प्रकाश मानव अधिकार पुरस्कार–२०७८ बाट सामाजिक अभियन्ता भुल सम्मानित
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको ३० औँ स्मृति दिवसका अवसरमा २८ औँ प्रकाश मानव अधिकार पुरस्कार–२०७८ बैतडी जिल्ला निवासी सामाजिक अभियन्ता राजुराम भुललाई प्रदान गरिएको छ ।
साउन १६ गते इन्सेकले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सो पुरस्कार प्रदान गर्नु भएको हो ।
भुललाई आयोगका अध्यक्ष मगर र इन्सेककी अध्यक्ष डा.इन्दिरा श्रेष्ठले सम्मानपत्र, ताम्रपत्र र नगद ५० हजार रूपियाँसहित इन्सेकको प्रतीक प्रदान गरी पुरस्कृत गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारका लागि प्रकाश काफ्ले हिँडेको बाटोमा हामी सबै हिँडेकाले काफ्लेले थालेको अभियानमा अपनत्व रहेको बताउनु भयो ।
अध्यक्ष मगरले मानव अधिकारको रक्षा र सामाजिक न्यायमा लाग्ने प्रेरणा प्रकाश काफ्लेबाट पाएको भन्दै वर्सेनी प्रदान गरिने प्रकाश मानव अधिकार पुरस्कारले प्रकाश काफ्लेलाई स्मरणयुक्त बनाएको धारणा राख्नु भयो ।
उहाँले मुक्त हलियाको अभियानमा संलग्नलाई पुरस्कृत गरेर इन्सेकले राजाराम भुललाई आफ्नो काममा उर्जा थपेको बताउनु भयो ।
कमैया, हलिया लगायतको पुनर्स्थापनाका लागि २०५८ सालमा नै ऐन आए पनि अझै व्यवहारमा लागु नभएको अवस्थामामा त्यसलाई भुलको अभियानले सफल बनाएको उहाँले बताउनु भयो ।
अध्यक्ष मगरले आयोगले २०६५ सालमै ऐन कार्यान्वयनका लागि सरकारलाई निर्देशनात्मक आदेश दिए पनि अझै हरूवा चरूवाको अवस्था उस्तै रहेको पाइएको बताउनु भयो ।
साथै अध्यक्ष मगरले सङ्क्रमणकालीन एने निर्माणको क्रममा रहेको र त्यसका लागि भएको छलफल तथा अभियानमा आयोगको संलग्नता रहे पनि कानुन के, कसरी बन्दै छ र कस्तो बनाउने भन्ने विषयमा राय सुझाव दिन नपाएको बताउनु भयो ।
आयोगले त्यसमा चासो लिएर ऐनको मस्यौदा अध्ययन र सुझावका लागि पत्राचार गरे पनि सोही समयमा सराकारले संशोधन ल्याएकाले त्यसमा आयोगको संलग्नता नरहेको स्पष्ट पार्नु भएको थियो ।
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले पिँधमा रहेका प्रतिभालाई पहिचान गरी पुरस्कृत गरेकोमा इन्सेकलाई धन्यवाद दिनु भयो ।
उहाँले राजाराम भुल यस्तै पिँधमा रहेर समाजमा रहेका कुरीति र मानव अधिकार विरूद्धको हलिया प्रथाको उल्मूलनका लागि सङ्घर्षरत व्यक्ति भएको र प्रकाश मानव अधिकार पुरस्कारले उहाँलाई आफ्नो अभियानलाई अघि बढाउन थप उर्जा दिएको बताउनु भयो ।
सबै खालका अधिकारबाट वञ्चित अवस्थामा रहेका दलितलाई अधिकार प्राप्तिको अभियानमा इन्सेकले खेलेको भूमिका उल्लेख्य रहेको अध्यक्ष विश्कर्माले बताउनु भयो ।
कार्यक्रममा इन्सेकका संस्थापक अध्यक्ष एवम् राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य सुशील प्याकुरेलले इन्सेक मानव अधिकार पुरस्कार नभनेर प्रकाश मानव अधिकार पुरस्कार नाम राख्नुको कारणको इतिहास सबैले जान्न बुझ्न आवश्यक रहेको बताउनु भयो ।
प्रकाश काफ्लेले थालेको मानव अधिकारको आन्दोलन र अभियान अहिले पनि उत्तिकै सान्दर्भिक रहेकोले यो जीवन्त रहेको उहाँको भनाइ थियो ।
संविधान र कानुनले दिएको अधिकार कार्यान्वयनका लागि अझै पनि मानव अधिकारकर्मीको दबाब र प्रभावको आवश्यकता रहेको प्याकुरेलले बताउनु भयो । उहाँले लोकतन्त्र बलियो भयो भने मात्र मानव अधिकार सङ्घसंस्था बलियो हुने धारणा राख्नु भयो ।
इन्सेकका निवर्तमान अध्यक्ष सुबोधराज प्याकुरेलले हलिया, हरूवा चरूवा, बालिघरे प्रधालगायतका अर्ध दासत्वको अवस्था अझै समाजमा विद्यामान रहेकोले सो वर्गलाई मुक्ति गर्ने अभियान जारी राख्न आग्रह गर्नु भयो ।
उहाँले विपन्न वर्गलाई आवासको कार्यक्रम उनीहरूको आवश्यकताको आधारमा नभएको अनुभव स्मरण गर्दै सरकारले मुक्त कमैया, हलिया, हरूवा, चरूवा तथा विपन्नताका लागि रोजगार र आवसको व्यवस्था गर्नु पर्ने बताउनु भयो ।
निवर्तमान अध्यक्ष प्याकुरेलले भन्नु भयो–‘जनताले अधिकारका लागि आक्रोश व्यक्त गरे । सुनुवाइ भएन । जसले निराशा पैदा भयो । र, नागरिक मौनता साध्न बाध्य भएका छन् । यो मौनता ज्वालामूखीको रूपमा विष्फोट भयो भने सकारात्मक तथा नकरात्मक जस्तो सुकै परिणाम आउन सक्ने भएकाले सरोकारवालाले समयमै ध्यान दिनु पर्छ ।’
सङ्क्रमणकालीन न्यायलाई सम्बोधन गर्न ल्याइएको ऐन कानुनमा राष्ट्रिय मानव अधिकार आयोगको पनि परामर्श आवश्यक पर्नेमा सो हुन नसक्नु सरकारको त्रुटि रहेको उहाँले औँल्याउनु भयो ।
गैरसरकारी संस्था महासङ्घ नेपालकी केन्द्रीय उपाध्यक्ष भावना भट्टले पुरस्कृत व्यक्तित्व भूललाई बधाई दिँदै इन्सेकले मानव अधिकारको क्षेत्रमा लुकेर रहेको प्रतिभालाई सम्मान गरेकोमा इन्सेक आफैँ पनि बधाईको भागिदार छ भन्नु भयो ।
सो अवसरमा उहाँले मानव अधिकारको शिक्षाको सुरूवाति इन्सेकले गरेको स्मरण समेत गर्नु भयो । आफ्नो पुस्ताले इन्सेकको मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट मानव अधिकार शिक्षाको ज्ञान हासिल गरेको भन्दै मानव अधिकार आन्दोलनमा इन्सेकको योगदान रहेको उहाँले बताउनु भयो ।
भट्टले बाल विवाह, छुवाछुत, हलिया, कमैया मुक्तिको लागि संविधानले गरेको व्यवस्थाको कार्यान्वयन नहुनु पनि मानव अधिकार उल्लङ्घन भएकाले यसको कार्यान्वयनका लागि अझै मानव अधिकार आन्दोलन बाँकी रहको बताउनु भयो ।
इन्सेकका महासचिव रूद्र चर्मकारले पुरस्कार छनौटको प्रकृया तथा राजाराम भूलको सङ्घर्षको बारेमा आफ्नो भनाइ राख्नु भएको थियो ।
पुरस्कृत व्यक्तित्व राजुराम भूलले भीमदत्त पन्तको किसान आन्दोलन पुरा गर्न र ०३६ सालबाट सुरू भएको हलिया मुक्तिको आन्दोलनलाई साकार पार्न समाजमा रहेका बाँधा मजदुरको सञ्जालको जिम्मेवारीमा रहेर पुरा गर्ने अठोट गरेको बताउनु भयो ।
इन्सेकले यस अभियानलाई बढाउन गरेको सहयोग सदैब महत्वपूर्ण रहेको उहाँले बताउनु भयो । यस आन्दोलनमा राष्ट्रिय मानव अधिकार आयोगले पनि सहयोग गर्दै आएको भुलले स्मरण गर्नु भयो ।
कार्यक्रममा इन्सेकका कार्याकारी निर्देशक विजयराज गौतमले पुरस्कृत भुललाई प्रदान गरिएको सम्मानपत्र वाचन गर्नु भएको थियो ।
कार्यक्रममा राजाराम भूलका अभियान र उहाँले गरेको कार्यबारे छोटो वृत्तचित्र प्रस्तुत गरिएको थियो ।
सो अवसरमा रोटरी क्लब अफ बालाजुसँगको सहकार्यमा इन्सेकले आयोजना गरेको रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका थिए ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३१ गते)
साउन ३१ गते ३ सय ९९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९३ हजार ८ सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
भाइ बुहारीमाथि एसिड प्रहार गरेको घटनाका आरोपित गिरफ्तार
भाइ बुहारीमाथि एसिड प्रहार गर्ने दार्मा गाउँपालिका–३ चम्पुटाकुरा निवासी ५० वर्षीय बेचे रावतलाई जिल्ला प्रहरी कार्यालय, सल्यानले साउन ३१ गते गिरफ्तार गरेको छ । ४९ वर्षीय भिम बहादुर रावत, उनकी…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
सुनवल नगरपालिका– ५, हर्दियाचापी निवासी २८ वर्षीया ममता खड्काको हत्या प्रयास गरेको आरोपमा प्रहरीले पीडितका देवर ३२ वर्षीय विशाल खड्कालाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन…
आठ वर्षसम्म विद्यालय भवन पूर्णनिर्माण हुन नसकेपछि विद्यार्थीहरु चुहिने छाँनोमूनि अध्ययन गर्न बाध्य
बुढिनन्दा नगरपालिका–२ स्थित जनप्रकाश माविको १५ कोठे भवन निर्माण सम्पन्न हुन नसकी आठ वर्षदेखि अलपत्र भएपछि विद्यार्थीहरु पुरानो चुहिने भवनको छाँनोमूनि बसेर अध्ययन गर्न बाध्य भएका छन् । भारतीय दुताबासको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ बर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका–३ धकधईका ३२ बर्षीय पन्नालाल रौनियारलाई साउन २९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितहरू पन्नालाल र १९ वर्षीय बानर…