पीडित परिवारलाई न्याय दिलाउन माग गर्दै इन्सेकद्वारा गृह मन्त्रालयलाई ज्ञापनपत्र

  ०७८ पुस २७ गते

एक जना बालिका र दुई जना महिलाको रहस्मय मृत्यु घटनाको बास्तविकता छानबिन गरी पीडितलाई परिवार न्याय दिलाउन माग गर्दै इन्सेकले जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत गृह मन्त्रालयलाई पुस २७ गते ज्ञापनपत्र पठाएको छ ।

एक जना बालिका र दुई जना महिलाको रहस्मय मृत्यु घटनामा पीडित परिवार वर्षौदेखि न्याय पर्खाइमा रहेकाले जिल्ला प्रशासन कार्यालयमात्र गृह मन्त्रालयलाई ज्ञापनपत्र पठाएको इन्सेक खोटाङ प्रतिनिधिले बताउनु भएको छ ।

प्रमुख जिल्ला अधिकारी फणिन्द्र दहालले इन्सेकले जिल्ला प्रशासनमार्फत गृह मन्त्रालयलाई पठाएको ज्ञापनपत्रमाथि तत्काल कारबाही गरिने बताउनु भयो । उहाँले एक जना बालिका र दुई जना महिलाको रहस्मय घटनामा पीडित परिवार न्यायको पर्खाइमा रहेको विषयमा प्रशासन जानकार भएपनि पीडित परिवारलाई न्याय दिलाउन इन्सेकको पहल प्रभावकारी हुने बताउनु भयो ।

Photo 202201011 Khotang (4)

Photo 202201011 Khotang (3)

के थियो घटना ?

खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया बालिका रीता तामाङको ०७३ माघ २६ गते हत्या गरिएको अवस्थामा खोटेहाङ गाउँपालिका–९ स्थित कुशेऔँसी भनिने जङ्गलको भीरमा शव भेटियो । हलेसी तुवाचुङ्ग नगरपालिका–७ महादेव स्थानकी ५७ वर्षीया ज्ञानीमाया विश्वकर्माको ०७४ जेठ १६ गते स्याउला काटेर घर फर्किरहेको अवस्थामा महादेव स्वास्थ्य चौकी नजिक शव फेला परेको थियो । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी विश्वकर्मा जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खशिवालयबाट घर फर्किएको अवस्थामा ०७४ साउन ४ गते अर्ध नग्न अवस्थामा शव फेला परेको थियो ।

१७ वर्षीया बालिका रीता तामाङ सिम्मपानी बजारमा रहेको एक होटलमा काम गर्थिन । ०७३ माघ २६ गते हत्या गरिएको अवस्थामा खोटेहाङ गाउँपालिका–९ स्थित कुशेऔँसी भनिने जङ्गलको भीरमा रीताको शव भेटिएको थियो । रीताका ५६ वर्षीय बाबु वीरबहादुर तामाङले छोरीका हत्यारालाई कारबाही गर्न माग गर्दै ०७३ फागुन ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । शवको पोष्टमार्टम ०७३ माघ २७ गते जिल्ला अस्पतालमा गरी सोही दिन शव बुझेर अन्त्येष्टी गरिएको थियो ।

हलेसी तुवाचुङ नगरपालिका– ७ महादेवस्थानकी ५७ वर्षीया ज्ञानीमाया विश्वकर्माको ०७४ जेठ १६ गते स्याउला काटेर घर फर्किरहेको अवस्थामा शव फेला प¥यो । आमाको शव हत्या गरिएको अवस्थामा फेला परेको २१ वर्षीया छोरा खेमराज विश्वकर्माले बताउनु भयो । आमाको शव हत्या गरिएको अवस्थामा फेला परेपछि आफूहरूले ०७४ जेठ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छोरा खेमराजले बताउनु भयो । शवको पोष्टमार्टम जिल्ला अस्पतालमा ०७४ जेठ १७ गते गरी सोही दिन सद्गत गरेको खेमराजले बताउनु भयो ।

जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी विश्वकर्मा जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खशिवालयबाट घर फर्किएको अवस्थामा ०७४ साउन ४ गते अर्ध नग्न अवस्थामा शव फेला परेको थियो । तत्कालीन अवस्थामा घटनास्थलमा मडारिएको र सङ्घर्ष गरेको भनि प्रहरीले मुचुल्का उठाएको थियो । पीडित परिवारले दोषीलाई कारबाही गर्न माग गर्दै ०७४ साउन १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । शवको पोष्टमार्टम जिल्ला अस्पतालमा साउन ६ गते गरी सोही दिन सद्गत गरिएको थियो ।

न्याय नपाएको गुनासो-

एक बालिकासहित दुई जना महिलाको रहस्मय हत्या भएको घटना वर्षौ बितेपनि पीडित परिवारले अझै न्याय नपाएको गुनासो गरेको छ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया बालिका रीता तामाङ, हलेसी तुवाचुङ्ग नगरपालिका–७ महादेव स्थानकी ५७ वर्षीया ज्ञानीमाया विश्वकर्मा र जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी विश्वकर्माको परिवारले वर्षौदेखि न्याय नपाएको गुनासो गरेको छ ।

१७ वर्षीया बालिका रीता तामाङ सिम्मपानी बजारमा रहेको एक होटलमा काम गर्थिन । ०७३ माघ २६ गते हत्या गरिएको अवस्थामा खोटेहाङ गाउँपालिका–९ स्थित कुशेऔँसी भनिने जङ्गलको भीरमा रीताको शव भेटियो । रीताका ५६ वर्षीय बाबु वीरबहादुर तामाङले छोरीका हत्यारालाई कारबाही गर्न माग गर्दै ०७३ फागुन ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो । उजुरी दिएको ६ वर्ष बितेपनि प्रहरीले घटनामा संलग्नहरूको पहिचान गरी गिरफ्तार नगर्दा आफूहरूले न्याय नपाएको वीरबहादुरले गुनासो गर्नु भयो ।

५७ वर्षीया ज्ञानीमाया विश्वकर्माको ०७४ जेठ १६ गते स्याउला काटेर घर फर्किरहेको अवस्थामा शव फेला परेको २१ वर्षीया छोरा खेमराज विश्वकर्माले बताउनु भयो । आमाको शव हत्या गरिएको अवस्थामा फेला परेपछि आफूहरूले ०७४ जेठ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपनि हालसम्म आरोपितलाई प्रहरीले गिरफ्तार गर्न नसकेको छोरा खेमराजको आरोप छ ।

जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी विश्वकर्मा जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खशिवालयबाट घर फर्किएको अवस्थामा ०७४ साउन ४ गते अर्ध नग्न अवस्थामा शव फेला परेको गाउँपालिका अध्यक्ष शङ्कर राईले बताउनु भयो । पीडित परिवारले दोषीलाई कारबाही गर्न माग गर्दै ०७४ साउन १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको भए पनि हालसम्म दोषी पहिचान गरी प्रहरीले गिरफ्तार नगर्दा पीडित परिवार न्यायबाट वञ्चित हुनु परेको अध्यक्ष राईले बताउनु भयो । तत्कालीन अवस्थामा घटनास्थलमा मडारिएको र सङ्घर्ष गरेको भनि प्रहरीले मुचुल्का उठाए पनि अनुसन्धानलाई फराकिलो ढङ्गले अघि बढाउन नसक्दा पीडित परिवारले न्यायबाट वञ्चित हुनु पर्ने हो कि ? भन्ने प्रश्न उब्जिएको अध्यक्ष राईको भनाइ छ ।

 भएन अवस्था सार्वजनिक-

 जिल्लामा यस अघि कार्यरत डिएसपी विद्यानन्द माझी, नविनकिशोर प्रधान, लोकदर्शन थापा ,राजकुमार केसी, वामदेव गौतम ,नारायणप्रसाद चिमोरियाले समेत घटना अनुसन्धान भइरहेको बताए पनि अनुसन्धानको अवस्थामा भने सार्वजनिक गर्न सकेका थिएनन् । जिल्लामा आएका प्रमुख जिल्ला अधिकारी र डिएसपीले घटनामा संलग्नहरूको पहिचान गरी पीडित परिवारलाई न्याय दिलाउने प्रतिवद्धता व्यक्त गरेपनि पीडित परिवार अझै न्यायबाट वञ्चित हुनु परेको प्रतिनिधि सभा सदस्य विशाल भट्टराईले बताउनु भयो । उहाँले पीडित परिवारले न्याय पाउने विषयमा मानव अधिकारकर्मी, पत्रकार, इन्सेकलगायत आवाज बुलन्द गर्न आवश्यक रहेको बताउनु भयो ।

न्यायका लागि पहल-

जिल्लामा रहस्यमय तरिकाले हत्या भएका एक बालिकासहित दुई महिलाको परिवारले अझै न्याय नपाएको विषयमा आफूहरू जानकार रहेको जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत सागर शाहले बताउनु भयो । उहाँले भन्नुभयो“ढिला न्याय के न्याय हो, तर प्रहरीले घटनाका विषयमा निरन्तर अनुसन्धान गरीरहेको छ ।” अनुसन्धान कुन अवस्थामा पुगेको छ भन्न बताउन नमिले पनि पीडित परिवारलाई न्याय दिलाउन प्रहरी सक्रिय भएको अनुसन्धान अधिकृत सागर शाहको भनाइ छ ।

जिल्लामा भएका तीन ओटै घटना शङ्कास्पद भएपनि घटनामा संलग्नहरूको पहिचान गरी दोषीलाई कानुनी कारबाहीमा दायरामा ल्याउन ढिला हुँदा पीडित परिवारले न्याय पाउने अधिकारबाट वञ्चित हुनु पर्ने अवस्था देखिएको राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १, शाखा कार्यालय खोटाङका प्रमुख श्यामबाबु काफ्लेले बताउनु भयो । उहाँले घटना शङ्कास्पद भएको र महिला भएकै कारण हत्या भएकाले अनुसन्धानलाई प्रभावकारी बनाउन प्रहरीलाई आयोगका तर्फबाट चिठी लेखिएको बताउनु भएको छ ।

इन्सेकले गृह मन्त्रालयलाई पठाएको ज्ञापनपत्रमा मानव अधिकारको विश्वव्यापी घोषणापत्र सन् १९४८, नेपालको संविधान २०७२, नेपाल पक्ष राष्ट्र भएका बालअधिकारसम्बन्धी महासन्धी सन् १८७९ र महिलाविरूद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धी सन् १९७९ मा उल्लेख भएबमोजिम कानुनी व्यवस्थाहरूको परिपालना गरी राज्यको प्रत्याभूत आम नागरिकले गर्न पाउने वातावरण निर्माणका लागि नेपाल सरकारसँग माग गरिएको छ ।


तारानाथ फुयल