प्रकाश मानव अधिकार पुरस्कार दाइजो विरोधी अभियन्ता राँकीलाई प्रदान

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले ‘२४ औँ प्रकाश मानव अधिकार पुरस्कार’बाट दाइजो विरोधी अभियन्ता महम्मद मकसुद राँकीलाई सम्मान गरेको छ ।

photo20180801dhanusha (2)

साउन १६ गते प्रदेश २ को राजधानी जनकपुरधाममा आयोजित एक समारोहका बीच दाइजो विरोधी अभियन्ता ५५ वर्षीय महमद मकसुद राँकीलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदान गरेका हुन् ।

photo20180801dhanushapuruskar

विगत एक दशकदेखि मानव अधिकार र सामाजिक न्यायका क्षेत्रमा क्रियाशील यमुनामाइ गाउँपालिका–५, रौतहटका राँकीलाई ‘प्रकाश मानव अधिकार पुरस्कार २०७४’ बाट सम्मानित भएका हुन् । पुरस्कृत व्यक्तित्व राँकीलाई सम्मानपत्र सहित ५० हजार रुपियाँ नगद प्रदान गरिएको छ ।

समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार मानव अधिकार संरक्षणको लागि प्रतिबद्ध रहेको बताए । मुख्यमन्त्री राउतले समाजिक न्यायको लागि मानव अधिकारको संरक्षण आवश्यक रहेकोले प्रदेश सरकारले चाँडै मानव अधिकार संरक्षण ऐन ल्याउन लागेको जानकारी दिए ।

समाजिक विकृतिहरूले मानव अधिकारलाई चुनौति दिँदै आएको उल्लेख गर्दै उनले समाजिक विकृति अन्त्यको लागि महिला शिक्षित हुनु आवश्यक रहेको औँल्याए । उनले भने–‘महिला शिक्षित नभएसम्म समाजिक विकृति अन्त्इ हुन सक्दैन । त्यसैले प्रदेश सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई प्राथमिकतामा राखेर अघि बढेको छ ।’

मानव अधिकार आयोग समावेशी नभएकै कारण आयोगको काम कर्तव्य प्रति प्रश्न उठ्ने गरेको टिप्पणी गर्दै मुख्यमन्त्री राउतले मानव अधिकार आयोगलाई समावेशी बनाउन सम्बन्धित पक्षसँग आग्रह गरे ।

कार्यक्रममा समाजिक विकास मन्त्री नवलकिशोर साहले अब २१ औँ शताब्दीको युग महिलाको युग भएको बताउँदै आउने दिनमा छोरालाई होइन छोरीलाई दाइजो दिनु पर्ने स्थिति सृजना हुने बताए ।

कार्यक्रममा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले देश सङ्घीय ढाँचामा गए अनुसार इन्सेकले आफ्ना कार्यालयलाई त्यसै अनुसार परिचालित गर्दै आएको बताए  । उनले मानव अधिकारका विषयहरूलाई प्रदेशगत आधारमा वकालत गर्ने इन्सेकले उद्देश्य राखेको समेत बताए ।
अध्यक्ष प्याकुरेलले मानव अधिकारका विविध विषयमा स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग सहकार्य गर्दै अगाडि बढ्ने बताए । सोही क्रममा प्रत्येक वर्ष इन्सेकले मानव अधिकारको क्षेत्रमा क्रियाशील एकजना व्यक्तित्वलाई सम्मान गर्दै आएकामा यस वर्ष दाइजो विरोधी अभियन्ता महम्मद मकसुद राँकीलाई सम्मान गर्ने निर्णय गरेको जानकारी दिए ।

पुरस्कृत व्यक्तित्व राँकीको कामको प्रशंसा गर्दै आजसम्म पुरस्कार पाउनेहरू बढी मधेशी समुदायको रहेको उनको भनाई छ ।  प्रदेश २ को सरकारले ल्याएको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सारै सरहानीय रहेको बताउदै उनले यस अभियानको परिणाम कलान्तरमा देखिने उल्लेख गरे ।

त्यसैगरी कार्यक्रममा राष्ट्रपतिका मानव अधिकार तथा राजनीतिक विज्ञ एवम् इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले आपूmलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ सरकारका मुख्यमन्त्रीलाई ‘बेटी पढाउ र बेटी बचाउ अभियान सञ्चालन गरेकोमा विशेष धन्यवाद सन्देश पठाएको बताए ।

संस्थापक अध्यक्ष प्याकुरेलले छोरी शिक्षित भए परिवार शिक्षित हुने र समाज शिक्षित हुने बताए । उक्त कार्यक्रममा प्रदेश २ सरकारका मुख्य न्यायधिवक्ता दिपेन्द्र झा, शिक्षाविद डा. सुरेन्द्र लाभ, प्रदेश २ सांसद सुनितादेवी मोची, पूर्व सभासद रामरति राम, बसन्ती देवी झा सहितको उपस्थिति रहेको थियो ।

इन्सेकका संस्थापक महासचिव स्व. प्रकाश काफ्लेको स्मृतिमा २०५१ सालमा स्थापित ‘प्रकाश मानव अधिकार पुरस्कार’बाट यसअघि २३ जना सम्मानित भइसकेका छन् । थाइ एयरबसको विमान नुवाकोटको घोप्टेभीरमा ०४९ साउन १६ गते दुर्घटना हुँदा इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको निधन भएको थियो ।

photo20180801dhanusha (2) photo20180801dhanusha (3) photo20180801dhanusha (4) photo20180801dhanusha (5) photo20180801dhanusha (6) photo20180801dhanusha (7) photo20180801dhanusha (8)

सबै फोटोःबिनोदकुमार रविदास र अजयकुमार साह


बिनोदकुमार रविदास र अजयकुमार साह