पीडितहरुको उद्धार, राहत तथा पुनर्स्थापना गर्न अधिकारकर्मीहरुको अपिल

  ०७८ कात्तिक ३ गते

सुदूरपश्चिम प्रदेशमा असोज ३१ गतेदेखि परेको अविरल वर्षका कारण प्रभावित भएकाहरुको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि तीनै  तहका सरकारको ध्यानाकर्षण गर्न अधिकारकर्मीहरुले कात्तिक ३ गते धनगढीमा अपिल जारी गरेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, खाद्य अधिकार सञ्जाल, सुदूरपश्चिम प्रदेश कार्यालय, याक नेपाल, कैलाली जिल्ला अदालत बार, नेपाल पत्रकार महासङ्घ, गैर सरकारी सस्था महासङ्घ, कैलाली, फियान नेपाल र राष्ट्रिय कृषक समूह महासङ्घले कात्तिक ३ गते संयुक्त बैठक आयोजना गरी अपिल जारी गरेका हुन् ।

photo20211020kailali

अधिकारकर्मीहरुले जारी गरेको संयुक्त अपिलमा तीन दिनसम्म परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी ज्यान गुमाएका, बेपत्ता तथा घाइते भएका र विस्थापित भएका पीडित परिवारहरुको उद्धार, उचित व्यवस्थापन, राहत तथा पुनर्स्थापनाको कार्य यथासक्य चाँडो सुरु गर्न तीनै तहका सरकारको ध्यानकर्षण गरिएको छ ।

धानवाली भित्र्याउने बेलामा परेको अविरल वर्षाका कारण धानबाली नष्ट भएकोले किसानको मिहिनेतमाथि बज्रपात पर्नुको साथै मुख्य खाद्यवालीको नोक्सानीले खाद्य सङ्कट निम्तिन सक्ने भएकोले यसतर्फ सरकार तथा सबै सरकोरवालहरुको ध्यान जान आवश्यक भएको अपिलमा उल्लेख गरिएको छ ।

पीडित तथा  प्रभावितहरुको यथार्थ विवरण सङ्कलन गरी मृतक परिवारलाई उचित राहत, घाइतेहरुको उपचार, विस्थापितहरुको सुरक्षित बसोबास, किसानलाई उचित क्षतिपुर्ति र विपद पूर्वतयारी तथा प्रतिकार्य योजनाको व्यवस्थित कार्यान्वयनको लागि समेत सरोकारवाला निकायको ध्यानाकर्षण गरिएको छ ।

Press relise20211020kailai

 


मैनामोती चौधरी