पूर्व सांसद साहलाई कुटपिट गरेको आरोपमा तीन जना गिरफ्तार

जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता एवम् प्रतिनिधि सभाका पूर्व सांसद मलंगवा नपा–६ खुटौनाका ४३ वर्षीय प्रमोद साहलाई वैशाख १ गते राती कुटपिट गरेका आराेपित हरिपुर नपा–६ का ३२ वर्षीय आर्यन चौधरी, २९ वर्षीय सिद्धान्त चौधरी र हरिपुर नपा–२ का २७ वर्षीय सरोज माझी वैशाख २ गते गिरफ्तार भएका छन् ।

गिरफ्तार भएका तीनै जनामाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको र अन्य चार जना फरार आरोपितहरूको खाेज तलास समेत भइरहेका जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।

मकै बालीमा पानी पटाएर घर फर्किरहेका पूर्व सांंसद साहका कामदार ४६ वर्षीय राजेन्द्र महतोले हरिपुर बजारमा मोटरसाईकल रोकेपछि नजिकै मदिरा सेवन गरिरहेको युवाहरूले "किन यहाँ मोटरसाइकल रोकिस" भन्दै ती युवाहरूले लाठी प्रहार गरी कुटपिट गरेको महतोले सासंद साहलाई जानकारी दिएलगतै घटना स्थलमा पुगेका पूर्व सासंद साहमाथि समेत कुटपिट भएको डिएसपी श्रेष्ठले जानकारी दिनु भयो ।

कुटपिटबाट पूर्व सांसद साहसँगै उनका कामदार ४६ वर्षीय राजेन्द्र महतो, ३७ वर्षीय रवि पासवान र ३४ वर्षीय निकेश साह घाइते भएका छन् । घाइतेहरूको ईश्वरपुर अमृत हेल्थ केयरमा उपचार भएकाे डिएपसपी श्रेष्ठले जानकारी दिनु भयो ।

कुटपिटबाट साह गम्भीर घाइते भएका छन् । घाइते उनलाई वैशाख २ गते उपचारको लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा लगिएकोमा सोही दिन थप उपचारका लागी काठमाडौंको वीर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका एसपी रविन्द्र बहादुर सिंहले जानकारी दिनु भयो ।


बुधन साह