पेट्रोल छर्किएर आगो लगाउँदा बालिका घाइते घटनाका फरार आरोपित गिरफ्तार

  ०७८ वैशाख २२ गते

त्रिवेणी नगरपालिका–९ मलालगाउँकी १४ वर्षीया बालिका सभ्यता बुढामाथि पेट्रोल छर्किएर आगो लगाई फरार रहेको आरोपमा प्रहरीले सोही नगरपालिका–८ का १६ वर्षीय सुमन गिरी र १६ वर्षीय शिखर थापालाई वैशाख २२ गते राती गिरफ्तार गरेको छ ।
वैशाख १९ गते गाउँमा विवाह हेर्न गएको समयमा बालिकाको शरीरमा पेट्रोल छर्किएर आगो लगाई फरार रहेका सुमन र शिखरलाई  त्रिबेणी नगरपालिका–८ बुढीगंगा नदि किनारमा लुकिछिपी बसेको अवस्थामा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, बाजुराका डिएसपी मदनजित महराले बताउनु भयो ।
पीडित बालिकाका काकाले दिएको किटानी जाहेरीका आधारमा आरोपितहरुका विरुद्ध वैशाख २१ गते पेट्रोल प्रयोग गरी अङ्गभङ्ग गर्न नहुने कसुरमा जिल्ला अदातलमा मुद्दा दर्ता गरिएको डिएसपी महराले बताउनु भयो ।
शरीरमा आगो लगाउँदा बाँया पट्टीको ढाड र कम्मरको भाग जलेर घाइते भएकी बालिकाको जिल्ला अस्पतालमा उपचारपछि घर लगिएको पीडितका काका सञ्जय बुढाले बताउनु भयो ।


पदमबहादुर सिंह