पूर्व मन्त्री सांसद पौडेलमाथि आक्रमण प्रयास

व्यवस्थापिका संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आयोजनामा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढको प्रगति अनुगमनबारे निजगढमा फागुन १७ गते आयोजित अन्तक्रिर्या कार्यक्रममा एमाले बाराका क्षेत्र नम्बर ६ का सांसद एवम् पूर्व मन्त्री पुरुषोत्तम पौडेलमाथि माओवादी केन्द्र समर्थकहरूले आक्रमण प्रयाससँगै दुर्व्यवहार गरेका छन् ।

सांसद पौडेलले मन्तव्य राख्दै गर्दा केही सहभागी माओवादी समर्थकले मञ्चमा चढेर आक्रमण प्रयास गरेका थिए । आक्रमण प्रयासलाई सहभागी एमाले समर्थकले प्रतिरोध गरेपछि थप तनाव भएको थियो । कार्यक्रममा तनाव हुँदा कार्यक्रम बिथोलिएको थियो ।

सांसद पौडेलले यो कार्यक्रम सबैको साझा र राज्यको आयोजनामा भएकोले त्यसलाई दल विशेष बनाएर गतिविधि नगर्न सुझाएपछि आफूमाथि आक्रमण प्रयास र दुर्व्यवहार भएको बताए ।

कार्यक्रमको अध्यक्षता गरेका संसदीय समितिका सभापति सांसद प्रभु साहले सांसद पौडेलले मन्तव्यको क्रममा विषय प्रसङ्बाट बाहिर जाँदा स्थिति तनावपूर्ण भएको बताए ।

समितिका सदस्यसमेत रहेका पुर्व प्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल विशिष्ट अतिथि रहेको सो कार्यक्रममा सांसदहरू जीतेन्द्र देव, उमेशकुमार मण्डल, राधादेवी तिमल्सिना र राज्यलक्ष्मी श्रेष्ठसमेत सहभागी थिए ।


लक्ष्मीसाह सोनार