चितवन क्षेत्र नं. २ मा उपनिर्वाचन गर्ने निर्वाचन आयोगको निर्णय

  ०७९ माघ २९ गते

निर्वाचन आयोगले प्रतिनिधिसभा चितवन क्षेत्र नं. २ का लागि ०८० वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार माघ २९ गते बसेको निर्वाचन आयोगको बैठकले ०८० वैशाख १० गते रिक्त रहेको प्रतिनिधिसभा चितवन क्षेत्र नं. २ मा उपनिर्वाचन गर्ने निर्णय गरेको बताउनुभयो ।

गत ०७९ मङ्सिर ४ गते भएको आम निर्वाचनमा चितवन क्षेत्र नं. २ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नागरिकता सम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दामा अदालतको संबैधानिक इजलासले लामिछानेको नागरिकता र संसद पद बदर गर्ने निर्णय गरेसँगै उक्त क्षेत्रको प्रतिनिधिसभा सदस्य पद रिक्त रहेको थियो ।

सोही रिक्त रहेको स्थानमा निर्वाचन आयोगको बैठकले उपनिर्वाचनको मिति तोकेको हो ।

आयोगका अनुसार ०८० वैशाख १० गते हुने उपचुनावका लागि ०७९ चैत २० गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहनेछ । आयोगले चैत २१ गते उम्मेदवारबारे दाबी विरोध गर्ने दिन तोकेको छ भने त्यस्तो दाबी विरोधमाथि अनुसन्धान गरी निर्णय दिने दिन चैत २२ गते हुने बताएको छ ।

आयोगको सूचना अनुसार चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरि र चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।


विमल पौडेल