पुनः मतगणना गर्नु पर्ने पौडेलको रिटमा सर्वोच्चद्वारा मतपत्र र मुचुल्का पेश गर्न आदेश

सर्वोच्च अदालतले नेपाली काङ्ग्रेसबाट तनहुँ क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र नं १ का उम्मेदवार प्रदीप पौडेलले पुनः मतगणना हुनुपर्ने माग गर्दै हालेको उजुरीमा मतपत्र र मुचुल्का पेश गर्न निर्वाचन आयोगलाई आदेश दिएको छ ।

पुस १९ गते प्रधानन्यायाधीश गोपाल पराजुलीसहित पाँच जना न्यायाधीशको संवैधानिक इजलाशले निर्वाचन आयोगलाई अर्को सुनुवाइमा मतगणनाको टिपोट र मुचुल्कासहित उपस्थित हुन आदेश दिएको हो ।

न्यायाधीशहरू दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर राणा र दीपककुमार कार्कीको इजलासले यस्तो आदेश दिएको हो ।

सर्वोच्चको संवैधानिक इजलाशले दोस्रो सुनुवाइमा यस्तो आदेश गरेको हो । फरकफरक बुथमा एउटै मतगणना भएको निवेदक पक्षको दावीका आधारमा अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा छलफल गर्नका लागि मतपेटिका हेर्ने निष्कर्षका साथ सर्वोच्चले यस्तो आदेश जारी गरेको हो । यसअघि सर्वोच्चले दुवै पक्षलाई छलफलमा मात्र बोलाएको थियो ।

तनहुँ क्षेत्र नम्बर २ को प्रदेशसभा (१) को निर्वाचनमा ५ मतले पराजित भएपछि पुनः मतगणना हुनुपर्ने माग गर्दै पौडेलले पुस ६ गते सर्वोच्च अदालतमा उजुरी निवेदन दर्ता गराएका थिए ।

तनहुँ २ को प्रदेशसभा (१) मा पौडेललाई माओवादी केन्द्रकी उम्मेदवार तथा बिनाविभागीय मन्त्री आशा कोइरालाले ५ मतको झिनो अन्तरले पराजित गरेकी थिइन् ।


प्रकाशचन्द्र भट्टराई