प्रकाश मानव अधिकार पुरस्कारका लागि नाम सिफारिस गर्न इन्सेकद्वारा सार्वजनिक आह्वान

  ०८१ जेठ ३२

इन्सेकका संस्थापक महासचिव अथक मानव अधिकार योद्धा प्रकाश काफ्लेको स्मृतिमा स्थापित प्रकाश मानव अधिकार पुरस्कारका लागि नाम सिफारिस गर्न इन्सेकले सार्वजनिक आह्वान गरेको छ । मानव अधिकार र सामाजिक न्यायका लागि क्रियाशील व्यक्तिको नाम सिफारिस hraward@insec.org.np मा गर्न सकिने इन्सेकले जनाएको छ ।

प्रकाश काफ्लेको स्मृतिलाई चिरस्थायी राख्ने उद्देश्यले इन्सेकले ०५१ सालमा प्रकाश मानव अधिकार पुरस्कारको स्थापना गरेको उल्लेख गर्दै इन्सेकले हरेक वर्ष मानव अधिकार र सामाजिक न्याको क्षेत्रमा क्रियाशील एकजना व्यक्तिलाई ५० हजार रुपियाँ नगद, सम्मान–पत्र तथा इन्सेकको प्रतीक चिह्न प्रदान गर्ने गरेको उल्लेख छ ।

‘हालसम्म यस पुरस्कारबाट बाल साहित्य तथा ग्रामीण पत्रकारिताका सर्जक विनयकुमार कसजु, मानव अधिकार आयोगका संस्थापक सदस्य डा. गौरी शंकरलाल दास, परोपकार संस्थाका संस्थापक दयावीर सिंह कंसाकार, महिलाको मताधिकारका लागि आवाज उठाउने बसन्तदेवी झा, कमैया मुक्ति आन्दोलनका लागि संघर्षरत् ऋषिराम थारु, ग्रामीण क्षेत्रमा रहेर स्वास्थ्य सेवा पुर्‍याइरहनु भएका डा. रुपचन्द्र विश्वकर्मा, हलिया तथा दलित आन्दोलनका अभियन्ता राजुराम भूल, रुकैया खातुनलगायत विभिन्न क्षेत्रमा आवाज बुलन्द गर्ने २९ जना व्यक्तित्व पुरस्कृत भइसक्नु भएको इन्सेकले जनाएको छ ।

यस पुरस्कारलाई अझ व्यवस्थित गर्ने उद्देश्यले पुरस्कार छनौट समिति गठन गरिएको छ । तपाईंको जानकारीमा रहेको उपयुक्त व्यक्तिलाई सिफारिस गर्नका लागि निम्न ढाँचामा विवरण भरी २०८१ असार १५ गतेभित्र प्राप्त सिफारिसका आधारमा पुरस्कारको निर्णय लिने इन्सेकले जनाएको छ ।

मानव अधिकार तथा सामाजिक न्यायको अभियानमा निरन्तर क्रियाशील भई योगदान गर्नु भएको, सीमान्तकृत समुदाय तथा स्थानको प्रतिनिधित्व गर्ने, कुनै फौजदारी कसुर, बैङ्किग कसुर, भ्रष्टाचार र आर्थिक अपराध तथा मानवताविरोधी र युद्ध अपराधको आरोपी र अभियोजन नलागेको, जातीय द्वेष तथा विभेद, यौन दुरुत्साहन, यौन हिंसा र अन्य नैतिक पतन हुने अपराधको आरोप र अभियोजन नलागेको, नैतिकवान र सदाचारी जीवनशैली अवलम्बन गरेकोे व्यक्तिलाई पुरस्कारका लागि सिफारिस गर्न सकिने इन्सेकद्वारा जारी आह्वानमा उल्लेख छ ।

नुवाकोटको घोप्टेभिरमा ०४९ साउन १६ गते भएको थाइ एयरबसको विमान दुर्घटनामा निधन हुनुभएका इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा इन्सेकले ०५१ सालदेखि हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ ।

Microsoft Word - PHR Award2080 _2_.doc


अनलाइन डेक्स