पोलियो रोग विरुद्धको खोप पाउनबाट बालबालिका वञ्चित

  ०८१ जेठ ३१ गते

पोलियो रोग विरुद्धको आइपिभी खोप अभाव भएपछि जिल्लास्थित बिभिन्न स्थानीय तहमा बालबालिकाहरु खोप पाउनबाट वञ्चित भएका छन् । यस वर्ष आइपिभी खोप लगाइने ७ हजार ३ सय १९ जना बालबालिका मध्ये ६ सय ९४ बालबालिकाकाहरु खोप पाउनबाट वञ्चित भएका हुन् ।

आइपिभी खोप अभियान जेठ १३ गतेदेखि सञ्चानल गरिएको र जेठ ३० गतेसम्म ८९ प्रतिशत अर्थात ६ हजार ५ सय ४९ जनालाई खोप लगाइएको भए पनि खोप अभावका कारण ६ सय ९४ जना बालबालिकाहरु खोप पाउनबाट वञ्चित हुनुपरेको जिल्ला स्वास्थ्य कार्याल, बाजुराका प्रमुख महेश चन्दले बताउनु भयो ।

जिल्लाका नौ ओटा स्थानीय तहहरु मध्ये हालसम्म स्वामिकार्तिक खापर, खप्तड छेडेदह, हिमाली गाउँपालिका,  त्रिवेणी र बुढीनन्दा नगरपालिकाका लक्षित बालबालिकाहरुलाई आइपिभी खोप लगाइएको उहाँले बताउनु भयो ।

खोप अभावका कारण बडिमालिका नगरपालिकाका ३०, बुढिगंगा नगरपालिकाका ३ सय ८९, जगन्नाथ गाउँपालिकामा २ सय २० र गौमुल गाउँपालिकाका ५५ जना बालबालिकाहरुलाई खोप लगाउन नसकिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो बर्ष आइपिभी खोप अभियानमा नौ ओटै स्थानीय तहका लागि २ हजार ३ सय ५८ डोज खोप अभाव भएको र अपुग खोपका लागि पहल भइरहेको स्वास्थ्य कार्यालय, बाजुराका स्वास्थ्यकर्मी खडकराज गिरीले बताउनु भयो ।

आइपिभी खोप लगाउन बाँकी रहेका स्थानीय तहका बालबालिकाहरुका लागि थप खोपको माग गरिएको र खोप आएपछि पुनः अभियान सुरु गरिने स्वास्थ्य कार्यालय प्रमुख चन्दले बताउनु भयो


पदमबहादुर सिंह