पुल्चोकस्थित संयुक्त राष्ट्रसङ्घ भवन र मन्त्री निवास वरपर ६ महिनाका लागि निषेधित क्षेत्र घोषणा

  ०८० मङ्सिर ५ गते

जिल्ला प्रसाशन कार्यालयले ०८० मङ्सिर ५ गतेदेखि आगामी ६ महिनासम्म लागु हुने गरी पुल्चोकस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालय र मन्त्री निवास आसपास प्रदर्शन गर्न नपाउने गरी ६ महिनाका लागि निषेधाज्ञा जारी गरेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले स्थानीय प्रसाशन ऐन, २०२८ को दफा ६ को उपदफा (३ क) बमोजिम मङ्सिर ५ गते विज्ञप्ति मार्फत ६ महिनासम्म धर्ना, जुलुश र प्रदर्शन गर्न नपाउने आदेश जारी गर्नुभएको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जारी गर्नुभएको आदेशमा भनिएको छ-‘ललितपुरको ललितपुर महानगरपालिका-३, पुल्चोकस्थित युएन हाउस र मन्त्रि निवास पुल्चोकको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखी पूर्वतर्फ इनारमोड जाने मूलबाटो, पश्चिम राष्ट्रिय किताबखाना (निजामती), उत्तरतर्फ आन्तरिक राजस्व कार्यालय तथा युएन हाउस र दक्षिणतर्फ राष्ट्रिय मानव अधिकार आयोग एवम् राष्ट्रिय सहकारी विकास बोर्डको चार किल्लाभित्र भित्र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३ क) बमोजिम मङ्सिर ५ गतेदेखि आगामी ६ महिना सम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भइ नारा, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ ।'

यसअघि जिल्ला प्रसाशन कार्यालय काठमाडौँले पनि मङ्सिर ४ गते विज्ञप्ति जारी गर्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्मलाई एक महिनाका लागि निषेधित क्षेत्र घोषणा गरेको थियो ।


विमल पौडेल