प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रक्रिया सुरु, असोज २ र ३ गते दलहरूले समानुपातिकतर्फको बन्दसूची बुझाउन सक्ने

  ०७९ असोज २ गते

प्रतिनिधि सभा र प्रदेश सभाको पाँच वर्षे कार्यकाल समापन भएसँगै असोज २ र ३ गतेका लागि नयाँ निर्वाचन प्रक्रिया सुरु भएको छ ।

सरकारले आगामी मङ्सिर ४ गते निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले निर्वाचनका लागि आयोगमा दर्ता भएका राजनीतिक दलहरूलाई २०७९ असोज ३ गतेसम्म समानुपातिकतर्फको बन्दसूची पेश गर्न भनेको थियो ।

आयोगका अनुसार प्रतिनिधि सभातर्फ १ सय १० र प्रदेश सभातर्फ २ सय २० समानुपातिक तर्फका लागि दलहरूले उम्मेदवारको बन्दसूची पेश गर्नुपर्ने हुन्छ ।

निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरूले आयोग परिसरमै स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालयमा गएर आफ्ना दलको तर्फबाट पेश गर्ने समानुपातिकतर्फको बन्दसूची बुझाउन सक्नेछन् ।

राजनीतिक दलहरूले समानुपातिकतर्फको बन्दसूचीमा उम्मेदवारको नाम राख्दा निर्वाचित हुने कुल सदस्य सङ्ख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनेगरी बन्दसूची तयार गर्नुपर्नेछ ।

त्यसमा ५० प्रतिशत महिला र समावेशी प्रतिनिधित्व अनिवार्य गरिएको छ ।

निर्वाचन आयोगले यसअघि नै आगामी असोज २३ गते प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारहरूको मनोनयन दर्ता गर्ने कार्यतालिका प्रकाशन गरिसकेको छ ।


विमल पौडेल