पुस्तक छपाईमा ध्यान नदिँदा हुम्लाका १७ हजार विद्यार्थीको पठन पाठनमा समस्या

जिल्लाका सबै सरकारी तथा सामुदायिक विद्यायलयका लागि जिल्लामा आएका पुस्तक छपाईमा देखिएको त्रुटीले विद्यार्थीको पठनपाठनमा समस्या भएको छ ।

पुस्तक छपाईमा जनक शिक्षा सामाग्री केन्द्रले ध्यान नदिँदा पठनपाठनमा समस्या हुँदै आएको विद्यार्थीले आरोप लगाए ।

कक्षा नौ को कुनै पुस्तकमा पाठ नभएका कारण पठनपाठनमा समस्या भएको मान्धारा मावि कक्षा नौ मा अध्यनरत रणबहादुर शाहीले गुनासो गरे । यस्ता अन्य गल्ती धेरै भएको शाहीले आरोप लगाए ।

'यस समस्यालाई कसरी समाधान गर्ने ? विद्यालय र विद्यार्थीसँग कुनै उपाय छैन ।'-उनले गुनासो गरिन् । जिम्मेवार निकायले विद्यार्थीमाथि खेलवाड गरेको कक्षा नौ का परेकलाल शाहीको आरोप छ । यस्ता कमजोरी गर्ने निकाय र व्यक्तिलाई कारबाही गर्नसमेत उनले माग गरे ।

कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तकमा कुनै पाठको चित्र अर्को पेजमा, अक्षर नमिलेको, पेज सेटअप नभएको, आधा पाठ मात्र छापिएको, वाक्य पनि नटुङ्गिएको, कालो पोतिएका जस्ता समस्या भएको बालमन्दिर माविका शिक्षक मधु बस्नेत शाहीले बताइन् ।

'पुस्तक छाप्ने जिम्मा लिने तर अन्तिम डिजाइन नहेर्ने ? यो कस्तो लापरवाही हो ?'-उनले भनिन्-' प्रत्येक कक्षाका प्रत्येक विषयको अवस्था यस्तै छ । यसले शिक्षकलाई पढाउन र विद्यार्थीलाई पढ्न गर्न कठिन भएको छ ।' यस्तो समस्या जिल्लाका सबै गाउँपालिकाका विद्यालयमा रहेको छ ।

नयाँ पुस्तकको छपाईको कमजोरीको कारण गत वर्षकै पुस्तकलाई आधार मानेर पठनपाठन गर्न शिक्षक बाध्य भएको मान्धारा माविका प्रधानाध्यापक दिलबहादुर शाहीले बताए । जनक शिक्षाको सामान्य कमजोरीले जिल्ला भरिका १७ हजार भन्दा बढि विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको प्रधानाध्यापक शाहीले आरोप लगाए ।

शिक्षक र विद्यार्थीले गत वर्षका पाठ्यपुस्तकलाई आधार मानेर पढाउनु पर्ने बाध्यता रहेको बताएका छन् । जिम्मेवार निकायले गरेको कमजोरीलाई ढाकछोप भन्दा पनि कारबाही गर्नु पर्ने अभिभावकहरूले माग गरेका छन् ।

यस शैक्षिक सत्रका लागि कक्षा १ देखि ५ सम्म निजी तथा कक्षा ६ देखि १० सम्मका पुस्तक जनक शिक्षा सामाग्री केन्द्रले प्रकाशन गरेको थियो ।


नन्द सिंह