प्रतिनिधि सभा र प्रदेशसभाका लागि सामानुमातिकतर्फको बन्दसूची पेस गर्ने कार्यतालिका स्वीकृत

  ०७९ साउन २४ गते

निर्वाचन आयोगले ०७९ मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजनको लागि आन्तरिक कार्यतालिका स्वीकृत गरेको छ ।

आयोगका प्रवक्ता सालिग्राम शर्मा पौडेलका अनुसार समानुपातिकतर्फको बन्दसूची पेस गर्ने कार्यतालिका असोज २ र ३ गतेका लागि तय गरिएको छ ।

त्यस्तै असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्त गर्ने, २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यतालिका तय भएको छ ।

आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन दर्ता असोज २३ गते हुनेछ । त्यस्तै असोज २६ गते अन्तिम मतदाता नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका रहेको छ  ।

०७९ असोज २८ गतेदेखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ ।

आयोगको कार्यतालिका अनुसार मङ्सिर १ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुने छ भने ०७९ मङ्सिर ४ गते बिहान सात बजेदेखि पाँच बजेसम्म मतदान हुनेछ ।

निर्वाचन आयोगले यसअघि साउन २१ गते एक सूचना जारी २२ गतेदेखि साउन ३१ गते सम्म निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय तोकेको छ ।


विमल पौडेल