प्रकाश काफ्ले स्मृति दिवसमा दलित अभियन्ता सदा सम्मानित हुने

मानव अधिकार तथा दलित आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याउने सप्तरीको अग्नीसाइर कृष्णसवरन गाउँपालिका-३ हरिहरपुरका असर्फि सदा 'बैद्य-प्रकाश मानव अधिकार पुरस्कार २०७५' बाट सम्मानित हुने भएका छन् ।

Photo20170731Saptari

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव स्व. प्रकाश काफ्लेको २६औँ स्मृति दिवसका दिन साउन १६ गते हुने समारोहमा सदालाई सम्मान गरिने निर्णय भएको बैद्य-प्रकाश मानव अधिकार कोषका संस्थापक बैद्यनाथ झाले बताए ।

राजविराजस्थित नेपाल पत्रकार महासङ्घ सप्तरीको सभाकक्षमा साउन १६ गते आयोजित कार्यक्रममा सदालाई दोसल्ला ओढाएर पुरस्कारस्वरुप ३ हजार १ सय रुपियाँ र सम्मान-पत्र प्रदान गरिने छ ।

दुई दशकदेखि दलित, भूमिहीन, सुकुमबासीको हक अधिकार प्राप्ति र संरक्षणको आन्दोलनमा सक्रिय सदाले दलित सशक्तिकरण, मानव अधिकार र सामाजिक न्यायका लागि निरन्तर क्रियाशील रही २०५५/०५६ यताको सिनो बहिष्कार आन्दोलनमा प्रशंसनीय भूमिका निर्वाह गरेका छन् ।

सुकुमबासी र भूमिहीनहरूको पक्षमा मधेसमा क्रान्तिकारी भूमिसुधारको आवश्यकताको वकालत गरी लोकतन्त्र र गणतन्त्रका लागि सक्रिय रहँदै आएका सदाले करिब दुई वर्ष प्रहरी, सेनाको हिरासत र कारागारमा चरम यातना भोगेका छन् ।

भूमि तथा कृषि अधिकार, जातीय छुवाछुत र घर उठिबासविरूद्धको अभियानमा सप्तरी, सिरहालगायतका जिल्लामा सदाको क्रियाशीलता उत्साहजनक रहेको छ ।

मुसहर समुदायमा जागरण ल्याउन हरसम्भव प्रयास गर्दै आएका दक्षिण एशिया मुसहर उत्थान परिषद्का सदस्य सदाले पछाडि परेका वर्गको आर्थिक, सामाजिक र शैक्षिक सुधारका लागि निरन्तर आवाज उठाउँदै आएका छन् ।

यस क्रममा उनले २०६३ सालमा अन्तरिम व्यवस्थापिका सदस्य भई महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा '२१ औँ प्रकाश मानव अधिकार पुरस्कार'बाट सम्मानित राजविराज नगरपालिका-७ का बैद्यनाथ झाले प्राप्त गरेको नगद रु. ५० हजारबाट स्थापना गरिएको बैद्य-प्रकाश मानव अधिकार पुरस्कारबाट पहिलोपटक २०७३ मा दलित आन्दोलनका अगुवा बलदेव रामलाई र दोस्रोपटक २०७४ मा युक्तिलाल मरिकलाई सम्मानित गरिएको थियो ।

नुवाकोटको घोप्टेभीरमा ०४९ साउन १६ गते भएको थाइ एयरबसको विमान दुर्घटनामा निधन भएका इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा तीन वर्षदेखि सप्तरीमा मानव अधिकार र सामाजिक न्यायमा महत्वपूर्ण योगदान पुर्‍याउनेलाई सम्मान गरिँदै आएको छ ।


मनोहरकुमार पोखरेल