पुनर्स्थापनाको अभावमा मुक्त हलियाको जङ्गलमा बास

  ०७८ भदौ २८ गते

सरकारले हलिया मुक्ति घोषणा गरेको १३ वर्ष वितिसक्दा समेत मुक्त हलियाहरुको पुनर्स्थापना हुन नसकेपछि मुक्त हलियाहरु जङ्गलमा बस्न बाध्य भएका छन् ।

गन्यापधुरा गाउँपालिका–१ अशिग्राममा २०६६ सालमा आएको बाढीपहिरोका कारण विस्थापित भएका १८ घर परिवार मुक्त हलियाहरु हालसम्म पनि गन्यापधुरा गाउँपालिका–१ भेटाको जङगलमा आश्रय लिएर बस्न बाध्य छन् ।

२०६६ सालमा अशिग्राममा बाढीले धनजनको क्षति पुर्‍याएपछि १८ घरपरिवार मुक्त हलिया भेटा सामुदायिक वनसँग सात वर्षको सम्झौतामा सामुदायीक वनमा बसेका हुन ।

सामुदायिक वनसँगको सम्झौता म्याद सकिएको पनि ६ वर्ष बितिसक्दा समेत उहाँहरुको पुनर्स्थापना हुन सकेको छैन् ।

१३ वर्षदेखि वनमा टहरा बनाएर बस्दै आएको भएपनि पुनर्स्थापनाका लागि कसैले पहल नगरेको मुक्त हलियाहरुको आरोप छ ।

हलियाहरूको तथ्याङ्क सङ्कलनसहित पुनर्स्थापनलगायतका विषयमा सहमतिपछि मुक्तिको घोषणा गरिएको भएपनि त्यसको कार्यान्वयन नगरिएका कारण मुक्त हलियाहरू पुनःसाहुको शरणमा जान बाध्य भएको अमरगढी नगरपालिका–२ का नरेशबहादुर सार्कीले दुखेसो पोख्नु भयो ।

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जिल्ला हलिया पुनर्स्थापना कार्यदलको सिफारिसका आधारमा केही हलियाहरुलाई ‘क’ देखि ‘घ’ वर्गको परिचय–पत्र दिएको भएपनि आफूले परिचय–पत्र समेत नपाएको अमरगढी नगरपालिका–२ की मुक्त हलिया महेश्वरी सार्कीले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘ मुक्त हलियाहरूको न घर छ, न जग्गा जमिन छ । न त परिचय–पत्र नै छ । राजनीतिक दलका नेता तथा कार्यकर्ता र केही हलियाका प्रतिनिधिहरूले पुनर्स्थापना गर्ने आश्वासन दिने गरेका छन् । मुक्त घोषणा गरिएको १३ वर्षसम्म पनि परिचय–पत्र समेत पाउन सकिएको छैन् ।’

बुवाबाजेको पालादेखि प्रधानमन्त्री शेरबहादुर देउवा परिवारको हलियाको रुपमा काम गरेको भएपनि आफूलाई परिचय–पत्र समेत नदिएको गन्यापधुरा गाउँपालिका–१ अशिग्रामका भिमबहादुर सार्कीले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘साहुको खेत बनाए बाफत उहाँहरुको हली, गोठालो, बाउसे, खेताला, खलिया, डोलिया र कमारोका रूपमा काम गरियो । तर, पनि मुक्त हलिया परिचय–पत्र दिएन् । टाठाबाठाहरुले  मात्रै परिचय–पत्र पाए ।’

मुक्त हलिया समाज, डडेल्धुराले २ हजार ६ सय ३४ जना हलिया रहेको तथ्याङ्क मन्त्रालयमा बुझाएको भएपनि २ हजार ५ सय ५१ जना मुक्त हलियाले परिचय–पत्र पाएको हलिया मुक्ति समाज, डडेल्धुराका अध्यक्ष भरत सार्कीले बताउनु भयो ।

अझै पनि २ हजार बढी मुक्त हलियाको सङ्ख्या छुटेको र उहाँहरुले परिचय–पत्र नपाएको हलिया मुक्ति समाज, डडेल्धुराका अध्यक्ष सार्कीले बताउनु भयो ।

मुक्त हलियाका अगुवाहरुसँग समन्वय गरी तथ्याङ्क लिन छुटेका मुक्त हलियाहरुको पुनःतथ्याङ्क सङ्कलन गर्ने कार्य भइरहेको र मुक्त हलियाका बालबालिकाको शिक्षा र स्वास्थ्य शिक्षा तथा स्वास्थ्य संस्थाहरुमा निशुल्क गरिने व्यवस्था मिलाइएका गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नबलबहादुर मल्लले बताउनु भयो ।

मुक्त हलियाहरुको पुनस्र्थापनाका लागि जिल्ला मालपोत कार्यालय र मन्त्रालयसँग पटकपटक आग्रह गर्दा समेत उहाँहरुको पुनर्स्थापना हुन नसकेको अध्यक्ष मल्लले बताउनु भयो ।

photo20210913dadeldhura (2)

photo20210913dadeldhura (1)


भूपेन्द्र बिष्ट