि बिहान ११ बजेदेखि उक्त केन्द्रको मतदान रोकिएको छ । प्रतिनिधि सभाको उम्मेदवारको चिन्ह नै मतदाताले नभेटेपछि यस्तो सो कुरा थाहा भएको हो । ग केन्द्रमा ९२ मत खसिसकेको छ । उक्त मत पेटिका, मतपत्रको ठेली, मुचुल्का उठाएर शील गर्ने अनि नयाँ मतपत्र, मतपेतिका ल्याएर पुनः मतदान गर्न प्रारम्भिक सहमति भएको मतदान अधिकृत पुष्पलता घर्तिले जन्कारी दिनु भयो । यो मतदानस्थल्को क र ख केन्द्रमा मतदान भइरहेको छ । स्थगित गरिएको केन्द्रमा ७ सय २८ मतदाता छन् ।
बर्दिया प्रतिनिधि मानबहादुर चौधरीका अनुसार गुलरिया नपा-२ शम्भुशरण मावि मतदान केन्द्र नजिकै प्रेसर बम बिष्फोट भएको छ । बिष्फोटबाट मानवीय क्षति नभए पनि मतदाताहरू त्रसित बनेका थिए । बिष्फोट पछि दुई घण्टा मतदान रोकिएर पुनः सुरू भएको छ । राजापुर नपा–८ भेरी मतदान केन्द्रको १ सय मीटर पूर्व र गुलरिया नपा–३ खैरापुर शम्भुशरण माविबाट करिब ३ सय मीटर टाढा कल्भर्टमा भेट्टिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ । यसैगरी, बढैयाताल गाउँपालिका–२ जगतीया सरस्वती मावि मतदान केन्द्र नजिक र ठाकुरबाबा नपा–२ अम्बासा पूर्व पश्चिम राजमार्गमा शङ्काष्पद बस्तु भेट्टिएको छ । नेपाली सेनाको टोलीले निष्क्रिय गर्न उक्त ठाउँमा पुगेको प्रहरीले जनाएको छ । यसैगरी, गुलरिया नपा–६ टाउन हल मतदान केन्द्रमा मतपेटिकामा प्रदेश सभाको प्रतिनिधि सभा र प्रतिनिधि सभाको प्रदेश सभामा स्टीकर टाँसिएको पाइए पछि विवाद हुँदा ७.३० बाट मतदान सुरू भएको छ ।
पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार मोदी गाउँपालिका-६ तिलाहारको ख केन्द्रमा मतदान कार्य स्थगित भएको छ । मतदान अधिकृतले प्रदेशसभातर्फको मतपत्र दिने क्रममा प्रतिनिधिसभाको मतपत्र दिएपछि बिहान साढे १० बजेदेखि मतदान कार्य स्थगित भएको हो । अहिले समस्या समाधानका लागि सर्वदलीय बैठक बसिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता राजु ढुङ्गानाले जानकारी दिनु भएको छ ।
हुम्ला प्रतिनिधि नन्द सिंहका अनुसार सर्केगाड गाउँपालिका-३ देवकोटा आधारभूत विद्यालय उनापानीमा गठबन्धन र स्वतन्त्र उम्मेदवारका कार्यकर्ताबिच झडप हुँदा दुई जना म्यादी प्रहरी र सहायक मतदान अधिकृत प्रेम भण्डारी सामान्य घाइते भएका छन् । ६० मत खसेपछि झडप भएको थियो । त्यसपछि झडप सुरु भयो । झडप भएपछि नियन्त्रणमा लिन नसकेको र झडप नियन्त्रणमा लिनका लागि सदरमुकाम सिमकोटबाट इन्स्पेक्टर राजन रोकायको नेतृत्वमा ३० जना थप सुरक्षाकर्मी खटाएको प्रहरीले जनाएको छ । दुई पक्षाबिच एक आपसमा ढुङ्गा प्रहार भएको र केही मतपत्र समेत च्यात्तिएको प्रहरीले जनाएको छ ।
इन्सेक पर्यवेक्षक सवनम शर्माकाअनुसार पोखरा महानगरपालिका मौला इस्लामिक विद्यालय कुँडहर वडा नम्बर १३ ‘ख’ मा प्रदेश सभा र प्रतिनिधि सभा समानुपातिक र प्रत्यक्ष तर्फको १४ वटा मतपत्र एउटै मतपेटिका खसालेको विषयमा वविाद हुँदा केही समयका लागि स्थगित मतदान १३ जना मतदाताहरुलाई पुन मतदान गरेपछि र १ जनालाई बेलुकासम्ममा ल्याउने सहमतिपछि मतदान प्रक्रिया फेरि सुचारु भएको छ ।
सिन्धुपाल्चोक प्रतिनिधि नातिबाबु धितालका अनुसार चौतारा सागाचोकगढी नगरपालिका–७ स्थित सिद्धिगणेश माविको मतदान केन्द्र आसपासका ठाउँमा सत्ता गठबन्धनमा संलग्न दलले मतदाताहरूलाई प्रभावित गर्ने गरी दुई ठाउँमा भोजको व्यवस्था गरेका छन् । त्यसको लागि मतदातालाई कुपन समेत बाँडिएको अनुगमनका क्रममा पाइयो । यसैबिच साँगाचोकगढी नगरपालिका–४ कुभिण्डेको मतदान केन्द्रमा सत्ता गठबन्धनका एक घटक नेकपा माओवादी र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । सशस्त्र प्रहरीले घटनास्थल नियन्त्रणमा लिई सुरक्षा दिएपछि मतदान सुचारु भएको छ ।


चितवन प्रतिनिधि दीपेन्द् अधिकारीकाअनुसार राप्ती नगरपालिका-८, खिर्कीस्थित ब्रम्हस्थानी विद्यालय मतदान केन्द्रमा नेपाल कम्युनिष्ट पार्टी विप्लव कार्यकर्ताद्वारा मतपेटिका जलाउने प्रयास गरेका छन् । निर्वाचन बहिस्कारको घोषणा गरेको विप्लव समूहले मङ्सिर ४ गते बिहान आसपासका पर्खाल नाघेर मतपत्र जलाउने प्रयास गरेका थिए । सो क्रममा एक जनाको ज्याकेट जलेको थियो । करिब ५० जनाको सङ्ख्यामा आएको समूहले मतपेटिका जलाउन खोजे पनि जल्न पाएन । सुरक्षाकर्मीको उपस्थितिपछि सो समूह त्यहाँबाट हिँडेको छ । घटनापछि एक छिन रोकएको मतदान पुनः सुचारु भएको छ ।
दाङ प्रतिनिधि जयनारायण पुनका अनुसार जिल्लामा बिहान ७ बजेदेखि मतदान शान्तिपूर्णरुपमा सुरू भएको छ । घोराही उपमनपा–१५ भरतपुरस्थित महेन्द्र बहुमुखी क्याम्पस नजिकै राखिएको शङ्काष्पद बस्तुलाई रणशिङ दल गण घोराहीबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले मतदान सुरूहुनु भन्दा १० मिनेट अघि निष्क्रिय गरेको छ । निष्क्रिय गरेको आवाजले मतदाता त्रास उत्पन्न भएको थियो। निर्वाचन प्रभावित पार्न मुख्य सडककमै शङ्कासष्पद बस्तु राखिएको प्रहरीले जनाएको छ ।
प्यूठान प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार २ सय २३ वटै मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाबाट ७ बजे देखि मतदान प्रक्रिया सुरू भएको छ । जिल्लाका बिभिन्न ठाँउ गरी ६ ठाँउमा शङ्कास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ । प्यूठान नपा— १० बाग्दुलामा प्यूठान खलंगा सडक, प्यूठान नपा— १० मारन्ठाना बजारमा, प्यूठान नपा— ९ बालविध्या मावि मजुवा मतदान केन्द्र भन्दा करिव १ सय मिटरको दुरीमा, प्यूठान नपा— ८ खपे्रङ खोला झिमरुक करिडोर सडकमा, प्यूठान नपा— ८ बाग्दुला हाडिगैरा जोडने झोलुगे पुल छेउमा र प्यूठान नपा— १० मारन्ठाना जोडने झोलुङ्गे पुल छेउमा एक गरी ६ ठाँउमा शङ्कास्पद बस्तु भेटीएको र नेपाली सेनाको बम डिष्पोजल टोलीले निष्क्रिए गरेको नेपाली सेनाका सेनानी मधु थापाले बताउनु भयो । उक्त शङ्कास्पद बस्तु निर्वाचन बहिष्कार गर्ने समूहले राखेको हुन सक्ने प्रहरीले जनाएको छ ।
बाँके प्रतिनिधि लक्ष्मी थारूका अनुसार जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान सुरू भएको छ ।
बाँकेका पर्यवेक्षक बालिका बुढाथोकीका अनुसार कोहलपुर नपा–३ जनता मावि मैटहवा मतदान केन्द्र नजिक बिहान ३ बजे शङ्काष्पद बस्तुलाई नेपाली सेनाको टोलील निष्क्रिय गरेको छ । बैजनाथ गाउँपालिका–४ नेरा मावि नौलापरमा ७.४२ देखि मतदान सुरू भएको छ । यसैगरी, जानकी गाउँपालिका–४ वडा कार्यालय शिवनगर मतदान केन्द्रमा कर्मचारीहरूको व्यवस्थापनको कमजोरीले गर्दा ढिलो गरी ७.३० बजेबाट मतदान सुरू भएको छ ।
गुल्मी प्रतिनिधि टोपलाल अर्यालका अनुसार जिल्लामा बिहान ७ बजेदेखि शान्तिपूर्ण तरिकाले मतदान सुरू भएको छ । मालिका गाउँपालिका– ५ छापहिले मावि मतदान स्थलमा मतदान प्रक्रिया रोकिएको छ । कर्मचारीले सुरूमा प्रतिनिधि सभाको मतपत्र दिनुपर्नेमा दुई ठाउँनै प्रदेश सभाको मतपत्र दिएपछि रोकिएको हो । सर्वदलीय छलफलबाट निकासको खोजी भइरहेको छ ।
मोरङ प्रनिनिधि विनोद सुवेदीका अनुसार मतदान केन्द्रभित्रै पटका पड्काइएपछि बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा मतदान स्थगित भएको छ । लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै विष्फोटको ठूलो आवाज आएको थियो ।
विष्फोटको आवाजसँगै मतदाताबिच भगदौड मच्चिएको थियो । बम विष्फोट गराइएको भनेर त्रसित हुँदै मतदाता भागेपछि मतदान स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनु भयो ।
‘सुरुमा बम विष्फोटको हल्ला चलेको थियो । बुझ्ने क्रममा पटका पड्काएको पाइएको छ ।’-उहाँले भन्नु भयो-‘मतदाताबिच भगदौड मच्चिएपछि केहीबेरका लागि मतदान स्थगित भएको छ । पुनः मतदान सुरु गर्ने तयारी हुँदैछ ।’
मतदान केन्द्रभित्र कसले पटका लग्यो र पड्कायो भन्ने बारेमा यकिन हुन बाँकी रहेको दाहालले बताउनु भयो । घटनामा संलग्नको खोजी भइरहेको उहाँले बताउनु भएको छ ।

मुगु प्रतिनिधि जीवन सेजुवालकाअनुसार खत्याड गाउँपालिकाको लोकप्रिग मावि गम्फा, महादेव मष्ता मावि रातापानी, सरस्वती मावि रिखिया, भगवती आधारभुत विद्यालय लाम्रु, ४ नम्बर वडा कार्यालय चिमाडुङ्रीमा र श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय शंकास्पद वस्तु भेटिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले वताउनुभयो । मतदान केन्द्रमा भेटिएका शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरिसकेको र अहिले सामान्य अवस्थामा मतदान भइरहेको छ ।
बाजुराका ३ ओटा मतदान केन्द्रमा विवाद,मतदान स्थगित
बाजुरा प्रतिनिधि पदम सिंहकाअनुसार बाजुरा जिल्लाका तीन ओटा मतदान केन्द्रमा विवाद हुँदा मतदान स्थगित भएको छ । जिल्लाको बुढीगङ्गा नगरपालिका वडा न ८ को मतदान केन्द्र बुढीनन्दा वडा न ५ र स्वामिकार्तिक खापर गाउँपालिका वडा ४ को मतदान स्थगित गरिएको छ । विभिन्न राजनीतिक दलका कार्यकर्ताबीच विवादपछि ती मतदान केन्द्रको मतदान प्रक्रिया अहिले स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्य थापाले बताउनु भएको छ ।
मुगुका ६ मतदानस्थलमा शंकास्पद वस्तु फेला
खत्याड गाउँपालिकाको लोकप्रिग मावि गम्फा, महादेव मष्ता मावि रातापानी, सरस्वती मावि रिखिया, भगवती आधारभुत विद्यालय लाम्रु, ४ नम्बर वडा कार्यालय चिमाडुङ्रीमा र श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय शंकास्पद वस्तु भेटिएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले वताउनुभयो ।
मतदान केन्द्रमा भेटिएका शंकास्पद वस्तु होक्स’ नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरिसकेको र अहिले सामान्य स्थिति मतदान भइरहेको छ ।
।
दाङ प्रतिनिधि जेएन पुनका अनुसार तुलसीपुर-१८ हेमन्तपुर वडा कार्यालय मतदान स्थल नजिक चौवाखोला पुल छेउमा राखिएको शंकास्पद वस्तु १९ न बाहिनी तुलसीपुरबाट आएको नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । यसैगरी तुल्सिपुर-१४ स्थित आधारभूत विद्यालय मतदान केन्द्रको ३ सय मिटर नजिक मुख्य सडकमा राखिएको प्रेसर कुकर बम पनि नेपाली सेनाले बिहान ८:३० बजे डिस्पोज गरेको छ । दाङमा मतदाताको सहभागिता न्यून देखिएको छ ।
हुम्लाको चार मतदान केन्द्र चिसोका कारण मतदान सुरू भएन
हुम्लाको नाम्खा गाउँपालिका– ६ का तीन मतदान केन्द र वडा– ५ को मुचुमा चिसोका कारण मतदान सुरू भएको छैन । अत्यधिक चिसोले नाम्खा–६ को तिल,जाङ, हलजी र वडा नम्बर– ५ को मुचुमा मतदान हुन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
लिमीको हल्जी गाउँको सुनखानी,आधारभूत विद्यालयको मतदान केन्द्र,जाङ गाउँको भृकुटी आधारभूत विद्यालय मतदान केन्द्र, तिल गाउँको हिमशिखर आधारभुत मतदान केन्द्र र मुचुको खासरपानी आधारभूत मतदान केन्द्रमा चिसोका कारण मतदान हुने नसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णराज ओझाले बताए ।
अहिले ५९ वटा मतदान केन्द्रमध्ये ५५ मतदान केन्द्रमा मतदान सुरू भइसकेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले बताए । जिल्लाका सबै मतदान केन्दमा शान्तिपूर्ण रूपमा मतदान सुरु भइरहेको निमित्त निर्वाचन अधिकारी रानाको भनाइ छ ।
मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार जिल्लामा विहान ७ बजेबाट मतदान शान्तिपूर्ण ढङ्गमा सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले विहान ७ बजे मतदान सुरु भएको बताउनु भयो । जिल्लाका ८ सय ३९ ओटै मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताउनु भयो । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर जिल्लामा १३ हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको छ । निर्वाचन सम्पन्न गराउन ७ हजारभन्दा बढी सुरक्षाकर्मी र ६ हजारभन्दा बढी कर्मचारी परिचालन गरिएका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताउनु भयो । मतदानस्थल ३ सय ६ वटा रहेको मोरङमा ८ सय ३९ वटा स्थायी र २ वटा अस्थायी मतदान केन्द्र छन्। मोरङमा ७ लाख ३५ हजार ५ सय २५ मतदाता छन्। जसमा ३ लाख ७४ हजार ३ सय २६ पुरुष र ३ लाख ६१ हजार १ सय ९३ महिला छन् । मोरङमा ६ प्रतिनिधिसभा र १२ प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । जिल्ला कारागारमा रहेका २ सय १ जना कैदीबन्दीले कारागारमै कायम गरिएको अस्थायी मतदान केन्द्रबाट मतदान गरेका छन् ।
इन्सेक तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार तनहँको घिरिङ गाउँपालिका– १ को कृष्ण मावि मतदान केन्द्रमा बिहान ८.३० बजेसम्म मतदान सुरु भएको छैन । प्रहरीले गए राती एमालेका दुई जना कार्यकर्तालाई पक्राउ गरेको उनीहरूको रिहाइ नभएसम्म मतदान गर्न एमालेले अवरोध गरेको छ ।
दैलेख जिल्ला प्रतिनिधि अमर सुनारका अनुसार दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नम्बर ५ स्थित जनता मावि बस्ताकोट मतदानस्थलमा शंकास्पद वस्तु फेला परेपछि मतदान रोकिएको मतदान ८.३० बजेपछि मतदान शुरुभएको कर्णाली प्रदेशका डिआइजी कोषराज पोख्रेलले बताउनुभएको छ ।
इन्सेक गोरखा जिल्ला प्रतिनिधि हरेराम उप्रेतीका अनुसार गोरखा नगरपालिका–८ स्थित वल्ड क्यापिटल मतदान केन्द्रमा कुकुर र तारजडित शंस्कास्पद वस्तु भेटिएको छ । मतदान केन्द्रको नजिकै शंस्कास्पद वस्तु भेटिएको र डिस्पोजका लागि नेपाली सेनाको टोली पुगीसकेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताउनुभयो । मतदान प्रक्रिया भने चलिरहेको छ ।




बारा प्रतिनिधि भोलानाथ पौडेलका अनुसार करैमाइँ गाउँपालिका–३ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय बजनी टोलमा रहेको मतदानस्थलमा बिहान ८ बजेर ११ मिनेट भइसक्दा पनि मतदान प्रक्रिया सुरु भएको छैन ।
मनतदान अधिकृत गंगाप्रसाद सापकोटाले तयारी गर्दागर्दै ढिलो भएको जानकारी दिनु भएको छ । मतदाताहरू बिहान साढे ६ बजेदेखिनै मतदान गर्न मतदान केन्द्र बाहिर उभिएका छन् ।
धनुषा प्रतिनिधि दिपेन्द्र प्रसाद सिंहका अनुसार प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि आज विहान ७ बजेदेखि मतदान कार्य सुरु भएको छ । निर्वाचनको सम्पूर्ण तयारी मङ्सिर ३ गते नै गरिएकोले अधिकाँश मतदान स्थलमा निधारित समयमै मतदान सुरु भएको हो ।

इन्सेक हुम्ला जिल्ला प्रतिनिधि अनुसार हुम्ला जिल्लाको नाम्खा गाँउपालिका –१ नाम्खा ख्यामजोङ प्रावि धिगा मतदान केन्द्रमा मतदान शुरु भएको छैन । लामा समुदाय भएको मतदान केन्द्र हो । मतदाताहरू समयमा नआइपुग्दा ढिलो भएको हो ।






दाङमा बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । घोराही-१५ भरतपुरस्थित महेन्द्र बहुमुखी क्याम्पस नजिकै राखिएको शंकास्पद वस्तुलाई रणसिं दल गण, घोराहीको नेपाली सेनाको बम डिस्पोजल टोलीले मतदान हुनु १० मिनेट अघि डिस्पोज गरेको छ । निर्वाचन प्रभावित पार्न मुख्य सडकमै शंकास्पद वस्तु राखिएको प्रहरीले जनाएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी
३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मिर्चैया नगरपालिका–१२ का ४० वर्षीय रामदेव दास विरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय मिर्चैयामा असोज ९ गते उजुरी दिनु भयो । पीडित पक्षका…
यौन दुर्व्यवहार घटनाको कसुरमा बालकलाई सुधार गृहमा राख्ने फैसला
नौ वर्ष ३ महिना १५ दिनकी बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा १४ वर्ष ५ दिनका बालकलाई २०८० असोज ८ गते साढे १ वर्ष बाल सुधार गृहमा राख्ने फैसला भएको छ…
फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नु पर्ने मागसहित अभियन्ता ईः आठ दिनदेखि धर्नामा
फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नु पर्ने मागसहित अभियन्ता ईशान श्रेष्ठ (ईः ) आठ दिनदेखि काठमाडौँ महानगरपालिका मेयरको कार्यालय अगाडि धर्नामा बस्नुभएको छ । फुटपाथ व्यवसायीमाथि महानगरपालिकाले दुर्व्यवहार गर्न बन्द गरिनु…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजाय फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश उद्धव भट्टराईको इजलासले ०८० असोज ९ गते स्याङ्जाको वालिङ नगरपालिका-६ का २३ वर्षीय रेमन गुरुङ र चितवनको रत्ननगर नगरपालिका-१६ का २३…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-१० का वडाध्यक्ष ३५ वर्षीय छविरमण धमलालाई असोज ९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८० असार २५ गते बलात्कार…