पूर्व राज्यमन्त्रीको हत्या

  ०८१ साउन ७ गते

मलंगवा नगरपालिका-४ निवासी पूर्व राज्यमन्त्री ७७ वर्षीय रामचन्द्र राय यादवको ०८१ साउन ६ गते राति चन्द्रनगर गाउँपालिका-१ रतनपुरस्थित निजको कृषि फारममा हत्या भएको छ ।

चन्द्रनगर गाउँपालिका-१ रतनपुरस्थित आफ्नै कृषि फारममा खेत रोपाइँको लागि आउनु भएका पूर्व राज्यमन्त्री यादवले राति खाना खाइसकेपछि उहाँलाई भेट्न तीन जना अपरिचित व्यक्तिहरू आएको मन्त्री यादवका भान्सेले प्रहरीलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालय मलंगवाका एसपी रविन्द्रबहादुर सिंहले बताउनु भयो ।

उहाँहरू कुराकानी गर्दै गर्दा पूर्व राज्यमन्त्री यादवले आफूलाई छतमा गएर सुत्न भनि पठाउनु भयो तर, राति शौचालय जान भनि तल आउँदा उहाँको सुत्ने कोठा खुल्ला थियो, नजिक गएर हेर्दा उहाँ मृत अवस्थामा रहेको भान्सेले प्रहरीलाई बताएको एसपी सिंहले भन्नु भयो ।

त्यस्तै, साउन ७ गते मधेश प्रदेश प्रहरी कार्यालयका डिआईजी यज्ञ बिनोद पोखरेलले घटनाको स्थलगत अनुगमन गर्नुभयो र घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।

शवलाई पोष्टमार्टमको लागि साउन ७ गते प्रादेशिक अस्पताल मलंगवा लगिएको एसपी सिंहले जानकारी दिनु भयो ।


बुधन साह