पीडितलाई उपचार र कानुनी सहायताका लागि इन्सेकको आर्थिक सहयोग

  ०८१ असार ११ गते

बलात्कार घटनामा पीडित भएकी २१ महिनाकी बालिकालाई कानुनी उपचारमा जान र स्वास्थ्य उपचारका लागि इन्सेकले आर्थिक सहयोग गरेको छ ।

इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले इन्सेक प्रतिनिधि भविन कार्कीमार्फत पीडितलाई न्यायिक प्रक्रियामा जान र पीडितको स्वास्थ्य उपचारका लागि १० हजार रुपियाँ आर्थिक सहयोग गरेको हो ।

पीडित पक्षले इन्सेक प्रतिनिधिलाई सहयोगका लागि आग्रह गर्दै निवेदन दिएपछि इन्सेकले पीडितलाई सहयोग गरेको हो ।

पीडित बालिकाको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएपछि पीडित पक्षले सहयोगका लागि आग्रह गरेको थियो ।

उपचारका लागि जिल्ला अस्पतालमा भर्ना भएकी पीडित बालिकाको शरीरमा चोट र निलडाम भएको जिल्ला अस्पतालका डाक्टर प्रणव जैरूले बताउनु भयो ।

पीडित बालिकालाई ०८१ असार ९ गते अस्पताल भर्ना गरिएको छ । इन्सेकको सहयोगपछि पीडित पक्ष कानुनी प्रक्रियामा गएको छ ।

पीडित पक्षले बलात्कार घटनाका आरोपित मकालु गाउँपालिका-५ का १४ वर्षीय बालकविरुद्ध जिल्ला प्रहरी कार्यालयमा असार ९ गते उजुरी दिएको छ ।

आरोपितले बालिकालाई ०८१ असार ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इन्सेकको सहयोगमा आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई सोही दिन  गिरफ्तार गरी कानुनी कारबाही अघि बढाएको छ ।

photo 20240624 sangkhuwasabha


भविन कार्की