पीडितलाई न्याय दिने कुरामा आश्वस्त पार्छौँः एसपी घिमिरे

  ०७९ जेठ १४ गते

इलाका प्रहरी कार्यालय गरुडा हिरासतमा यातनाका कारण मृत्यु भएको घटनामा संलग्न प्रहरीलाई गिरफ्तार गरी पीडितलाई न्याय दिने कुरामा जिल्ला प्रहरी कार्यालयका एसपी विनोद घिमिरेले आश्वस्त पार्नु भएको छ ।

इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान नेतृत्वको टोलीले जेठ १२ गते पीडित परिवार, जिल्ला सरकारी वकिल कार्यालय, जिल्ला अदालत, जिल्ला कारागार र जिल्ला प्रहरी कार्यालयमा पुगी प्रहरी हिरासतमा यातनाका कारण मृत्यु भएको विजय राम महरा र जिल्ला कारागारमा मृत्यु भएका लडाई साह तथा कारागारभित्र भएको यौन दुर्व्यवहार घटनाको न्यायिक प्रक्रियाका विषयमा जानकारी लिने क्रममा एसपी घिमिरेले न्याय दिने कुरामा आश्वस्त पार्नु भएको हो ।

गरुडा नपा–८ जिगडियाका २० वर्षीय निरञ्जन रामको ०७७ साउन ३१ गते धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा गिरफ्तारीमा परेका सोही ठाउँका १९ वर्षीय विजय राम महराको हिरासतमा प्रहरीले दिएको यातनाका कारण मृत्यु भएको पीडित परिवारको आरोप छ ।

आरोपितमध्ये इन्स्पेक्टर नविन सिंह, प्रहरी हवल्दारद्वय फिरोज मियाँ र मुन्ना सिंहलाई ०७७ असोज ६ गते गौर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको छ । तर, जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको २१ महिना लाग्दा पनि उनीहरूलाई गिरफ्तार गरिएको छैन ।

चाँडै नै पीडितलाई न्याय दिलाउने जिल्ला प्रहरी कार्यालयका एसपी घिमिरेले इन्सेक मधेस प्रदेश संयोजक पासवान नेतृत्वको टोलीलाई बताउनु भयो ।

निरञ्जन रामको ०७७ साउन ३१ गते धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय गरुडाले सात जनालाई गिरफ्तार गरेको थियो ।

सात जनामध्ये विजय राम महरालाई ०७७ भदौ १ गिरफ्तार गरी अनुसन्धान भइरहेको समयमा भदौ ३ गते पिसावमा समस्या देखिएपछि नजिकैको एक क्लिनिकमा उपचारका लागि लगिएकामा उपचार हुन नसकी बीरगंजस्थित नेशनल मेडिकल कलेजमा भदौ ४ गते थप उपचारको लागि लगिएकोमा भदौ ११ गते मृत्यु भएको थियो ।

प्रहरीको यातनाका कारण छोरोको मृत्यु भएको भन्दै विजय राम महराका बुबा पनिलाल रामले जिल्ला प्रहरी कार्यालयका तत्कालीन एसपी रबिराज खड्का, जिल्ला प्रहरी कार्यालय गौरमा कार्यरत इन्स्पेक्टर नविन सिंह, प्रहरी हवल्दारद्वय हिरोजमिया धुनिया र मन्नुकुमार सिंह तथा इलाका प्रहरी कार्यालय गरुडाका तत्कालिन डिएसपी ज्ञानकुमार महतो र असई विरेन्द्र यादव विरुद्ध भदौ २४ गते उजुरी दिनु भएको थियो ।

पनिलाल रामसँग मानव अधिकारकर्मीको टोलीले कुराकानी गर्दा क्षतिपूर्ति बापत गरुडा नगरपालिकाबाट तत्काल १ लाख रुपियाँ, प्रदेश सरकारबाट ५ लाख रुपियाँ र सङ्घीय सरकारबाट १० लाख रुपियाँ पाएको बताउनु भयो ।

छोराको हत्यामा संलग्न दोषीलाई कारबाही भए नभएको आफूलाई हालसम्म कुनै जानकारी नभएको उहाँको भनाइ छ ।

आफ्नै जातिको अगुवाहरूले सरकारबाट पाएको रकम माग गरेको र नदिएपछि आफ्नो परिवारलाई अहिले समाजबाट बहिष्कर गरेको पनिलाले दुःखेसो पोख्नु भयो ।

सो समाजका अगुवा सोनेलाल राम लगायतसँग इन्सेक प्रदेश संयोजकले छलफल गरेको थियो । छलफलमा पनिलाल रामलाई समाजमा बहिष्करण नगरिने र बहिष्करण नगर्नका लागि आफूहरूले पहल गर्ने समाजका अगुवाहरूले प्रतिबद्धता जाहेर गरेका थिए ।

यसैबिच जिल्ला कारागारमा मत्यु भएका देवाही गोनाही नपा–७ बस्ने २५ वर्षीय लडाइ साहको ०७८ मङ्सिर १ गते मृत्यु भएको घटनामा पीडित परिवारले दिएको उजुरी उपर पनि अनुसन्धान भई नै रहेको एसपी घिमिरेले बताउनु भयो ।

कारागारमा यौन दुर्व्यवहार गरेको र राशनको नाममा महङ्गो रकम लिने गरेको आरोप लागेका कारागारका नाइके तथा भाइ नाइकेहरूलाई कारागारबाट अन्यत्र सारिएपछि अहिले कारागारमा खासै समस्या नरहेको जेलर शम्भुप्रसाद यादवले बताउनु भयो ।

यसअघि इलाका प्रहरी कार्यालय गरुडामा प्रहरी यातनाका कारण मत्यु भएका विजय राम महरा घटनाको इन्सेक लगायतको टोलीले ०७७ भदौ १२ गते स्थलगत अध्ययन गरेका थिए भने कारागारमा मृत्यु भएका लडाई साह घटनाको इन्सेक लगायतका मानव अधिकारकर्मीको टोलीले ०७८ मङ्सिर २ गते स्थलगत अनुगमन तथा कारागार भ्रमण गरेका थिए ।


कोपिला तिमल्सिना