प्रतिनिधिसभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित
प्रतिनिधिसभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक साउन ३० गते पारित भएको छ । प्रतिनिधि सभाको साउन ३० गतेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो) संशोधन विधेयक, २०८१ लाई पारित गरियोस् ’ भनी राख्नुभएको प्रस्ताव बहुमतबाट पारित भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले शान्ति प्रक्रियालाई पूर्णता दिन राजनीतिक दलहरूबिच भएको सहमतिले नयाँ इतिहास रच्ने विश्वास व्यक्त गर्नु भयो ।
“शान्ति प्रक्रिया अन्तिम चरणमा आइपुगेको छ । अब धेरै ढिला नगरौँ । दुईदुई पटक दुवै आयोगमा पदाधिकारी नियुक्ति गर्यौँ । राज्यको लगानी खेर गयो । पीडित परिवार न्यायको प्रतीक्षामा छन् । जघन्य अपराध गर्नेले दण्ड पाउनुपर्छ । शान्ति प्रक्रियालाई पूर्णता दिन केही राजनीतिक दलमात्र मिलेर हुँदैन, सबै राजनीतिक दलको साझा विषय बनाउनुपर्छ ।”-उहाँले भन्नुभयो-“आज महत्वपूर्ण विधेयक पारित हुँदैछ । यसले नयाँ इतिहास कायम गर्नेछ ।”
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रियाको पूर्णतासँगै राजनीतिक क्रान्तिको एउटा अध्यायले समेत पूर्णता पाएको बताउनु भएको छ । अध्यक्ष दाहालले अब परिवर्तनका उपलब्धि संस्थागत गर्दै समृद्धिको यात्रातर्फ अघि बढ्ने ढोका खुलेको बताउनु भयो ।
“शान्ति प्रक्रियासँग अभिन्न अङ्गका रुपमा सम्बन्धित सङ्क्रमणकालीन न्यायसम्बन्धी राजनीतिक सहमतिअनुसार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको विधेयक आज सदनले अनुमोदन गरेको छ । यो सहमतिसँगै शान्ति प्रक्रियाले पूर्णता पाएको छ । इतिहासलाई न्याय र सहिदको सपनाको सम्मान गरेको छ ।”-पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो ।
नेपालमा शान्ति–प्रक्रियाको आफ्नै ढाँचाको परिकल्पना गरिएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले यसले बहुलवादको रक्षा, लोकतान्त्रिक प्रणाली स्थापित, परम्परागत संसदीय राजनीतिभन्दा सामाजिक न्याय तथा पूर्ण लोकतन्त्रको प्रवर्धनमार्फत सम्पूर्ण नेपाली जनतालाई शान्ति र सुशासनको प्रत्याभूति गराउने विश्वास व्यक्त गर्नुभयो ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति प्रक्रियाको अभिन्न अङ्ग सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्याउने विषय सहमतिमा पुग्नु नेपालको राजनीतिक इतिहासमा ऐतिहासिक महत्व भएको बताउनुभएको छ ।
पूर्व प्रधानमन्त्री देउवाले भन्नु भयो-“हामीले समग्रमा शान्तिप्रक्रियाको बाँकी रहेका अध्यायलाई विश्वसनीय प्रक्रियाबाट पूरा गर्ने काम गरेका छौँ । त्यसमा आज हामी सबै राजनीतिक शक्ति र सरोकारवाला पक्ष एकस्वरमा सर्वसम्मतिका साथ उपस्थित भएका छौँ । यो आफैँमा एउटा ऐतिहासिक उपलब्धिको घडी हो ।”
नेकपा एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री र सबै पक्षको साझा दस्तावेज रहेको बताउनु भयो । लामो समयदेखि थाति रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विषय सम्बोधन गर्न यो विधेयक महत्वपूर्ण सावित हुने उहाँले विश्वास व्यक्त गर्नु भयो ।
उहाँले भन्नु भयो-“राजनीतिक, नागरिक समाज, पीडित र सुरक्षा निकायलगायत सबैको साझा सहमतिमा आएको विधेयक पीडितमैत्री छ ।”
कानुनले गम्भीर ‘मानव अधिकार उल्लघङ्न’ र ‘मानव अधिकारको घटना’ गरी दुई अवस्थामा वर्गीकरण गरेको उल्लेख गर्दै नेता बर्तौलाले गम्भीर मानव अधिकार उल्लङ्घनमा हत्या, बलात्कार, यातना र बेपत्तालाई चार भागमा वर्गीकरण गरिएको बताउनु भयो । गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा पीडितले चाहेर पनि मेलमिलाप हुन नसक्ने उल्लेख गर्दै उहाँले अरु मानव अधिकारको उल्लङ्घनका घटनामा पीडितको स्वतन्त्र सहमतिमा मात्रै मेलमिलाप हुनसक्ने जानकारी दिनु भयो ।
सशस्त्र द्वन्द्वका बेला राज्य पक्षबाट लडेका सुरक्षाकर्मीलाई पनि कानुनले विशेष राहतको व्यवस्था गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो-“सशस्त्र द्वन्द्वका कारण राज्यबाट पीडित सुरक्षाकर्मीलाई परिपूरणको हक राखिएको छ ।”
प्रतिनिधिसभाको बैठकमा विधेयकमाथिको छलफलमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले चाँडो कानुन बनाएर पीडितलाई न्याय प्रत्याभूति र पीडकलाई सजाय प्रक्रिया प्रभावकारी रुपमा अघि बढाउनु पर्ने बताउनु भयो । “हामी ऐन कार्यान्वयन प्रक्रियालाई होसियारीपूर्वक हेर्नेछौँ र न्यायका लागि आवाज उठाउनेछौँ । यो प्रक्रियामा कसैलाई उपेक्षामा परेको अनुभूति राज्य पक्षले नगराओस् ।”- उहाँले भन्नुभयो ।
दीपा सुनुवार
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आराेपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेका आरोपित औरही नगरपालिका-६ का ३५ वर्षीय नथुनी साहलाई ०८१ भदौ २३ गते घरमा लुकिछिपि बसेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको छ । असार १९ गते राती घर…
घाटमा पुर्याएको शव बरामद, पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइयो
दाङ जिल्ला घोराही उपहानगरपालिका–८ देउपुर घर भई दुई वर्षदेखि पालुङटार नगरपालिका–५ बेलटारस्थित जितबहादुर तामाङको इट्टा भट्टामा काम गर्दै आउनु भएकी ५० वर्षीया कल्पना बुढा मगरको शव घाटबाट बरामद गरिएको छ…
जिल्ला प्रशासनद्वारा निषेधित क्षेत्र घोषणा
जिल्ला प्रशासन कार्यालयले विराटनगरका पाँच स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । कोशी प्रदेशसभा सचिवालयको कार्यालय क्षेत्र रहेको देवकोटा चोकदेखि अस्पताल चोकसम्म, मुख्यमन्त्री कार्यालय रहेको रोडशेष चोकदेखि जतुवा चोकसम्म, कोशी…
कैदीबन्दी भन्छन् - वर्षौँको चाहाना पुरा भयो !
गुल्मी कारागारमा पुस्तकालय स्थापना भएपछि कैदीबन्दी खुसी भएका छन् । इन्सेकसहितका सङ्घ संस्थाका अनुगमनमा कैदीबन्दीले प्रत्येक पटक पुस्तकालय र टिभीको माग गर्दै आएका थिए । कैदीबन्दीको वर्षौँदेखिको माग पुरा गर्न…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कृष्णपुर नगरपालिका–३ का २३ वर्षीय रमेश चौधरी र २८ वर्षीय सुरेश चौधरीलाई ०८१ भदौ २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई…