पीडित पक्षद्वारा उद्धारका लागि पहल गरी दिन इन्सेकसँग आग्रह

  ०७७ माघ २६ गते

बलात्कार घटनाबाट पीडित १९ वर्षीया आमा र उहाँकी १७ महिनाकी छोरीको उद्दार गर्न पीडित पक्षले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक (ताप्लेजुङ) सँग आग्रह गरेको छ ।

पीडित पक्षले उद्दारका लागि पहल गरी दिन माग गर्दै माघ २५ गते इन्सेक प्रतिनिधि देवराज गुरुङलाई निवेदन दिएको छ ।

“म र मेरो १७ महिनाकी छोरी माइती घरमा बसेका थियौँ । तथापि हामी माइतीघरमा बस्न असमर्थ छौ ।” पीडितले इन्सेक प्रतिनिधिलाई दिएको निवेदनमा उल्लेख छ ।

निवेदनमा “बलात्कार पीडित महिला तथा बालबालिकालाई संरक्षण गर्ने र मनोपरामर्श सेवा,शैक्षिक सहयोग र सीपमुलक तालिम साथै भविष्यमा पुनर्स्थापना कार्यक्रम गर्न सक्ने संस्थासँग समन्वय गरी दिन” पीडित पक्षले निवेदनमार्फत इन्सेकसँग आग्रह गरेको छ ।

पीडित पक्षको निवेदन पश्चात इन्सेक ताप्लेजुङले अन्तरदृष्टि नेपाल नख्खुदोबाटो ललितपुर पठाउने तयारी गरेको छ ।

इन्सेक प्रतिनिधि देवराज गुरुङले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा घटनाका विषयमा जानकारी गराए पश्चात पीडित पक्षलाई उद्दारको तयारी गर्नु भएको छ ।

प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाई र जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मोहन पोखरेलसँग पीडित र पीडित परिवारका सदस्यहरूबिच माघ २५ गते भेटघाट गराएर इन्सेकले घटनाका विषयमा जानकारी गराएको छ ।

पीडितको जन्मदर्ता २०५९ माघ २५ गते भएकाले नागरिकता बनाउनुपर्ने उमेर भएकाले कानुन बमोजिम मिल्ने भए नागरिकता बनाइदिनका लागि इन्सेकले प्रशासन समक्ष अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले इन्सेक प्रतिनिधिको आग्रह पश्चात भन्नुभयो “पीडितको नागरिकता बनाउन आवश्यक छ । कागजात जुट्नेवित्तिकै नागरिकता जारी गर्छौ ।”

पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार मेन्याङबोसँग इन्सेकले पीडितको नागरिकता बनाउनका लागि समन्वय गरेको छ । अध्यक्ष मेन्याङ्बोले भन्नुभयो “आवश्यक कागजात तत्काल पठाउँछौ । ढिलासुस्ती हुँदैन् ।”

पीडित पक्ष होटलमा बस्दाको खर्च गाउँपालिकाले वेर्होने गरी इन्सेकले समन्वय गरेको छ । ताप्लेजुङदेखि काठमाडौसम्मको यातायात तथा खाना एवम् आवश्यक खर्चका लागि इन्सेक गैरसरकारी संस्था र स्थानीय सरकारसँग समन्वय गरेको छ ।

अन्तरदृष्टि नेपाल ललितपुरकी मनोविशर्मकर्ता रजनी भारतीले पीडितहरूलाई सुरक्षित रूपमा राखेर उनीहरूलाई समाजमा पुनस्थापना गराउँदै आएको बताउनु भयो । उहाँले इन्सेक प्रतिनिधिमार्फत पीडितहरूलाई उद्दार गरीरहेको बताउनु भयो ।

InkedTaplejung (3) - Copy_LI

 


देवराज गुरुङ