पुरूषवादी समाज भएका कारण लैङ्गिक विभेद कायमै !

विद्यमान लैंगिक हिंसा तथा लिङ्गका आधारमा गरिने विभेदको प्रमुख चपेटामा महिला र बालबालिका परेका छन् ।

देशमा शासन व्यवस्था र समय फेरिए पनि जुम्लामा अँझैसम्म लिङ्गका आधारमा छोराछोरीबीच गरिने विभेदका कारण किशोरीहरू समस्याबाट मुक्त हुनसकेका छैनन् ।

पठनपाठन, खानपान, लगाईखुवाई र बोलीचालीको संस्कारका नाममा सानै उमेरदेखि जानीनजानी घरदेखिनै छोरीको आत्मबल घटाउने काम गरिन्छ ।

छोरीलाई संस्कारी नारी तथा छोरालाई असल नागरिक बनाउने भन्दै घरदेखिनै बालिकाहरूले विभेदकारी शिक्षा पाइरहेका छन् ।

घरबाटनै सुरू हुने विभेदकारी संस्कारका कारण पछि गएर किशोर भन्दा किशोरीहरू बढी कमजोर मनोस्थितिका हुने गरेका छन् ।

जसले गर्दा विद्यालय वा समाजमा ठुला मान्छेका अगाडि बोल्न वा सहजै आफ्ना धारणा व्यक्त गर्नपनि उनीहरू सकिरहेका छैनन् ।

समाजको लहलहै तथा पारिवारीक दबाबका कारण जुम्लामा कतिपयले त, किशोरी अवस्थामै आमा बनेर आफ्नो भविष्य नै अन्धकारमा पुर्‍याएका छन् । यस्तो अवस्थामा सबैभन्दा पहिले किशोरीहरूलाई उचित शिक्षा दिन आवाश्यक छ ।

समाजमा लैङ्गिक विभेद कायमै रहेकै कारण महिला माथि घरेलु हिंसाका घटना हुने गरेका छन् । कनकासुन्दरी गाउँपालिका–६ की झनमाया रोकायाले लगातार ६ जना छोरी जन्माएकै कारण घरबाट उठिबास भयो ।

उनी गएको कात्तिक महिनादेखि माइतीको शरणमा छन् । कनकासुन्दरी गाउँपालिका–६ लुड्की २६ वर्षीया झनमाया रोकायालाई पति गङ्गाराम रोकायाले छोरी जन्माएको आरोपमा घरबाट निकाला गरे ।

२६ वर्षीया झनमायाले आफू ६ महिनाको गर्भवती अवस्थामा पति गङ्गाराम रोकायाले छोरीसहित घर निकाला गरेको बताइन् ।

पतिले घरबाट निकालेपछि गएका कात्तिक महिनादेखि माइतीघरमा बस्दै आएको उनले बताइन् । पुस ३ गते तेस्रो सन्तानका रूपमा छोरी जन्माइन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया गरी जन्माइएकी नवजात छोरीलाई जन्मदै हेपाटाइटिस बी भएको र साथमा पैसा नहुँदा उपचारमा समस्याले उनलाई पिरल्यो ।

झनमायाकी दुईटै छोरी माइतीको संरक्षणमा छन् । उनी कान्छी छोरीसँगै अस्पतालमै छिन् । ‘छोरी मेरो कारणले जन्मेकी हो भन्ने कुरा पतिले नबुझेको र समाजलाई छोरा नै चाहिने कुसस्कृतिका कारण अस्पतालको बेडमा छट्पटाउदै माइती पक्ष पनि आर्थिक रूपमा निकै विपन्न भएका कारण शिशुको उपचारमा कठिनाइ भएको छ ।’–उनले गुनासो गरिन् ।

‘अस्पतालले रेफर गरेपछि कहाँ र कोसँग जाने भन्ने चिन्ताले सताएको छ ।’–उनले भनिन्–‘सानै उमेरमा विवाह भएपछि ६ सन्तान जन्माएको र तीन जना मात्रै जीवित छन् ।’

पहिलो सन्तान मृत छोरी जन्मिएको र त्यसपछि गर्भ परीक्षण गर्दा छोरी भएपछि दुई पटक पतिको दबाबमा गर्भपतन गरेको उनले बताइन् ।

‘पटक पटक छोरी जन्माएपछि निकै दुःख पाएँ’–झनमायाले दुखेसो गरिन् । पति नभएपछि परिवारले पनि साथ गरेनन् । आफ्नो कोही भएनन् ।’

गर्भको शिशु उल्टो छ भन्ने थाहा पाएपछि बृद्ध बुवाको सहारामा अस्पताल पुगेकी उनले नवजात शिशु छोरी रोगी जन्मिएपछि झन् पीडा थपिएको बताइन् ।

कसैको सहयोग पाए छोरीलाई हेपटाइटिस बी को खोप लगाउने र नभए उपचार नै नगरेर अस्पतालबाट जानुपर्ने स्थिति रहेको उनले बताइन् ।

झनमायाका अनुसार छोरा नजन्माएको भन्दै आफूलाई घरबाट लखेट्ने पति कहाँ छन् ? भन्ने अत्तोपत्तो छैन । उनका अनुसार नत फोन गर्छन् नत खबर नै गरेका छन् ।

त्यस्तै तातोपानी गाउँपालिका–२ की २४ वर्षीया कालिका डाँगीले विवाह गरेको १० वर्ष भयो । साथीको लहलहैमा लागेर उनले १४ वर्षको कलिलै उमेरमा भागेर बालविवाह गरिन् अहिले उनी तीन सन्तानकी आमा बनेकी छन् ।

विवाह गरेको दुई वर्षमै उनले पहिलो सन्तान छोरी जन्माइन् । अहिले कालिकासँग आठ, पाँच र एक वर्षकी छोरी छन् । २४ वर्षमै तीन सन्तानको आमा बनेकी कालिकाको बिहेपछि पढाइ त रोकियो नै, स्वाथ्यमा समेत असर पुगेको छ ।

उनले भनिन्–‘सानै उमेरमा बिहे गरेर बन्धनमा परियो । अहिले पीडाले थलिएकी छु । त्यसैमा तीन-तीन जना छोरी हुर्काउनु पर्ने बाध्यता काँधमा आइपर्‍यो ।’

तीन सन्तानले मात्र पुगेको छैन । छोरा जन्माउनै पर्ने पारिवारिक दबाब उनी माथि छ । जसका कारण उनको मानसिक अवस्था कमजोर बन्दै गएको छ ।

‘हामी महिलाले सधैँ अर्काकै चाहाना पूरा गर्नुपर्ने ? रोग, भोक र मर्न लागे पनि कसैलाई वास्ता छैन । जिन्दगी मेरा लागि बोझ भइसक्यो ।’–उनले दुखेसो पोखिन् ।

बिहेपछि कालिकाका पति कृष्ण डाँगीको पढाइमा पनि पूर्णविराम लाग्यो । उनलाई बालबच्चा हुर्काउनै समस्या छ । पति पाटनमा भेडा चराउने गर्छन् । कालिकालाई तीन छोरी लिएर घर धान्न मुस्किल छ ।

सरकारी सेवाबाट वञ्चित

बालविवाह गरेकै कारण कालिकाको विवाह दर्ता भएको छैन । विवाह दर्ता नभएकै कारण नागरिकता समेत पाएन ।

नागरिकता नपाएपछि झण्डै आठ वर्षसम्म उनले महिलाले पाउने सरकारी सुविधाबाट समेत वञ्चित हुनुर्पयो ।

नागरिकता नहुँदा उनकी जेठी छोरी पुष्पा र माइली छोरी कविताको समयमै जन्म दर्ता समेत भएन । छोरीको जन्मदर्ता नहुँदा सरकारले कर्णालीका बालबालिकालाई दिँदै आएको बालपोषण भत्ताबाट समेत दुवै छोरी वञ्चित भएको कालिकाको गुनासो छ ।

पढ्ने उमेरमा आमा भएपछि....

पढ्ने लेख्ने उमेरमा आमा भएपछि बालबच्चा हुर्काउने र पढाउने जिम्मेवारी काँधमा आएपछि आफ्नो पढ्ने धोको अधुरै रहयो ।

अर्काे घरधन्दा मेलापात, खेतीपाती त महिलाले मात्र गर्नुपर्ने जिम्मेवारी जस्तो भएको छ । यि यस्ता परिबन्धका कारण किशोरी आमाहरूले विवाह पछि आफ्नो पढाइलाई त्याग्दै रोगभोकबाट ग्रसित भएर अल्पआयुमै यो धर्तीबाट विदा लिने गरेका धेरै उदाहरणहरू समाजमा छन् ।

बढ्दै किशोरी आमा

हतारमा बिहे गर्ने र उमेर नपुगी बच्चा जन्माउनको सङ्ख्या जुम्लामा बृद्धि हुँदै गएको छ । तातोपानी गाउँपालिका–६ हियाँखोला बस्तीमा एक दर्जन बढी विवाहिता किशोरी छन् ।

एक अध्ययन अनुसार तातोपानी–४ तत्कालिन हाँकु गाविस जिल्लाकै बढी बालविवाह हुने ठाउँ हो । वडाध्यक्ष धीरज जैसीले बालविवाह गर्नेलाई सरकारी सेवाबाट वञ्चित गराउनुका साथै न्यूनीकरणका कार्यक्रम भइरहेको बताए ।

पातारासी गाउँपालिकामा १३ देखि १८ वर्ष उमेर समूहका किशोरीहरू कलिलै आमा बन्नेहरू बढेका छन् ।

गाउँपालिका प्रमुख लक्षिमन बोहोरा बालविवाह घटना बढी नै हुने गरेको स्वीकार गर्छन् । उनले भने–‘बालविवाह न्यूनीकरणका लागि विभिन्न गतिविधि संचालन गरेपछि रोक्न कठिनाई भइरहेको छ ।’

अहिले बावु आमाभन्दा बालबालिकाको नै मिलोमतोमा बालविवाह भइरहेका छन् ।’–उनले भने–‘भोलि के हुन्छ भनेर नबुझेरै मोवाइलको सम्र्पकमा बढी बालविवाह भएको देखिन्छ ।’

लैङ्गिक विभेद विरूद्ध अभियान

पछिल्लो समय जिल्लाका गाउँदेखि शहरसम्म लैङ्गििक हिंसा तथा छोराछोरी बिच हुने विभेदविरूद्ध महिला वा किशोरीहरूले खुलेरै बहस गरिरहेका छन् ।

तर लैङ्गिक हिंसा तथा विभेदविरूद्ध किशोरहरूले नै घरदैलो अभियान गरेको भने देखिँदैन । आफ्नो गाँउका किशोरी दिदी बहिनीले कालान्तारमा समाजले बनाएका विभेदकारी संस्कारका कारण कुनैपनि दुःख भोग्न नपरोस् भन्दै सिंजा गाँउपालिका जोडुका विद्यार्थीले घरदैलो अभियान गरिरहेका छन् ।

श्री मावि जोडुमा अध्ययनरत २५ जना किशोर यस्तो अभियानमा छन् । प्लान इन्टरनेशनल नेपालको सहयोगमा आत्मसम्मानका लागि सहकार्य क्याड नेपालले गाउँमा सञ्चालन गरेको तीन महिने परिवर्तनका संवाहक कक्षापछि किशोरहरू यस्तो अभियानमा जुटेका हुन् ।

किशोरहरू हिजोआज समूहमा मिलेर गाउँमा हिंसा तथा विभेद विरूद्ध घरदैलो कार्यक्रम गरिरहेको कक्षा सहजकर्ता दलबहादुर बुढाले बताए ।

उनका अनुसार कक्षा लिइसकेपछि किशोरहरूमा आएको आँट र जाँगरका कारण उनीहरू आफै समाज परिवर्तनका लागि अग्रसर भएका हुन् ।

‘हाम्रो समाजमा छोरीमाथि निकै विभेद हुन्छ, छोरीलाई सकेसम्म अभिभावकले विद्यालयनै पठाउँदैनन्’ उनले भने, ‘हामी छोराछोरी एउटै हुँ, यही विभेद अन्त्यका लागि घरदैलो अभियान जारी राख्नेछौँ ।’


मानदत्त रावल