पीडित परिवार आन्दोलनमा, शव अस्पतालमा

  ०८१ वैशाख ४ गते

आठबीस नगरपालिका–५ पिपलकोटकी भइ सुर्खेत वीरेन्द्रनगर बस्ने २२ वर्षीया महिला भिमा गुरुङ बलामीको मृत्यु भएको ६ दिन बितिसकेको छ । पीडित पक्षले विभिन्न माग राखेर शान्तिपूर्ण आन्दोलन गरिरहेको छ तर सरकारका निकायहरु मौन छन् ।

हिँडेर प्रदेश अस्पतालमा पुगेकी भीमालाई ‘मोलार प्रेग्न्यान्सी’ भएको भन्दै पाठेघर सफा गर्नुपर्ने भनी अप्रेसनको क्रममा ०८० चैत २९ गते मृत्यु भएको थियो । मृतकका परिवारजनले अस्पतालको टोलीले अप्रेसनमा लापरबाही गरेको कारण मृत्यु भएको आरोप लगाएका छन् ।

मृतककी ८ महिने छोरीको पालनपोषण र शिक्षाको व्यवस्था गरिनुपर्ने, परिवारका एक जनालाई रोजगारीको व्यवस्था गर्नुपर्ने र दोषी स्वास्थ्यकर्मी माथि कारबाही गर्नुपर्ने पीडित पक्षले माग राखेको छ ।आफ्ना मागहरुमा सरकारी पक्षबाट बेवास्ता भएको भन्दै मृतकको शव पोष्टमार्टम गर्न समेत अस्वीकार गरेको छन् । पीडित पक्षले कर्णाली प्रदेश अस्पतालमा, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय सुर्खेत लगायतका निकायहरुमा धर्ना दिनेसँगै सडक जामको आन्दोलन गरिरहेका छन् ।

पीडित पक्षले आफ्ना मागहरुको सुनुवाइ नभएको भन्दै मृतकको गाउँ आठबीस नगरपालिका–५ पिपलकोटमा ०८१ वैशाख २ गते र ३ गते कर्णाली राजमार्ग अवरुद्ध गरेका थिए । आफूहरुले गरेको शान्तिपूर्ण प्रदर्शनलाई बेवास्ता गरेको भन्दै आन्दोलनलाई सशक्त बनाउदै लैजाने पिपलकोटका स्थानीय हिक्मतबहादुर गाहले बताउनु भयो ।

मृतकको पहिलो सन्तान ०८० साउन २ गते छोरीको जन्म भएको थियो । छोरी जन्मेको ४ महिनामा बसेको गर्भ ‘मोलार प्रेग्न्यान्सी’ बनेको स्वास्थ्य कर्मीहरुको भनाइ छ । मोलार प्रेग्न्यान्सीले गर्भमा बच्चा भन्दा ठूलो सालनाल वृद्धि विकास हुने गर्दछ । महिनावारी रोकिएको, तल्लो पेट असाध्यै दुखेको र योनीबाट रगत समेत बग्न थालेपछि ०८० चैत २७ गते सुर्खेतको राना मेडिकलमा जचाउँदा ‘मोलार प्रेग्न्यान्सी’ भएको थाहा भएपछि चैत २९ गते कर्णाली प्रदेश अस्पतालमा पुर्याएरपछि अप्रेसनको क्रममा ज्यान गएको थियो ।

सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको समन्वयमा पीडित परिवारजनसँग कर्णाली प्रदेशसभाका सदस्यहरु बिनोदकुमार शाह, गमता बिक र कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का समेतको उपस्थितिमा छलफल भएको थियो ।

पीडित परिवारलाई अस्पतालमा रोगजारी दिने र मृतक भीमाकी छोरीको पालन पोषणका लागि सहयोग गर्ने छलफल भए पनि निष्कर्षमा पुगेको छैन । ‘छिट्टै पोष्टमार्टम गरी काजक्रिया गर्ने हामीलाई पनि मन छ । हाम्रा माग धेरै ठूला छैनन्, सुनुवाइ होस्’ मृतक ससुरा धनबहादुर बलामीले भन्नुभयो ।

Photo20240416Dailekh


अमर सुनार