प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रूपमा सुचारू (अपडेट बिहान ११:१० बजे)

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन, २०७४ अन्तर्गत पहिलो चरणको निर्वाचन मङ्सिर १० गते सुरू भएको छ । चिसोका कारण जुम्लामा एक घण्टा ढिला मतदान सुरू भएको छ भने डोल्पामा आधा घण्टा ढिला मतदान सुरू भएको इन्सेकका जिल्ला प्रतिनिधिबाट प्राप्त समाचारमा जनाइएको छ । रूकुमको आठबिसकोट नपामा बम विष्फोट भएको समाचार प्राप्त भएको छ । थप विवरण प्राप्त भएको छैन ।

यसैगरी रोल्पा जिल्लामा अनुगमनमा रहेका इन्सेकका क्षेत्रीय संयोजक भोला महतका अनुसार रोल्पामा बिहान सात बजेबाट मतदान सुरू भएको छ । रोल्पास्थित इन्सेक जिल्ला प्रतिनिधि माधव ओलीका अनुसार सुकीदह गाउँपालिका-४ को वीरेन्द्र मावि मतदान केन्द्रदेखि करिब ३ सय मिटर टाढा बम विष्फोट भएको छ ।

यसैगरी रोल्पाकै माडी गाउँपालिका-१ तेदीखोलामा पनि बम विष्फोट भएको समाचार प्राप्त भएको छ । रोल्पाको थवाङमा बिहान १० बजेसम्म २ सय मत खसेको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताए । थवाङमा कूल मतदाता सङ्ख्या २ हजार ७ सय रहेको छ ।

यसैगरी मुगु जिल्लाका अधिकाश मतदान केन्द्रमा बिहान सात बजेबाट मतदान सुरू भएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिएको इन्सेक जिल्ला प्रतिनिधि जिवन सेजवालले बताए ।

जाजरकोटस्थित इन्सेक प्रतिनिधि दिनेशकुमार श्रेष्ठका अनुसार बिहान सात बजेदेखि शान्तिपूर्ण रूपमा मतदान सुरू भएको छ । कालीकोट जिल्लामा बिहान सात बजेदेखि मतदान सुरू भएको समाचार प्राप्त भएको छ ।

मुगु, मुगुमकार्मरङ गाउँपालिका-४ स्थित नेपाल राष्ट्रिय आधारभूत प्राथमिक केन्द्र खारी मतदान केन्द्रका कर्मचारीले मतपेटिकाको सिल नगरेका कारण बिहान १०:४५ बजेसम्म मतदान हुन सकेको छैन । सुर्खेतबाट हेलिकप्टर मगाई उक्त मतदान केन्द्रमा मतपेटिकाको सिल पुर्‍याउन हेलिकप्टर गएको जनाइएको छ । खारी मतदान केन्द्रमा १ सय ६६ मतदाता रहेका छन् ।

जाजरकोट, भेरी नपा-४ स्थित कस्तुरी मतदान केन्द्र (क) मा नेपाली काङ्ग्रेसका उम्मेदवारले राखेको प्रतिनिधिद्वारा मतदान केन्द्रको लाइनमा बसेका मतदातालाई प्रचार गरेको विषयमा वाम गठबन्धनका कार्यकर्ताले विरोध जनाएपछि उक्त मतदान केन्द्रमा बिहान १०:३० बजेबाट मतदान रोकिएको छ । रोकिएको मतदान बिहान ११ बजेसम्म सुरू भएको छैन ।

कालीकोट जिल्ला प्रतिनिधि कालीबहादुर मल्लका अनुसार गए राति प्रहरी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताबिच झडप भएको छ ।

शान्नित्रिवेणी गाउँपालिकाको मुर्मा गाउँमा मङ्सिर ९ गते राति १० बजे प्रहरी र नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताबिचको झडपमा नेपाल प्रहरीतर्फ दुई जना र नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता घाइते भएको नेपाल कम्युनिष्ट पार्टीका कालीकोट जिल्ला सेक्रेटरी मनिलाल ऐडीले जानकारी दिए ।

सेक्रेटरी ऐडीका अनुसार प्रहरीको गोली लागि आफ्नो पार्टी कार्यकर्ता टन बिक र महेन्द्र शाही घाइते भएका छन् । टन बिकको घाँटीमा गोली लागेको सेक्रेटरी ऐडीले जानकारी दिए ।

प्रहरीतर्फ सई गिरीराज भण्डारी र प्रहरी जवान राम चौधरी घाइते भएको नेपाल कम्युनिष्ट पार्टीले जनाएपनि जिल्ला प्रहरी कार्यालयका डिएसपी सुभाषचन्द्र बोहोराले कुनै घटना नभएको प्रतिक्रिया दिए ।

प्रहरी र नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताबिचको झडपमा मुर्मा गाउँस्थित ठिगेली आधारभूत विद्यालय मतदान केन्द्र क्षति पुगेका कारण मङ्सिर १० गते बिहान ११ बजेसम्म मतदान प्रक्रिया सुरू नभएको उक्त मतदान केन्द्रका मतदान अधिकृत नन्द देवकोटाले जानकारी दिएका छन् । जिल्लाका अन्य मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सुचारू भएको छ ।


इन्सेक क्षेत्रीय कार्यालय, नेपालगञ्ज